+
+
Shares

‘कहिल्यै पनि म अभिनेत्री बन्न चाहिनँ, म पढ्न चाहन्थें’

आफ्नो खुट्टामा उभिन कति गाह्रो हुन्छ भन्ने कुरा सुप्रियाले बुझिन् । र, लगत्तै आफूभन्दा तल्लो कक्षाकालाई पढाउन पनि थालिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते ६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुप्रिया पाठकले अभिनयमा रुचि नहुँदा पनि आमाले उनलाई गुजराती नाटक 'मेना गुर्जरी' मा अभिनय गराउनुभयो र त्यसपछि अभिनयलाई पेशा बनाइन्।
  • सुप्रियाले सन् १९८१ मा फिल्म 'कलयुग' बाट फिल्मी यात्रा सुरु गरिन् र १९८३ को 'बाजार' ले उनलाई पहिचान दिलायो।
  • २००२ मा स्टार प्लसको टेलिभिजन शो 'खिचडी' मा 'हंसा पारेख' को भूमिका निभाएर सुप्रियाले घरघरमा लोकप्रियता हासिल गरिन्।

‘कहिल्यै पनि म अभिनेत्री बन्न चाहिनँ । म त नृत्यमा एमए र पीएचडी गर्न चाहन्थें । पढ्न चाहन्थें ।’

यी शब्दहरू थिएटर, टेलिभिजन सिरियल र फिल्ममा हरेक प्रकारका भूमिका निभाइसकेकी सुप्रिया पाठकका हुन् ।

उनले टिभी सिरियल ‘खिचडी’ मा ‘हंसा पारेख’ को भूमिका निर्वाह गरेकी थिइन् । यो भूमिकाले उनलाई लोकप्रियता दिलाउनुका साथै भारतीय घरहरूमा एक महत्त्वपूर्ण सदस्य पनि बनाइदिएको थियो ।

७ जनवरी १९६१ मा मुम्बईमा जन्मिएकी थिइन् सुप्रिया । दादर इलाकामा आफ्ना आमाबुबा र दिदी रत्ना पाठकसँगै बस्थिन् । त्यहीँबाट आफ्नो पढाइ पनि पूरा गरिन् ।

सुप्रियाकी आमा दीना पाठक आफैँ प्रसिद्ध फिल्म अभिनेत्री थिइन् । यद्यपि सुप्रियाले आफूलाई आमाको आवश्यकता भएको बेला आमाको अभाव धेरै पटक महसुस गरेको बताउँछिन् ।

सुप्रियाको बाल्यकाल धेरैजसो मामा-माइजूका साथ बित्यो । उनको बुबा बलदेव पाठकको मुम्बईको कोलाबामा एउटा पसल थियो । उनी भारतीय सिनेमाको इतिहासमा सबैभन्दा सफल अभिनेता मानिने राजेश खन्नाका लागि लुगाहरू बनाउथे ।

आमा सधैं कामले बाहिर गइरहनु पर्थ्यो । त्यसो हुनाले आफ्नी आमा दीना पाठकलाई लिएर सुप्रियाको अनुभव अलि फरक रह्यो।

उनको बाल्यकाल मामा घरमै बित्यो । २/३ वर्षकी हुँदादेखि नै मामा घर लगिएको थियो । उनलाई आमाभन्दा माइजूप्रति धेरै माया बस्यो । ‘मैले जे-जति संस्कार संस्कृति सिकें, माइजूबाट नै सिकेँ । मलाई मेरो घर त आइतबारको दिन मात्र याद आउँथ्यो’ सुप्रिया भन्छिन् ।

आमाले आफूलाई जीवनमा दुई महत्त्वपूर्ण कुरा दिएको सुप्रिया सुनाउँछिन् ।

‘आमाले मलाई जीवनमा दुई महत्त्वपूर्ण कुरा दिनुभयो । हामी स्कूलमा हुँदा उहाँले खाजा खर्च दिनुहुन्थ्यो’ सुप्रिया भन्छिन्, ‘जति-जति ठूली हुँदै गएँ, त्यो कम लाग्न थाल्यो ।’

एक दिन उनले हिम्मत गरेर आमालाई खाजा खर्च बढाइदिन आग्रह गरिन् । यदि धेरै पैसा चाहिन्छ भने आफैं कमाउन आमाले सुझाव दिनुभयो।

कसरी कमाउने ? सुप्रियाले सोधिन् । ‘पैसा कसरी कमाउन सकिन्छ भनेर आफैं सोच्नुपर्छ’ आमाले जवाफ दिइन् ।

त्यसपछि आफ्नो खुट्टामा उभिन कति गाह्रो हुन्छ भन्ने कुरा सुप्रियाले बुझिन् । र, लगत्तै आफूभन्दा तल्लो कक्षाकालाई पढाउन पनि थालिन् ।

‘दोस्रो कुरा जुन आमाले दिनुभयो र जसको लागि म हरपल धन्यवाद दिन्छु’ सुप्रिया भन्छिन्, ‘त्यो हो पढ्न सिकाउनुभयो ।’

उनलाई आमाले जन्मदिनमा किताबहरू मात्र ल्याइदिन्थिन् । त्यो देखेर उनि निकै रिसाउँथिन् । उनका साथीहरूलाई जन्मदिनमा बुबाआमाले अन्य विभिन्न उपहार दिन्थे । आफ्नो भने किताब मात्रै । ‘तर आज ती किताबहरू नै मेरा लागि सबैभन्दा बहुमूल्य छन्’ उनले भनिन् ।

करियरको सुरुआत

सुप्रियाले आफ्नो करियरको सुरुवात एउटा गुजराती नाटक मेना गुर्जरीबाट गरेकी थिइन् । त्यो ब्रेक दिने उनकी आफ्नै आमा थिइन् । सुरुका दिनमा सुप्रियालाई नाटक/अभिनयमा कुनै रुचि थिएन ।

अहिले पनि उनी आफू कहिल्यै अभिनेत्री बन्न नचाहेको बताउँछिन् ।

‘म त नृत्यमा एमए र पीएचडी गर्न चाहन्थें । पढ्न चाहन्थें’ सुप्रिया त्यो समयको रुचि स्मरण गर्छिन्, ‘मेरी आमाले एउटा गुजराती नाटक गर्नुभएको थियो, ‘मेना गुर्जरी ‘। अरूले पनि आफ्नी छोरीलाई नाटकमा राख्न उक्साइरहेका थिए । त्यस्तैमा आमाले मलाई रोज्नुभयो । तर मलाई कुनै पनि रुचि थिएन ।’

उनी सानी हुँदा मन्दिर खुबै जान्थिन् । कसैले घरमा भेटेनन् भने पनि मन्दिरमा भेटिन्छिन् भन्ने भाष्य बनेको थियो । उनलाई मन्दिरमा जति खुसी अन्त कतै मिल्दैन थियो । तर त्यो नाटक गर्दा त्यस्तै मलाई खुसी मिल्यो ।

उक्त खुसीले गर्दा उनले बिस्तारै अभिनयलाई आफ्नो पेसा बनाइन् । बुबाको मृत्युपछि उनी केही समयका लागि अभिनयबाट टाढा भएकी थिइन् ।

सन् १९८१ मा आएको श्याम बेनेगलको फिल्म ‘कलयुग’बाट फिल्मको यात्रा थालेकी थिइन् । त्यसमा उनले सुभद्राको भूमिका निभाएकी छिन् ।

‘कलयुग’बाट फिल्मी यात्रा सुरु गरेता पनि १९८३ मा आएको ‘बाजार’ उनका लागि एउटा ठूलो मोड साबित भयो । यसले उनलाई पहिचान दिलाउन ठूलो भूमिका खेलेको थियो ।

‘खिचडी’ र ‘बाजार’ ले दिलायो पहिचान

सुप्रियाले आफ्नो करियरमा राम्रै पात्रहरू निभाउने अवसर पाइन् ।

तर २००२ मा आएको स्टार प्लसको लोकप्रिय कमेडी शो खिचडीले उनलाई घरघरमा चिनायो । यो शोमा उनले ‘हंसा पारेख’ को भूमिका निभाएकी थिइन् । जो एक निर्दोष बुहारी हुन् ।

खिचडीका पात्रहरूको फरक पहिचानमा सुप्रिया भन्छिन्, ‘त्यतिबेला धेरैजसो टेलिभिजन शोमा श्रीमान्-श्रीमतीबीच झगडा देखाइन्थ्यो । खिचडीमा पनि एउटा एपिसोडमा यस्तै देखाइएको थियो ।’ तर उनले पटकथामा परिवर्तन गर्न अनुरोध गरिन् । त्यो अनुसार उनको पात्र जन्मिएको सुप्रियाले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?