(धूस्वाँ सायमी नेपाली वाङ्मयका विलक्षण प्रतिभा थिए । वि.सं. १९८७ साल जेठ १० गते न्हुसाल काठमाडौंमा जन्मेका उनको पहिलो रचना सन् १९४२ सालमा भारतको बालक पत्रिकामा संस्मरण प्रकाशित भएको थियो । दर्जनौं उपन्यास, नाटक, कविता सङ्ग्रहका स्रष्टा उनको सबैभन्दा ख्यातिप्राप्त उपन्यास “गंकी” हो । उनले एक महिनामा लेखेका कविताहरुको सङ्ग्रह “वैशाख” को प्रकाशन चर्चाको विषय भएको थियो । उनी रातो दिन कविता लेखिरहन सक्थे नेपाली र हिन्दी दुबै भाषामा । उनलाई पात्र बनाएर भारतकी ख्यातिप्राप्त लेखिका अमृता प्रितमले उपन्यास नै लेखेकी थिइन् । उनी नेपाली वाङमयका जीवन्त लेखक थिए । यो टेप अन्तर्वार्ता उनकै निवास गाईबाछा पाटी, ताहाचलमा विसं २०६० फागुन ३० लिइएको हो । लामो अन्तर्वार्ताको यो सम्पादित सङ्क्षिप्त रुप हो)
हुन त किताब पत्रिका हेर्दा पनि थाहा लाग्थ्यो, तर त्यतातिर नलागिकन म तपाईंलाई नै सोध्छु, अहिले कति भयो तपाईंको उमेर ?
चौहत्तर । सेबेन्टी फोर रनिंग । म जेठ १० गते पचहत्तर पुग्छु ।
जीवनको यो पचहत्तरौं वर्षमा आइपुग्ने क्रममा भनौं आफ्नो आयुको यो क्रममा आइपुग्दाखेरि तपाईंलाई चाहीं केही विस्मृतितिर ढल्केजस्तो अनुभव त भा छैन ?
विस्मृतितिर त गा छैन तर कुनै चिज याद गर्दा पहिलेजस्तो सार्प रुपमा हुँदैन । अब कहिले कहिले त कस्तो हुन्छ भने मञ्चमा छु, बोल्दैछु, अगाडि साथी छ, नामै याद आउँदैन । त्यस्तो चाहीं अहिले रिसेण्टली भएको हो । सम्झना नआउने होइन, अलि डिफिकल्टी हुँदोरहेछ आउनलाई ।
अनि टेलिफोनमा आवाजले नै कति मान्छे चिन्नुहुन्छ नि ?
आवाजले त धेरै कुरा गरिरहेको मान्छेलाइ चिन्छु । आफ्नो मूडमा हुन्छ त्यो । धेरै पछि कसैले फोन गरेछ भने मलाई अलि गडवड हुन्छ आवाज चिन्न । मलाई त यो आदत पनि होइन, पुरानो बानी पनि छ । अब कहिले कहिले काकाले नै कुरा गरिराखेको हुन्छ, अलि पछि मात्र थाहा हुन्छ । त्यसैले म अहिले तुरुन्तै कसैले कुरा गर्यो भने यही हो भनेर जवाफ दिंदैन ।
अनि अहिले ऐकान्तिकताबोध कत्तिको हुन्छ तपाईंलाई, एक्लोपना फिल हुन्छ ?
एक्लोपना त मलाई कुनै एउटा प्रिय कुरा थियो , धेरै धेरै नै फिल हुन्थ्यो । माने मानवीय लाइफ नै भनेकै त्यही चिज जस्तो । वाइफको डेथपछि लाइफ भनेकै त्यही चिज हो, फिल हुन्थ्यो । त्यही एक्लोपनालाई मैले के गरें भने , लेख्नतिर बढ्ता लगाइदिएँ । म आफ्नै मेरो व्यक्तिगत यौटा मान्छे भयो, लेखकको व्यक्तित्व भएको अर्को मान्छे भयो, दुईजना साथी भएजस्तो हुन्छ । अरुणको आमाको एउटा डर के थियो भने उसलाई विश्वास थियो कि उ मभन्दा पहिला मर्छ । र अर्को उसलाई के डर भने म मरेपछि यो मान्छेले लेख्दैन । बौलाहा हुन्छ यो । र उसैको कारणले मैले उसैको विशेष अनुरोध अथवा आदेश अथवा निर्देशमा मैले “दीपा” भन्ने उपन्यास लेखें । यौटै कारण के थियो भने उसको चाँडै डेथ हुन्छ, उसको डेथ भएपछि उसको धारणा अनुसार सतीको मृत्यु पछि शिव बौलाएजस्तो मेरो यादमा खाली बौलाएर यसले केही लेख्दैन । यसले नेपालीमा नलेखे भने यौटा के अन्याय नै हुन्छ यसको व्यक्तित्वप्रति , मेरो व्यक्तित्वप्रति । तर मैले उसको यादबाटै लेख्न थालें । कहिले कहिले बाहिर जान्छु । मेरो साथको एक्लोपन मेरो एक्लोपन होइन, स्वास्थ्यले मेरो त्यति साथ दिंदैन । यो आँखाले गर्दाखेरि । कुनै यौटा त्यस्तो पिरियड थियो मानौं कि भोलि मरे पनि हुन्छ । त्यो एक वर्षको पिरियड त्यस्तो थियो । र मैले के गरें भने त्यो पिरियडमा जति मेरो धन थियो भनौं न क्यास, त्यो सब मैले उडाउन शुरु गरें । यो मेरो छोराहरुलाई चाहिएको होइन, मलाई कसैलाई चाहिएको होइन । बरु साहित्यतिर नै गएँ । पुरस्कार राख्दिएँ । मान्छेहरुले कहिले कहिले भन्छ गोविन्दजी, धेरै पैसा भएकोले यस्तो गर्यो । मेरो मनमा के थियो भने यो धनको के जरुरत, म चाँडै मर्छु, मलाई यौटा यति विश्वास थियो, मेरो वाइफको डेथपछि म एकवर्ष भन्दा बढी वाँच्दै बाँच्दिन भनेर ।
अब लेखनको शुरुवातमा जाउँ, सबभन्दा पहिलो रचना तपाईंले कहिले लेख्नुभयो ?
मलाई उमेर त थाहा छैन नाइन्टिन फोर्टिजमा हो, म स्कूलको विद्यार्थी थिएँ ।
कुन स्कूल ? कुन ठाउँमा ?
गौरमा । गौरमा विद्यार्थी थिएँ । म यहाँबाट गएको । जन्म मेरो काठमाडौं हो । यहाँबाट ग्रैण्ड फादरको काठमाडौंमा बस्यो भने यो बेकारको सोसाइटी खराब रहेछ, मानन्धर सोसाइटी, त्यतिबेला त्यस्तो सोसाइटी होइन, अब त्यो खराव रहेछ, यसलाई हाम्रै गौरमा पढाउने , त्यहाँ हिन्दी मलाई कम आउने भएको हुनाले तल क्लास छानियो । र मेरो काकाहरुलाई यो प्रोफेसरको छोरालाई दुई क्लास तल झार्दियो भने त भनेर उहाँहरुले त्यो हिन्दीतिर जस्तो प्रेमचन्द, शरदचन्द, मलाई हुन्छ नि मेरो नेचर मिल्नेतिर लगिदियो । त्यहाँ लगेपछि मेरो फादर पनि उतै जन्मेको वनारसमा पढेको, उहाँले इन्करेज गर्यो । तिमीलाई हिन्दीको कारणले डाउन नहुन हिन्दी लेख भनेर संस्मरण जस्तो लेख्थें । इण्डियाको दरभँगाबाट निस्कने बालक पत्रिकामा छापियो । त्यो शुरु हो ।
पहिलो रचना हिन्दीमा लेख्नु भाको हो ?
हिन्दीमा नै । तर रचना लेख्ने भनेर मेरो विचार , साहित्यकार नभएर नै आएको हो । प्रेमचन्द र शरदचन्दको किताब पढें । माने बिदाउट ह्याभिंग नलेज अफ कि साहित्य के हुन्छ, त्यो भनौं न नौ वर्षको बच्चाले , म पनि नेपालको शरदचन्द बन्छु, म पनि नेपालको प्रेमचन्द बन्छु भनेर , तर कुन भाषामा लेख्ने भनेर त्यसबेला थिएन । त्यस बेलामा म पछि गएर नेवारीको लेखक हुन्छु , नेवारीमा लेख्छु भनेर त केही थिएन । ग्रैण्ड फादरको यौटा के थियो भने लेटर वेटर सब नेपालीमा लेख्नुपर्ने । एक लाइन लेखे ता पनि । मलाई अहिले पनि याद छ, अब फादर यहाँ हुनुहुन्थ्यो, मैले लेख्थें, गोविन्द बहादुरको सेवामा भनेर । म नेपालीमा लेटरहरु लेख्थें । सब नेपालीमा । हाम्रो परिवारमा आपसमा नेपालीमा । हिन्दीमा होइन । नेवारीमा पनि होइन । नेपाली मै लेख्ने चलन थियो । तर त्यसबेला म लेखक बन्छु भनेर केही थिएन ।
लेखक नै बन्छु भनेर साहित्य बुझेको कहिले त ?
त्यो त धेरै पछि । अँ, त्यो त बनारस हिन्दू युनिभर्सिटीमा जब म आई पढ्दै थिएँ, त्यसबेला मलाई, हाम्रो स्टुडेण्ट युनियन थियो, त्यसको कारणले मैले लेख्न थालें । लेखक बन्छु भनेर होइन । त्यहाँ गएर लेखकहरुसँग सँगत भयो । को लेखक मलाई याद छैन । तर अलिअलि याद छ , श्यामप्रसादजी, अथवा हाम्रो भवानी घिमिरे । यी दुइजना त मेरो साथीहरु जस्तै भयो । तर हिन्दीमा लेखेको हुनाले र लेखक भएर पर्सनालिटी थियो । अब मलाई यो याद छैन कि कुनमा मैले पहिला लेखें । तर किताब भने नेपालीमा पहिला हो मेरो । “हिमाल क्रन्दन” २००८ सालमा छापिएको हो । एकाँकी हो । एउटा एकदम भनौं न बिगिनर्स हो त्यो भनौं त्यो किताब ।
पहिलो चोटी नै नाटक लेख्नु भो ?
एकाँकी नाटक ।
कल्ले छाप्यो त्यो ?
यो छाप्यो कसरी भने नरेन्द्र यन्त्रालय छ, त्यसले हो । त्यसको चाहिने गेटअप डिजाइन चन्द्रमान मास्केले बनायो । त्यहींबाट छाप्यो, अरु याद छैन । त्यसमा डेट पनि छैन अझ । डेट पनि मलाई याद भएर डेट लेखेको । त्यसमा मेन प्रोव्लेम के थियो भने हामी नेपालीहरु इण्डियामा पढ्न जाँदाखेरि नेपालीहरुलाई नेपाली बोका इत्यादि भनेर गिज्याउने थियो नि । त्यो प्रोव्लेम मेरो मनमा आयो हिमाल रोइरहेछ, हिमाल क्रन्दन माने , आफ्नो छोरा छोरीको यो सव चिज देखेर हिमाल रोइरहेछ भनेर । निरञ्जन शर्मा भट्टराईले करेक्सन सारा गर्दिएको । र छाप्नमा पनि मेरो उसैको इडिटरशिप हो । मैले तपाईंलाई मात्र भनेको हैन, मञ्चमा पनि भनेको छु नोईंगली अननोईंगली मेरो फस्र्ट बुक नेपालीमा हो । तर त्यहाँ के भयो भने यस्तै अलिअलि लेखिरहेको बेलामा प्रेमबहादुर कँशाकार र पुष्पलाल दुइजना भेटियो बनारसमा । एक्कै चोटी अनुरोध आउँछ कि नेवारीमा यौटा लेख लेख्नुपर्यो भनेर । त्यसपछि नेवारीमा त्यसरी गएको । प्रेमबहादुरले मलाई तानेर लगेको हो नेवारीमा ।
भन्नाले शुरुवात तपाईंले हिन्दीबाट गर्नु भो, पहिलो किताब नेपालीमा लेखियो, र त्यसपछि नेवारी शुरु गर्नुभयो ?
नेवारी शुरु गरें । अब नेवारीमै किन अड्क्यो, त्यो एउटा चिज हो । कि मैले हेरें कि नेवारीमा त मलाई कम्पिटिसिन नै छैन । फेरि इन्करेज गर्ने बढ्ता थियो । हुन त त्यसमा नेपालीमा मैले ट्राई नगरेको् होइन । अनि त साथी भयो गोविन्द बहादुर गोठाले मेरो । त्यसबला मैले यौटा कथा दिएको त छापि नै दिएन । माने उनीहरु त सिनियर्स हो मेरो ।
शारदामा ?
शारदामा । छापि नै दिएन । बरु मलाई वनारसमा त्यो एउटा के छ अब, पत्रिका त्यहाँ देवकोटा एडिटर हुनुहुन्थ्यो ।
युगवाणी ?
हो, युगवाणी । त्यसमा मेरो माने धूस्वाँ नामबाट होइन गोविन्द बहादुर कि के नाममा कविता छापिएको छ । फेरि आजमा छापियो । हिन्दीमा छापियो फेरि मेरो । यहाँ आएपछि नेवारीवालाहरुले त यौटा वेलकमै गर्यो । मेरो बुवा माने एमए पिएचडी भएको हुनाले उहाँले लेखेको भन्ने सबले । लेख माग्न आउने उहाँसँग माथि , सेकेण्ड फ्लोरमा बस्नुहुन्थ्यो, उहाँले भन्नुहुन्थ्यो, मेरो छोरा लेख्छ, म नेवारी लेख्दैन । त्यस्तो एटमस्फियर थियो । त त्यही बेला यौटा अर्को एटमस्फियर के थियो भने काठमाडौंमा यो नेवार लेखक, यो हिन्दीको लेखक, यो नेपालीको लेखक भन्ने कुनै त्यस्तो थिएन । जस्तो देवकोटाजीले भेट्यो भने देवकोटाजीले पनि मान्ने । धरणीधरले पनि मान्ने । बालकृष्ण समले पनि मान्ने । लेखनाथ, लेखनाथ …देयर इज वन्ली वान माने त्यसवेलाको हाम्रो वर्ग थियो लेखक वर्ग । किनकी २००७ सालको पछि आएको लेखक वर्ग थियो । कट्टर नेवारी भाषाको मिटिंग भए पनि बालकृष्ण समहरु आइरहने । भिक्षुहरु आइरहने । त्यो एटमिसफिएर जुन कि आज जुन छ नि यौटा वाटरसेट कम्पार्टमेण्ट जस्तो पहिला थिंदै थिएन ।
अनि बीचमा कल्चरल एटैची भएर दिल्ली जानु भो हैन ?
दिल्ली गाको थिएँ । बीचमा त्यो भन्दा अघि म अमेरिका पनि गएको थिएँ । मैले त्यहाँ पनि नेप्लिज हिस्टी एण्ड कल्चर पढाएको ।
अनि कल्चरल एटैची चैं कसरी हुनु भो त ?
कल्चरल एटैची मेरो ख्वाव होइन । मेरो ख्वाव पनि होइन, मेरो ग्रैण्ड फादर, मेरो यता फेमिलीको कसैको ख्वाव होइन । र कल्चरल एटैची हुने आकाँक्षा मेरो कहिले पनि रहेन । म एज अ राइटर, एज अ प्रोफेसर नै मरुँ भनेर थियो ।
कल्चरल एटैचीको कुरा आइरहेको थियो । तपाईंको सम्पर्क अमृता प्रितमसँग कसरी भयो ?
माने मलाई यहीं देखि नै अमृता प्रितमको लेखहरु मन पर्थ्यो । र मैले आफूले उसलाई उसको एड्रेस थियो, लेखेको पनि थिएँ । केही जवाफ आएन । र मलाई कस्तो लाग्यो भने अब दिल्ली जानासाथै लेखक हुँ, लेखकहरुसित पहिले भेटुँ न । पोलिटिकल भन्दा पनि म लेखकतिर लागें । त्यो शुरु शुरुमा नै मैले त्यहाँ रामशरण खड्का भन्ने हुनुहुन्थ्यो, अवबमलाई बोर हुन्छ भनेर अब त फेमिलीसित गएको थिएँ, लेखकहरुसित मैले भेट्न शुरु गरें । त्यसमा मैले फस्र्ट च्वाइसमा नै अमृता प्रितम राखें । त्यसपछि रामशरणजीले नै मिलाउनु भयो, भेट्न पनि गएँ । भेट पनि दियो ।
अनि अमृता प्रितमसँग फ्रिक्वेण्टली भेटघाट हुने वातावरण बन्यो ?
बन्यो । माने अब कहिले कहिले त त्यस्सै पनि बोर भयो भने जाने ठआउँ भयो । मभन्दा पछि वाइफको नजिक भयो । वाइफको नजदिक, एकदम वाइफसित भयो । मसित पनि फ्रिक्वेण्टली थियो । र मेरो लेखहरु पनि उहाँले अनुवाद गरेर पञ्जावीमा छाप्यो । मेरो हिन्दीको किताबहरु छपाइदिने पनि उही हो । र एकचोटी मलाई एक घटना याद आउँछ, म गएको थिएँ । बोर भयो भनेर कुरा गर्न जाउँ । इमर्जेन्सीको पिरियड थियो । इन्दिरा गान्धी आउँदैछ , भेटेर जाउ न भन्यो । मलाई आश्चर्य पनि लाग्यो, आश्चर्य होइन, उसले भन्यो, इन्दिरा गान्धी बरोबर आउँछ मकहाँ । माने, जवाहरलाल नेहरुसित अमृता प्रितम धेरै नजदिक थियो । मैले पछि सुनें । र अमृता प्रितमलाई यता ल्याउने नै जवाहर लाल नेहरु हो । इण्डियातिर ल्याउने । पाकिस्तानले त उसलाई पछिसम्म पनि अहिलेसम्म पनि पाकिस्तानी शायरा भन्छ नि उसलाई । मैले भनें कि हर्नोस् तपाईंले भन्नु भएको धेरै ठूलो चिज हो । तर यौटा कल्चरल एटैचीले इन्दिरा गान्धी प्राइम मिनिस्टरसित भेट्न ठिक छैन । कुनै दिन जब म खाली लेखक हुन्छु, तव म यन्दिरा गान्धीसित भेट्छु । त्यो कल्चरल एटैचीको स्टाटसमा इण्डियन प्राइम मिनिष्टरसित भेट भयो भने मेरो एम्वेसीवाला नै मसँग चिढ्छ । शायद मलाई कलव्याक पनि गर्न सक्छ । नभेटने भनेर म सोझै आफ्नो मोटर हाँकेर फर्केर आएँ ।
जीवनको यो कालखण्डमा आइपुग्दा आफूले बिताएका साहित्यिक जीवनलाई तपाईं आफैंले चै कसरी पुनरावलोकन गर्नुहुन्छ ?
कहिले कस्तो लाग्छ भने मैले जस्तो म जनरल्ली भन्छु, मैले जति बाँच्नुपर्थ्यो त्यो भन्दा बढ्ता बाँचेजस्तै, जति लेख्नु पर्थ्यो त्योभन्दा बढ्ता लेखें जस्तो लाग्छ कहिले । कहिले कस्तो लाग्या छ भने, मैले लेखें तर लेख्नको नाममा खाली लेखें कि ? जति मसित तागत थियो, त्यो सब मैले लेखेन । र जहिले पनि म साहित्यिक फिल्डमा आफूलाई बिगिनरै जस्तो ठान्छु । योभन्दा बढी मैले लेख्न सक्थें, माने शसक्तता बढी हुन सक्थ्यो, र कहिले कहिले लाग्छ कि शायद मैले सशक्ततातिर प्रयास गरेको भए योभन्दा पनि फितलो हुन्थ्यो कि ? तर एक किसिमले मैले लेखेकोमा म सन्तुष्ट छु । हैन म योभन्दा बढ्ता लेख्न सक्थें, र मेरो वाइफको डेथले यसमा बाधा आयो । जुन मेरो स्पिड थियो, त्यो पहिले, त्यो आयो, स्पिड नभएको होइन । कवितामा गैदियो । उपन्यासमा गैदिएन ।
अनि गँकी उपन्यास नै एक किसिमको माष्टरपिस नै सबैले मान्या छन्, अब तपाईंले पनि शायद मान्नुहुन्छ होला ?
म त मान्दिन । यही क्वेश्चन जुन आज गोविन्दजी तपाईंले गर्नुभयो, मलाई त्यहाँ अमेरिकामा पनि एउटा प्रोफेसरले त्यो गंकीको अनुवाद देखाएर टिभीमा, दिस इज हिज बेष्ट बुक भन्यो । मैले भनें कि एक त आज पनि म यसलाई वेष्ट मान्दिन । एक त म फेरि अहिले राइटिंग नोवलिष्ट हुँ । म लेखि नै रहेको छु । मैले गँकीलाई लेख्दाखेरि पनि , प्रकाशित हुँदाखेरि पनि मलाई त्यो वेष्ट कहिले पनि लागेन ।
तर तपाईंले नमाने पनि साराले माने नि त ?
साराले मान्यो । साराले के अब तपाईंलाई भनूँ न मेरो वाइफ च्यालेञ्ज गर्छ, तपाईंले नमाने के ? गँकी नै तपाईंको सबभन्दा राम्रो हो । त्यसमा एउटा, मैले भनें कि, कारण चाहीं तिम्रो स्वार्थ छ । किनकी त्यस लेखनमा शैली भाषामा तिम्रो केही छैन । तर जुन चरित्रहरु छ नि, त्यो तिमीले दिएको हो । माने त्यसैले मैले यौटा मञ्चमा बोलेको पनि छु, म मेरो वाइफलाई जिउँदै छँदा उसलाई कोअथर भन्ने हिम्मत गरेन , तर आज म भन्छु । किनकी सब चिज मैले, म त्यसबेला जुनबेला गँकी लेखेको थिएँ, नेवारी भाषा पनि राम्रो नआउने, नेवारी समाज त मैले बुझ्दै नबुझ्ने । बाहिरको भएको हुनाले । र म अहिले पनि याद छ, गँकी यौटा च्यलेञ्जामा लेखिएको किताव हो विजय बहादुर मल्लसित ।
त्यसको अलिकति पृष्ठभूमि पाउँ न ?
एकचोटी म र विजयवहादुर मल्ल, त्यसबेला म भनौं न १९५५ सम्वतदेखि पछि आउँदाखेरि यहाँ फस्र्ट ग्रुपमा नै विजयवहादुर, गोविन्दवहादुर, चित्तरञ्जन, श्यामदास र म ग्रुप थिएँ । विजयबहादुर मल्ल जनरल्ली मेरो झोछेंको घरमा आउनुहुन्थ्यो । त्यही बेला दुवै हाम्रो झोंछेको घरबाट, यहाँजस्तो होइन । सोझै त्यो सडकमानै पर्छ । एकजना अधबैंसे लेडी गयो । ए धूस्वाँ म त्योमाथि लेख्दैछु ।
कल्ले भन्यो ?
विजयबहादुर मल्लले । त्यसलाई लिएर म गजबको उपन्यास लेख्छु भन्यो । मैले भनें कि ठिक छ, त्यो त मलाई त्यहाँ , कुन जातीको हो त्यो, मानन्धर, मान्धरको तैंले लेख्ने कि मैले लेख्ने भनें । र तिमीले पनि लेख मैले पनि लेख्ने भनेर हाम्रो च्यालेञ्ज नै भयो । अब त्यसबेला भनौं न एउटा लेख्नेको लहर आइरहेको थियो मभित्र । यौटा भनौं न छाल आइरहेको थियो, मैले च्यालेञ्ज स्वीकार गर्न लेखें । लेखेपछि त्यो अब म आफैंले रिसर्च गरेन त्यो केटीको विषयमा । माने रिसर्च माने जान्न खोजेन । वाइफलाई सोधें उसलाई सब था रहेछ । उसलाई सोध्ने, लेख्ने, सोध्ने, लेख्ने गरें । र मलाई लाग्छ १५ दिन पनि लागेन त्यो लेख्नलाई । म अर्को उपन्यास लेख्दै थिएँ, पासा भन्ने नेवारी मै । त्यही प्रेसमा थियो, यो पनि गयो सँगै । गएपछि त्यो प्रेसमा के भयो भने , त्यो प्रेस परमानन्द भन्नेको प्रेस थियो । सिध्दिचरणको घरको नजदिक । सिध्दिचरण रोज जाने रहेछ । उसले त्यहाँ के पढे रहेछ, उसले त यौटा मिटिंगमा त बोल्दियो वा । यौटा भयानक उपन्यास आउँदैछ । नेपालमा यस्तो उपन्यास लेखेको नै छैन । मैले भनें, कमेण्ट दिनुस् मलाई, पछि दियो त्यो अँग्रेजीमा दियो फेरि उसले ।
सिध्दिचरणले ?
अँ । अँग्रेजीमा कमेण्ट दियो । सिध्दिचरणले त्यस्तो यौटा मिटिंगमा बोलेपछि बालकृष्ण सम, वीपी कोइराला छापे पछि यिनीहरुले पढे । हाम्रो सुमन थियो नि, शिव मँगल सिं सुमन भन्ने थियो भारतीय दूतावासका कल्चरल एटैची । त्यसले ड्राइभरसित पढाएर सुन्यो । माने पछि त कस्तो भयो भने मलाई पनि आश्चर्य लाग्यो । जस्तो वीपी कोइरालाले प्राइमिनिष्टर हुँदाखेरी म तपाईंलाई सुनाउँदैछु, पद्यकन्यामा आउनु भयो । प्रिन्सिपलले मेरो परिचय दिन लाग्दा ‘मलाई गँकीको लेखकको परिचय जरुरत छैन’ भन्यो ।
अनि गँकीको लेखनको शुरुको लेखनको कुरामा जाउँ न, विजय मल्लले चैं क्यै लेख्नु भएन ?
लेखेन । तर विजय मल्ल पछिसम्म पनि भन्थ्यो, ‘त्यसलाई के मान्नु र, सोसल उसलाई थाहै छैन । मैले लेखेको भए कति वेटर हुन्थ्यो ।‘
आफूले नलेखे पनि त्यो दावी चाहीं गर्नुहुन्थ्यो ?
अँ, एकदम त्यो चाहीं । मेरो वेटर हुन्छ भनेर । तर उहाँलाई अब आज भने पनि केही छैन, फियर थियो मैले गँकी लेखें भन्ने । अब यो लिखित रुपमा कहीं आएको छैन, तर तारानाथले जब गँकीमाथि लेख्न शुरु गर्यो, माने यो एउटा पथ प्रदर्शक उपन्यास नै हो भनेर नै ठोक्यो । त्यसमा उहाँले रिक्वेष्ट गरेको थियो, यौटा लाइन अरु थप्दिनुस् न, यो सब ठिक छ, अलवर्टो मोराभियाको प्रभाव छ भनेर । तर तारानाथ त त्यसबेलाको त्यस्तै मान्छे फेरि । उसले गरेन ।
विजय मल्लले सजेष्ट गर्या ?
अँ । तारानाथ चैं तयार भएन । यसले थाहा हुन्छ नि, कि माने गँकीको प्रख्याति, गँकीको लेखनदेखि उसलाई अलिक जेलसी थियो ।
त्यो विजय मल्लले भन्नुमा केही आधार थियो कि, मोराभियाको केही छ त त्यसमा ?
हैन, मोराभियाको । मैले मोराभियासितै सोधें, वाइ चान्स मैले मौका पाएँ जीवनमा मोराभियासितै भेटें, र मैले भनें कि मेरो यो उपन्यासमा तिम्रो प्रभाव छ भन्छन् । अझ ठोकेर भन्छु कि जव मैले त्यसबेला त्यो ‘ओमन अफ रोम’ नै पढेको थिएन ।
कहाँ भेट भो मोराभियासँग ?
रोममा । म युनेस्कोको फेलोशिपमा गएको थिएँ । मैले भनें, त्यहाँ केही काम दिएन, के छ त म मोराभियासित भेट्छु भनेर भनेपछि मोराभियासित भेट हुँदाखेरि गंकीको अन पव्लिस्ड ईंगलिस ट्रान्सलेसन पढ्न दिएँ । केही भनेन पहिले । पछि उसले के भन्यो भने ‘तपाईं यसको नेवारी भर्सन ल्याउनु भा छ भन्यो मैले छ भनें । उसको व्रोकन अँग्रेजी तपाईंको जे अँग्रेजी त्यो ट्रान्सलेट गरेको छ त्यो मलाई सुनाउनोस् भन्यो । ठिक छ भनें मैले । जसरी आफ्नो पनि उसको पनि भाषा होईन अँग्रजी । मैले पढेर सुनाउँदाखेरि त , हैन तिम्रो र मेरोमा महा डिफिरेन्स छ । के डिफिरेन्स छ त ? मलाई अरु त भन्न आउँदैन, एउटै डिफिरेन्स छ । यू आर मोर पोइटिकल, यू आर मोर लिरिकल छ । तिम्रो त्यो उपन्यास जुन तिमीले आफैंले पढेर सुनायौ, त्यो त पोयट्री जस्तो लाग्छ मलाई । जुन कि मेरो छैन । त्यो मैले लेख पनि लेखेको थिएँ । यहाँ आएर । अँग्रेजीमा छापेको त्यो गोरखापत्रमा छापेको थियो ।
अव अलिकति रुसमा जाउँ, तपाईंको भूपि र तपाईंहरु रुस जाँदाखेरिको संस्मरण अलिकति सुनाउनोस् न ? त्यसको पृष्ठभूमि, कसरी छानिनु भो तपाईंहरु ?
मलाई त्यो भन्न वडा गाह्रो हुन्छ, कसरी छान्यो भन्ने पनि थाहा छैन । कसैले आएर सोध्यो , हाम्रो मोहम्म्द मोहसिन छ नि, उसले सोध्यो, ए धूस्वाँ तिमीलाई रुस जाने इच्छा छ ? मलाई त कहीं पनि जाने इच्छा छैन भन्दिएँ मैले । हैन, तिमी जानै पर्छ । अब मलाई कहिले कहिले आश्चर्य लाग्छ, यी नेताहरु पछि लाग्थ्यो मेरो । यो विश्व प्रधान पनि थियो त्यसबेला । त्यो स्टुडेण्टस्को हैसियतले, स्टुडेण्ट फेडरेसन थियो कि के थियो, अब मलाई केही थाहा छैन, म उता पास गरेर आएँ, नेपाली पनि ठिकले बोल्न नआउने, म पास गरेर आएपछि एडभाइजरी कमिटीको तपाईं चेयरमेन बन्दिनुस् न भन्यो , आ हुन्छ त भनें । अब मलाइै कम्युनिष्ट कँग्रेस भन्ने , मेरो पोलिटिक्स के थियो भने स्टुडेण्ट लाइफमा मेरो गार्जियनहरुको स्ट्रिक्टनेसले त्यो जुन २००७ सालको क्रान्तिमा गएँ, त्यो पोल्टिक्सले गएको होइन । त्यो कण्ट्रीको नाममा गएको खाली । कँग्रेस भएर कम्युनिष्ट भएर गएको होइन । त्यहाँ आएपछि बनाइदियो वा मलाई । गेहराज थियो, को को थियो, बनाइदियो, जानु पर्यो जानु पर्यो एउटा माने लेखकको पनि होइन, कुन चिजको हो त्यो मलाई सम्मेलन त्यो पनि याद भएन । युवकहरुको थियो कि के , यौटा सम्मेलन थियो । त्यो याद आएन ।
को को जानु भएको थियो तपाईंहरु ?
तपाईं डेपुटी लिडर हुने भयो । सिध्दिचरण लिडर भएर जाने । भूपि भनेको को मलाई क्यै थाहा नै थिएन त्यसबेला । एक्चुअल्ली मलाई जहाँसम्म लाग्छ भूपि भनेको को नेपालीलाई नै थाहा थिएन त्यसबेला । मलाई आफ्नो मनमा लाग्छ, त्यसपछि राजाको दर्शन भेट पनि भयो । र यौटै चिज किंग महेन्द्रले , अहिले पनि याद छ, कुर्तामा हुनुहुन्थ्यो । माने ज्वारीकोट जस्तो त्यसमाथि । यौटा अलग्गै माने त्यो विल्डिंग त अहिले छैन होला, टोपी लगाउन पनि परेन, केही पनि होइन, गएँ, एउटै चिज भन्यो सबसित परिचय पछि, “झगडा गरेर नआउनु है ।“ किनकी त्यसबेलासम्म हाम्रो डेलिगेसन जहाँ गएपनि झगडा गरेर आउने रहेछ । र त्यसबेला अहिले पनि याद थियो, पछि अर्जुन शम्शेर , नर शम्शेर , अनि केन्द्र शम्शेर र अर्को एउटा पछि मिलेट्रीमा के विक्रम शाह भन्ने, नरेन्द्र विक्रमको दाजु, यिनीहरु पनि थियो, किन थियो मलाई थाहा छैन ।
कतिजनाको टोली थियो ?
५० जना कि कति जनाको थियो । ठूलो थियो । नातीकाजी थियो थियो । म सिध्दिचरण, भूपि र डान्सर सुशिला कँसाकार थियो । हाम्रो गार्जियनशीपमा गएको हुनाले हामीले छोड्न मिलेन । न लिडरले छोड्न मिल्यो, न डेपुटी लिडरले छोड्न मिल्यो, भूपि पनि एज ए राइटर थियो । त्यसबेलादेखि हामी परिचित भएँ र रुम पार्टनरै भएँ । जहाँ पनि हामी दुईजना एक सँगै बस्थें । भोलि के कविता पढ्नु छ, मैले के भन्नु छ, हाम्रो डिस्कसन हुन्थ्यो । मैले नै अँग्रेजी अनुवाद गर्दिन्थें । मलाई त अब अँग्रेजी आइसकेको थियो । म यहाँ त्रिचन्द्रमा लेक्चरर भैसकेको थियो ।
तपाईंलाई यौटा कुरा सोधौं तपाईंको जिन्दगीको अन्तिम इच्छा चाहीं के छ साहित्यमा ?
साहित्यमा त लेखिरहूँ यही इच्छा छ । लेख्न नछुटोस् । लेख्न छुट्नु भन्दा त मर्नु राम्रो । मलाई अरु चिज छैन, यो यौटा सानो परिवार हो, त्यो अर्कै चिज हो । अर्को खै, चिजै छैन । लेखौं, पढौं, । आँखा खराब भएकोले मलाई कहिले कहिले रुन मन लाग्छ । यो मैले पढ्ने बेला हो । यो मेरो लेख्ने बेला हो । आँखाले साथ दिंदैन मलाई । जीवनको यति अनुभव गरिसकेको छु कि अस्ति मञ्चवाट पनि वोलेको थिएँ, मेरो जीवनको हर क्षण उपन्यास हो । उपन्यास र कविता त म जहिले पनि लेख्न सक्छु । यो होस् त्यो होस् मलाई क्यै छैन । एउटा, एउटै इच्छा हुनसक्छ, मेरो डेथपछि मेरो छोराहरुले मेरो किताबहरु छापिदेओस् ।
प्रतिक्रिया 4