+
+
Shares

शोले : पुरानो कथ्य तोड्दै कसरी सर्वकालीन बन्यो ?

१९७० को दशकको ‘मसाला फिल्म’ शोलेको संवाद, निर्देशन र प्राविधिक पक्षमाथि दशकौंदेखि चर्चा हुँदै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते ७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रमेश सिप्पी निर्देशित फिल्म शोले आजभन्दा ५० वर्षअघि भारतको स्वतन्त्रता दिवसमा रिलिज भएको थियो र अझै पनि बलिउडमा सर्वकालीन मानिन्छ।
  • शोलेले जेलबाट छुटेका जय र वीरूको मित्रता र परिवर्तनको कथा प्रस्तुत गर्दै बलिउडका पुराना आदर्श ढाँचालाई तोडेको छ। फिल्मले
  • कामकाजी महिला बसन्ती र विधवा राधाको प्रेमलाई देखाएर सामाजिक रूढिवादलाई चुनौती दिएको छ।

आजभन्दा ठीक ५० वर्षअघि भारतको स्वतन्त्रता दिवसमा रमेश सिप्पी निर्देशित शोले रिलिज भएको थियो । मितिका आधारमा यो पुरानो फिल्म हो । तर बलिउडका ब्लकबस्टरहरू समयसँगै धमिलिँदै जाँदा ुशोलेुको विरासत ताजै छ ।

आजसम्म आइपुग्दा यो फिल्म अब फिल्म मात्र रहेन । एउटा अनुभव बनेको छ । अनुभूति बनेको छ । बुमर, जेन एक्स, मिलेनियल्स, जेन जी –यी हरेक पुस्ताले यसलाई आफ्नै नजरले हेर्छ । र, त्यसमा आफ्नै प्रतिबिम्ब देख्छ ।

भनौं, यो फिल्मले हरेक पुस्तासँग मित्रता गर्न जानेको छ । र ती सबैसँग जय(वीरूको दोस्तीजस्तै घुलमिल हुन सकेको छ ।

७० को दशकको ‘मसाला फिल्म’ शोलेको संवाद, निर्देशन र प्राविधिक पक्षमाथि दशकौंदेखि चर्चा हुँदै आएको छ । तर मुख्यतस् यस फिल्मले मनोरञ्जनको बाटोमा हिँडेरै समाज र हिन्दी सिनेमाका पुरानो ढर्राहरूलाई चुनौती दिएको थियो ।

किनकि स्वतन्त्रतापछिका भारतीय फिल्महरूको कथाहरू प्रायः निर्धारित ढाँचाका हुन्थे । तर शोलेले वर्षौंदेखि फिल्मी कथाको हिस्सा बनेका बलिउडका पुराना रूढिवादी धारणा, साँघुरो सोच र स्टेरियोटाइप्सलाई तोडिदियो ।

यही कारण, ५० वर्षपछि पनि शोले पुरानो वा समयभन्दा पछाडिको फिल्म लाग्दैन ।

जय-वीरू :  जब चोर बने चौकीदार

केही अपवादहरूलाई छोड्ने हो भने, शोलेभन्दा अघिका बलिउड हिरोहरू प्रायः दाग(धब्बारहित, नैतिकताका प्रतिमूर्ति र आदर्शवादी साँचामा ढलेका हुने गर्थे । शोलेले यो परम्परागत आदर्श ढाँचालाई तोडिदियो ।

किनकि फिल्मका मुख्य पात्रहरू जय र वीरू जेलबाट छुटेका, चोर र बदमास थिए । उनीहरूको विगत कतै सफा थिएन । उनीहरू रक्सी पिउँथे, झूट बोल्थे र ठग पनि थिए ।

तर जब ठाकुर बलदेव र रामगढको आशा यी दुईमा टिक्यो, तब उनीहरू बदलिएनन् मात्रै, बरु खतरनाक गब्बर सिंहको अगाडि डटेर उभिए । नायक त्यो होइन जो दागविहीन होस्, बरु त्यो हो, जसले आफ्नो विगतलाई पछाडि छोडेर आफ्नो भित्रको उज्यालोलाई जगाउँछ ।

यसरी ‘बदमास’ भएर पनि उनीहरूले गाउँको रक्षा गरे । दोस्ती निभाए । र, मानवता देखाए । चोरबाट चौकीदार बने ।

मित्रतामा नयाँ परिभाषा

फिल्मका लेखक जावेद अख्तर स्वयं पनि शोलेभन्दा पहिलेका बलिउड फिल्महरूमा पुरुषको दोस्ती धेरै हदसम्म प्रेमी(प्रेमिकाजस्तो हुने गर्थ्यो भन्ने मान्छन् । तर उनले शोलेमा यो कुराको ब्रेक लगाए ।

शोलेमा जय(वीरू एकअर्काको खिसी गर्थे । जिस्क्याउँथे । झगडा गर्थे । तैपनि अप्ठ्यारोमा सँगै रहन्थे । यस्तो वास्तविक जीवनसँग मेल खाने मित्रताको केमिस्ट्री पहिलो पटक शोलेमा नै देखिएको थियो । जसले ‍पछिका धेरै हिन्दी फिल्महरूलाई प्रभावित गरेको देख्न सकिन्छ ।

बसन्ती :  गाउँकी ‘वर्किङ वुमन’

त्यो बेलासम्म हिन्दी कमर्सियल फिल्महरूमा प्रायः शहरकी वा गाउँकी हिरोइन केवल ‘प्रेमिका’ मात्र हुन्थिन् । ‘वर्किंग वुमन’ अर्थात् काम गर्ने महिला हुन्थिनन् ।

तर रामगढकी बसन्ती (हेमा मालिनी) ड्राइभिङ सिटमा महिला पनि हुन सक्छिन् भन्ने देखाइन् । उनी घरको चार घेराबाट बाहिर निस्केर बाहिर काम गर्थिन् । इज्जतका साथ कमाउँथिन् । र, लजालु नायिकाहरू भन्दा फरक भएर कसैसँग नडराई आफ्नो कुरा भन्थिन् ।

यसरी शोलेले नायिकालाई ग्लामरमा सीमित नगरेर एक कामकाजी महिला देखाएको थियो ।

परम्पराभन्दा बाहिरको महिला प्रेम

निर्देशक सिप्पीले आफ्नो अघिल्लो फिल्म ‘अन्दाज’मा पनि विधवा महिलाको प्रेमको कुरा गरेका थिए । त्यो समयको समाजमा प्रायः यस्ता महिलाहरूको लागि प्रेम, श्रृंगार वा जीवनको नयाँ सुरुवातको कथा कमै हुन्थ्यो । यद्यपि अन्दाजुको कथा नै त्यही थियो ।

तर शोलेजस्तो मसलेदार फिल्ममा पनि सिप्पीले राधा (जया बच्चन) को चरित्रमार्फत प्रेम उमेर, परिस्थिति वा समाज अनुसार हुँदैन भनेर स्षट भनेका छन् ।

फिल्ममा एक ससुरा आफ्नी विधवा बुहारीको फेरि विवाह गराउने प्रयास गर्छन्, त्यो पनि एक यस्तो मान्छेसँग जो अपराधी थियो । जुन आफैंमा प्रगतिशील सोच र परम्पराभन्दा बाहिर जाने विद्रोह थियो ।

गब्बर सिंह–खलनायकभन्दा बढी

शोलेभन्दा पहिलेका हिन्दी सिनेमामा अविस्मरणीय खलनायकहरू आइसकेका थिए । तर शोलेको खलनायक गब्बर सिंह त्यो समयका लागि बिल्कुलै नयाँ र क्रान्तिकारी थिए ।

प्रायः सुटबुटमा देखिने सहरी शैलीका खलनायकहरूभन्दा गब्बर सिंह पूरै फरक थियो । ऊ जंगलमा बस्ने, धुलोले लतपतिएको र निर्मम डाकु थियो । आफ्नै ग्याङका साथीहरूलाई पनि नसोची मारिदिने खलनायक थियो ।

गब्बरसिंहले ठाकुरको पूरै परिवारको हत्या गर्छ । तर रगत नदेखाई पनि गब्बरको छवि यति भयानक र गहिरो बनाइएको छ कि उनलाई ५० वर्ष बितिसकेपछि पनि भारतीय सिनेमाको सबैभन्दा ठूलो खलनायक मानिन्छ ।

………

एउटै फिल्ममा धेरै विधा समेट्ने बलिउडको विशेषता पुरानै हो । त्यो कुरा शोलेमा पनि छ । तर एक्सन, रोमान्स, कमेडी, इमोसन, थ्रिल सबै भावनाहरूलाई शोलेमा बेजोड तरिकाले सन्तुलन गरिएको छ ।

यसको सिनेम्याटोग्राफी, ब्याकग्राउन्ड स्कोर, एडिटिङ र कथाको तालमेल उस्तै छ । जसमार्फत हिन्दी सिनेमाका धेरै स्टेरियोटाइप्सलाई ध्वस्त गर्दै शोले सर्वकालीन बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?