Comments Add Comment

जनकपुर, वीरगञ्ज र बुटवलका क्षेत्रीय अस्पताललाई एनआरएनले दियो निःशुल्क औषधि

nrn-medicine-to-hospitals-1

१५ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नाकाबन्दीका कारण औषधि अभाव भोगिरहेका जनकपुर, बीरगञ्ज र बुटबलका क्षेत्रीय अस्पतालहरुलाई निःशुल्क जीवनरक्षक औषधि हस्तान्तरण गरेको छ ।

पहिलो चरणमा स्वास्थ्य मन्त्रालयलाई करिव ३८ लाख रुपैयाँको औषधि दिएको संघले तीन महिनादेखिको आन्दोलनबाट प्रभावित तराई क्षेत्रका अस्पतालमा आफैं पुगेर औषधि हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष शेष घलेसहितको टोलीले तीनवटै अस्पताललाई करिव दुई-दुई हजार किलो औषधि हस्तान्तरण गरेको छ ।

अध्यक्ष घलेले जनकपुर बिमानस्थलमा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष डा. नगेन्द्रप्रसाद यादव र नि. मेडिकल सुपरिटेण्डेण्ट डा. राजकिशोर पण्डितलाई औषधि हस्तान्तरण गरे । औषधि ग्रहण गर्न अस्पतालका चिकित्सक र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु बिमानस्थल आइपुगेका थिए ।

यसैगरी संघले नारायणी क्षेत्रीय अस्पताललाई पनि जीवनरक्षक औषधिहरु हस्तान्तरण गरेको छ । अध्यक्ष घलेले अस्प्तालका निमित्त मेडिकल सुपेरिटेण्डेण्ट उदयशंकर चौधरीलाई औषधि हस्तान्तरण गरे ।

बुटवलस्थित क्षेत्रीय अस्पताललाई पनि औषधि हस्तान्रण गरिएको छ । भैरहवामा आयोजित कार्यक्रममा संघका अध्यक्ष घलेले अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा. राजेन्द्र खनाललाई औषधि हस्तान्रतण गरे ।

कार्यक्रममा संघका तर्फबाट अध्यक्ष घले, संरक्षक एवं संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, संरक्षक इन्द्रा वन र प्रवक्ता रन्जु थापा उपस्थित थिए । औषधि ढुवानीका लागि नेपाली सेनाले सहयोगस्वरुप स्काइ ट्रक उपलब्ध गराएको थियो ।

नेपालमा आएको मानवीय विपतमा सहयोग गर्न अग्रसर भएको गैरआवासीय नेपाली संघले औषधिको अभावका कारण ज्यान जाने अबस्था आउन नदिन औषधि सहयोग जारी राख्ने बताएको छ ।

‘जहाँजहाँ धेरै अभाव छ, त्यहाँ हामीले नै छिटो औषधि उपलब्ध गराउने उदेश्यले अस्पताललाई नै औषधि हस्तान्तरण गरिएको हो’ अध्यक्ष घलेले भनेका छन्-‘उहाँहरुले दिएको सूचीअनुसार नै हामीले ६ हप्ताका लागि पुग्ने गरी औषधि दिएका छौं ।’

सरकारलाई दिएको औषधि सम्बन्धित अस्पताललाई पुग्न ढिलाई नहोस् भनेर सरकारलाई जानकारी दिएरै छिटो औषधि पुर्‍याउन खोजिएको उनले जानकारी दिए । भूकम्पको बेलामा जस्तै पीडितसम्म सिधै पुग्ने योजनाअनुसार तराई क्षेत्रमा रहेका क्षेत्रीय अस्पतालहरुलाई औषधि पुर्‍याइएको उनले बताए ।

नाकाबन्दीका कारण उत्पन्न मानवीय संकट समाधानका लागि गैरआवासीय नेपाली संघले सहयोग गर्ने घोषणा गरेअनुरुप अहिले बिभिन्न देशमा अर्थ संकलनको कार्यक्रम भइरहेको छ भने संकटलाई अन्तराष्ट्रियकरण गरी दबाब सिर्जना गर्न बिभिन्न देशमा गैरआवासीय नेपालीहरुले प्रर्दशनहरु गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment