+
+
Shares

वैदेशिक रोजगारीमा हुनुहुन्छ ? बिजुलीमा लगानी गर्नोस् !

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २३ गते १०:५१

Kabeli-Hydropower-Project
२३ पुस, काठमाडौं । के तपाईले विदेशी भूमिमा कडा परिश्रम गरेर कमाएको रकम परिवारका सदस्यहरुले फजुल खर्च गरेर तपाईलाई हैरान बनाइरहेका छन् ? के तपाई यस्तो फजुल खर्च बचाएर तपाई दीर्घकालीन प्रतिफल पाउने गरी लगानी गर्न पाए हुथ्यो भन्ने सोचमा हुनुहुन्छ ?

नेपालमा आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब २६ अर्ब रुपैयाँ रेमिटान्स भित्रिएको थियो । तर, रेमिटान्सबाट प्राप्त रकममध्ये ८२ प्रतिशत रकम उपभोगमा खर्च हुँदै आएको छ भने ४ प्रतिशत मात्रै बचत हुने गरेको तथ्यांक छ ।

बाँकी रकम शिक्षा, स्थास्थ्य, आवासमा खर्च हुने गरेको अर्थशास्त्रीहरु बताउँछन् । रेमिट्यान्सबाट प्राप्त भएको रकम उपभोगमा खर्च भएको भन्दै सरोकारवालाहरुले लामो समय चिन्ता गरिरहेका छन् ।

विदेशमा कमाएको पैसा विद्युतमा लगानी

वैदेशिक रोजगारीमै रहेर पनि तपाई नेपालमा जलविद्युत आयोजनाहरुको विकासमा आफूले कमाएको रकम लगानी गर्न सक्नुहुनेछ । सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले विदेशमा रहेका नेपालीहरुका लागि ‘रेमिट हाइड्रो’ नामक आकर्षक लगानीको योजना सञ्चालन गर्ने तयारी गरेको छ ।

Remit-Hydro

कम्पनीले रेमिट हाइड्रो नामक सहायक कम्पनी स्थापना गरी पूर्वी नेपालको ताप्लेजुङको ५३.७ मेगावाटको थिङवा र ताप्लेजुङका ७१.८ मेगावाटको घुम्सा खोलामा १ सय २५ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जुन आयोजनामा विदेशमा रहेका नेपालीहरुले लगानी गर्न सक्ने जलविद्युत विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले अनलाइनखबरलाई बताए ।

कम्पनीको दाबी

रेमिट हाइड्रोमा लगानी गर्नेले लगानीकर्ताले पेन्सन जस्तै बाँचुञ्जेल आकर्षक प्रतिफल पाउने रौनियारले जानकारी दिए । ‘यो योजनामा किस्ताबन्दीमा रकम जम्मा गर्न सकिने छ र कम्पनीले आजीबन आकर्षक प्रतिफल दिनेछ,’ उनले भने

यो योजनामा सहभागी हुन नेपालमा बैंक खाता हुनुपर्नेछ । श्रमिकहरुले आफूले कमाएको रकम थोरै थोरै गरेर मासिकरुपमा खातामा जम्मा गरी कम्पनीमा सेयर लगानी गर्न पाउने छन्

कति र कसरी प्रतिफल दिने भन्ने बारेमा छलफल भइरहेको रौनियारले बताए । कम्पनीले आन्तरिक स्रोतबाटै यी आयोजनाको वित्तीय व्यवस्थापन गर्ने र त्यसपछि मात्रै विदेशमा रहेका नेपालीहरुमाझ साढे चार अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने योजना रहेको उनले सुनाए ।

‘१९/२० अर्बको वित्तीय व्यवस्थापन आन्तरिक स्रोतबाटै गर्न सक्षम छौं,’ रौनियारले भने- ‘३० प्रतिशत अर्थात साढे ४ अर्ब रुपैयाँ बराबरको सेयर मात्रै विदेशमा रहेका नेपालीहरुका लागि निष्काशन गछौं ।’

कम्पनीका सीइओ रौनियारका अनुसार यो योजनामा सहभागी हुन नेपालमा बैंक खाता हुनुपर्नेछ । श्रमिकहरुले आफूले कमाएको रकम थोरै थोरै गरेर मासिकरुपमा खातामा जम्मा गरी कम्पनीमा सेयर लगानी गर्न पाउने छन् ।

‘उपभोगमा खर्च गर्दा रकम सकिन्छ । तर, सेयरमा लगानी गर्दा रकम बढ्छ’ उनले भने । सो आयोजनामा जलविद्युत बिकास कम्पनीको ५१ प्रतिशत, स्थानीयबासीले १५ र सर्वसाधारणले १० प्रतिशत सेयर पाउने पाउने छन् ।

इजाजत पाउन बाँकी

कम्पनीले बिभिन्न आयोजनामा कन्सल्टियममार्फत करिब ४ अर्ब रुपैयाँ लगानी गरिसकेको छ

कम्पनीले इजाजतका लागि ६ महिनाअघि नै उर्जा मन्त्रालयमा आवेदन दिइसकेको छ । उर्जा मन्त्रालयले अवधारणा पत्र बनाएर सकेसम्म चाँडो इजाजत दिने उर्जा सचिव सुमनप्रसाद शर्माले अनलाइनखबरलाई बताए ।

‘सरकारले श्वेतपत्रमै रेमिट हाइड्रो अगाडि बढाउने उल्लेख गरिसकेकाले हामी यसलाई प्राथमिकता दिएर काम गरिरहेका छौं,’ शर्माले भने ।

रेमिट हाइड्रोको माउ कम्पनि एचआईडीसीएलले गत कात्तिक दोस्रो सातामात्रै २ अर्ब रुपैयाँ बराबरका साधारण सेयर निष्काशन गरेको थियो । साधारण सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ ।

कम्पनीले बिभिन्न आयोजनामा कन्सल्टियममार्फत करिब ४ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । जलविद्युत आयोजनाहरुमा रकमको अभाव हुन नदिन तत्कालीन उर्जामन्त्री गोकर्ण विष्टले ०६७ मा यो कम्पनीको स्थापना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?