
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रा.डा. दिव्या सिंह शाहले फुर्सदमा किताब पढ्न र फिल्म हेर्न रुचि राख्छिन्।
- उनले 'इमरजेन्सी' र 'लापत्ता लेडिज' फिल्महरू मन पराइन्।
- उनी नेपालका स्थानहरू रारा र मानसरोवर मन पराउने बताइन्।
मिर्गौलारोग विशेषज्ञको रुपमा लामो अनुभव छ, प्रा.डा. दिव्या सिंह शाहको । चिकित्सक भएको नाताले उनको दैनिकी अस्पताल र उपचारमै बित्ने गर्छ । त्यही व्यस्तताबीच उनले कसरी आफ्नो निजी जीवन बिताउँछिन् ? उनको रुचि र सौखका कुरा के छन् ?
डा. सिंहसँग हामीले अफबिट कुराकानी गरेका छौं ।
१. रमाइलो गर्न मन लागेमा के गर्नुहुन्छ ? अर्थात् मन खुसी भएको बेला के गर्नुहुन्छ ?
अलिकति फुर्सद भएको बेला र मन खुसी भएको बेला मलाई किताब पढ्न मन लाग्छ । अनि साथै सामाचारहरू पनि पढ्छु विशेष गरी बीबीसी र अनलाइनखबरको ।
२. फिल्म हेर्नुहुन्छ ? पछिल्लो समय हेरेको फिल्म याद छ ?
फुर्सदको समयमा फिल्म हेर्न पनि मन पर्छ मलाई । पछिल्लो समय हेरेको फिल्म सम्झनु पर्दा भने कंगना रनौतको ‘इमरजेन्सी’ हेरेको थिएँ ।
३. फिल्म घरमै हेर्नुहुन्छ कि हलमा ?
फिल्म प्राय घरमा नै हेर्छु । व्यस्त हुने भएकोले एउटा पूरा फिल्म हेरिसक्न मलाई ५ देखि ६ दिन नै लाग्छ । हलमा गएर फिल्म खासै हेर्दिन । पछिल्लो समय लगभग एक वर्ष अगाडि गएकी थिएँ होला हल ।
४. कुनै फिल्म हेरेर त्यसप्रति प्रभावित हुनुभएको छ ?
इमर्जेन्सी हेर्दा नै म इन्दिरा गान्धीको राजनैतिक व्यक्तित्व देखेर प्रभावित भएको थिएँ । साथै ‘लापत्ता लेडिज’ पनि मलाई असाध्यै मन परेको फिल्म हो ।
५. फिल्म हेरिरहँदा फिल्मको मुख्य पात्र ‘हिरो’हुन पाए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन ?
मलाई महिलाको नेतृत्व भएका फिल्महरू बढी मनपर्छ । कहीँकतै मैले आफूलाई पनि त्यस पात्रको रुपमा महसुस गर्ने भएर होला ।
६. तपाईँले हेरेको कुनै त्यस्तो फिल्म छ, जसकारण आफूलाई बदल्ने कोसिस गर्नुभएको छ ?
फिल्म हेरेर आफूलाई बदल्न खोजेको भने छैन । फिल्ममा भएका राम्रा कुराहरूलाई सिक्ने र लागू गर्ने प्रयास भने गर्छु ।
७. फुर्सद पाए नेपालको कुन कलाकारसँग समय बिताउन चाहनुहुन्छ ?
मैले खासै नेपाली कलाकारलाई चिनेको छैन । त्यसैले यही कलाकारसँग समय बिताउँछु भनेर सोचेको पनि छैन ।
८. तपाईँलाई कुन कलाकार मनपर्छ ? किन ?
यही कलाकार मनपर्छ भन्ने पनि छैन खासै । तर, कहिलेकाहीँ हेरेको हिसाबले सृष्टि क्षेष्ठ भने मलाई मनपर्छ ।
९. नाटक हेर्न जानुभएको छ ?
केही वर्षअघि होटेल बज्रमा ‘द थ्री पैसा ओपेरा’ नाटक मञ्चन भएको थियो त्यो नाटक हेरेको थिएँ । जुन नाटक एकदमै राम्रो थियो ।
१०. घरमै बस्दा गीत सुन्ने गर्नुभएको छ ?
घरमा बस्दा भन्दा पनि ड्राइभिङ गर्दा भने गीत सुन्ने गरेको छु ।
११. कसको र कस्तो गीत सुन्नुहुन्छ ?
मलाई आधुनिक गीतहरू मनपर्छ । त्यसैले अन्जु पन्तको गीतहरू मनपर्छ । ‘फूल बुट्टे सारी सपक्क पारी’ भन्ने गीत पनि मन परेको थियो ।
१२. कुन नेपाली गायक, जसलाई तपाईँ भेट्न चाहनुहुन्छ ?
अन्जु पन्त मन पर्ने भएकोले अवसर जुरेको खण्डमा उहाँलाई नै भेट्न चाहन्छु ।
१३. कोर्सबाहेक कुनै पुस्तक पढ्नुहुन्छ ? फिक्सन वा ननफिक्सन
धेरै समय त म आफ्नै विषयसँग सम्बन्धित किताब नै पढ्छु । अध्ययन, अनुसन्धान सम्बन्धी किताबहरू धेरै पढ्छु । मेडिकल फिक्सन पढ्न मनपर्छ ।
१४. पछिल्लो समय कुन पुस्तक पढ्नुभयो ?
पछिल्लो समय अरुन्धती रोयको ‘द गड अफ स्मल थिङ्’ पढेको थिएँ ।
१५. पुस्तक ज्ञानका लागि वा मनोरञ्जनका लागि पढ्नुहुन्छ ?
पुस्तक त मनोरञ्जनका लागि भन्दा पनि ज्ञानका लागि नै पढ्छु ।
१६. यस्तो पुस्तक छ, जसले तपाईँको मन परिवर्तन गरिदियो ?
हरेक पुस्तकले केही न केही ज्ञान दिन्छ नै । तर धेरै वर्ष पहिले म अस्कलमा पढ्दा ‘कोमा’ भन्ने पुस्तक पढेको थिए । जसमा मानव अंग बेचबिखनकै कुरा थियो । अप्रेसन थिएटरको फल सिलिङको पाइप लाइनमा अक्सिजनको सट्टामा कार्बन मोनो अक्साइड दिएर बिरामी बेहोस हुने र उसको अंग निकाल्ने गरेको प्रसङ्ग थियो त्यसमा ।
म अस्ट्रेलियाबाट डाक्टर भएर फर्केपछि नेपालमा बिरामीलाई आइसीयूमा डायलाइसिस गर्न मिल्दैन थियो । बिरामीलाई डायलाइसिस वार्डमा नै लानुपर्थ्यो भेन्टिलेसन सहित । यस्तोमा बिरामीलाई गाह्रो हुने भएकाले डायलाइसिस पाइपलाई आइसीयूमा नै लगेर डायलाइसिस गरौँ भने ।
तर, यहाँ मिल्दैन अस्ट्रेलियामा देखे जस्तो कहाँ हुन्छ भन्नुहुन्थ्यो । तर, पछि मैले हेर्दै जाँदा पाइपलाइन फल सिलिङबाट नै जाँदो रहेछ । यस्तोमा मैले ‘कोमा’मा पढेको सम्झिँए र अरू पाइपलाइन जान्छ भने डायलाइसिसको किन जाँदैन भनेर भनेपछि त्यो सम्भव भयो र अहिले आइसीयूमा नै डायलाइसिस हुन्छ ।
१७. किनमेल गर्न कति रुचाउनुहुन्छ ?
किनमेल गर्न मनपर्छ मलाई तर व्यस्तताको कारण किनमेलका लागि निस्कन समय मिल्दैन ।
१८. के-कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
म प्राय घरायसी सामाग्री किन्न बजार जान्छु । भाटभटेनी र बिगमार्ट गएर दुई हप्तालाई पुग्ने रासन एकै पटक लिएर आउँछु ।
१९ .आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
आफ्ना लागि समय निकाल्न साह्रै गाह्रो हुन्छ । त्यसैले प्राय लुगाफाटो साथीहरूले, परिवारका सदस्यहरूले उपहार दिनुभएको हुन्छ । विदेश गएका बेला भने केही लुगा र जुत्ताको किनमेल गर्छु लगाउन एकदमै सहज हुने खालको ।
२०. घरमा खाना पकाउने गर्नुहुन्छ ?
मलाई खाना पकाउन मनपर्छ । कहिलेकाहीँ पकाउने गरेको छु फुर्सदको समयमा । कहिलेकाहीँ युट्युब हेरेर पनि खाना बनाउने गर्छु ।
२१. तपाईंलाई पकाउन आउने परिकार कुन हो ?
चिकेन थाइकरी मलाई पकाउन मन पर्ने परिकार हो ।
२२. पाहुना आउँदा वा पारिवारिक जमघटमा खानेकुरा पकाउने गर्नुहुन्छ ?
पाहुना आउँदा वा पारिवारिक जमघटमा खाना पकाउन मनपर्छ । त्यसैले दुई-तीन वटा परिकार भए पनि आफैँ पकाउने गर्छु ।
२३. तपाईँलाई मिठो लाग्ने परिकार चाहिँ कुन हो ?
मलाई मिठो लाग्ने परिकार पनि चिकेन थाइ करी नै हो ।
२४. पर्फ्युमको कति सौखिन हुनुहुन्छ ? कुन पर्फ्युम प्रयोग गर्नुहुन्छ ?
पर्फ्युमको खासै सौखिन छैन । अस्पतालमा खासै पर्फ्युम लगाएर गइँदैन । कहिलेकाहीँ पार्टीमा जाँदा मात्र लगाउँछु , त्यो बेला भने च्यानल प्रयोग गर्छु ।
२५. आफ्नो पेशाबाहेक अरू के कुरामा सौखिन हुनुहुन्छ ? जस्तो गाउने, नाच्ने, बाजा बजाउने ?
आफ्नो पेशाबाहेक मलाई गिटार बजाउन र नाच्न मनपर्छ । त्यसैले गिटार बजाउन र साल्सा डान्स सिकेको पनि छु । साथै मलाई गार्डेनिङको पनि सौख छ त्यसैले समय मिलेका बेला बोटबिरुवाको हेरचाहमा लागिहाल्छु ।
२६. घरपालुवा पशुहरू पाल्ने गर्नुभएको छ ? कति सौखिन हुनुहुन्छ ?
घरमा एउटा सानो कुकुर छ । घरपालुवा जनावर पाल्न मनपर्छ।
२७. जमघटमा वा रमाइलोमा कति सहभागी हुन रुचाउनुहुन्छ ?
जमघटमा सहभागी हुन पनि मनपर्छ । त्यसैले स्कुलका साथीदेखि लिएर अहिले अस्पतालका साथीहरूसँग पनि जमघट गर्ने, रमाइलो गर्ने गरिरहेको हुन्छु ।
२८. घुमफिरमा कति रुचि राख्नुहुन्छ ?
घुमफिरमा पनि रुचि छ, त्यसैले फुर्सद हुनेबित्तिकै घुमफिरका लागि जाने गरेको छु ।
२९. प्राय कहाँ-कहाँ घुम्न निस्कनुहुन्छ ?
फुर्सद हुँदा काठमाडौँ नजिकै रहेका नगरकोट, धुलिखेल जाने गरेको छु । अलि समय फुर्सद हुँदा भने बाहिर देश पनि गइरहेको हुन्छु ।
३०. घुम्न जाँदा नेपालको सबैभन्दा मन परेको ठाउँ कुन हो ?
नेपालको सबैभन्दा मन परेको ठाउँ रारा र मानसरोवर हो ।
प्रतिक्रिया 4