+
+
Shares
एनओसीमा घुस : फलोअप :

क्यान्टिन र स्टेसनरीमा एनओसी घुस डिल, लेनदेन मिलाउने कन्सल्टेन्सी सञ्चालक

‘१० हजार दिनुहोस्, आजको आजै बन्छ’

‘एनओसी बनाउन के गर्नुपर्छ ?,’ ती सेवाग्राहीले स्टेसनरीमा सोध्छन् । ‘१० हजार दिनुहोस्, आजको आजै बन्छ,’ स्टेसनरी सञ्चालक भन्छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ असार ४ गते २२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यसअघिका शिक्षा मन्त्रीहरूलाई विद्यार्थीको यस्ता गुनासाबारे राम्रै जानकारी थियो।
  • एनओसीका लागि पेस गरेका अधिकांश कागजात ‘फेक’ हुने गरेको कर्मचारीहरू बताउँछन्।
  • शिक्षा मन्त्रालयले अनुगमन र अनुसन्धान गर्न कार्यदल गठन गरेको छ।

४ असार, काठमाडौं । सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखा नजिकै छ, क्यान्टिन । चिया-खाजा खुवाउने यो क्यान्टिन घुस खाने/खुवाउने अखडा बनेको तथ्य फेला परेको छ ।

क्यान्टिनसँगै स्टेस्नरीमा समेत घुसको डिल हुने गरेको पाइएको छ ।

गत २०८० फागुनको कुरा हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा एउटा भिडियो आइपुग्यो । जुन भिडियोमा एनओसीको लागि बार्गेनिङ भइरहेको थियो । बार्गेनिङ भइरहेको स्थान थियो, एनओसी शाखा वरिपरि रहेको स्टेसनरी ।

‘एनओसी बनाउन के गर्नुपर्छ ?,’ ती सेवाग्राहीले स्टेसनरीमा सोध्छन् । ‘१० हजार दिनुहोस्, आजको आजै बन्छ,’ स्टेसनरी सञ्चालकले भन्छन् । यसरी १० हजारबाट बार्गेनिङ गरेर ५ हजारमा झरेको वार्तालाप सहितको भिडियो शिक्षा मन्त्रालयमा आइपुग्छ ।

एनओसी शाखाकै एक कर्मचारीका अनुसार स्टेसनरीभन्दा बढी क्यान्टिमा बार्गेनिङ हुने गरेको छ । ‘एनओसी बनाउन पुगेका विद्यार्थी क्यान्टिनमा पुग्छन् । कतिपय त सिधै क्यान्टिन सञ्चालकसँग फोन सम्पर्क गरेर एनओसी बनाउन आउँछन्,’ मन्त्रालयका एक अधिकारीले भने ।

गैरकानुनी काममा क्यान्टिन सञ्चालकसेमत संलग्न हुने गरेको स्वयं कर्मचरीहरू बताउँछन् । ‘क्यान्टिन सञ्चालक कहिले आफन्तको हो । कहिले कसको हो भनेर निवेदन ल्याउनुहुन्छ,’ एनओसी शाखा स्रोतले भन्यो, ‘क्यान्टिन सञ्चालकले कति रकम उठाउँछन् त्यो त थाहा भएन ।’

अनलाइनखबरको सम्पर्कमा आएका ती कर्मचारीले भने, ‘कर्मचारीभन्दा बाहिरी बिचौलिया धेरै छन् । बिचौलियाले उठाउँछन् । हामीलाई फसाइयो नि ।’ ती कर्मचारीले भनेको बिचौलिया कन्सल्टेन्सी सञ्चालक र क्यान्टिन हो ।

यसरी क्यान्टिनमा घुसको डिल हुने गरेको सूचना शिक्षा मन्त्रालयमा पनि आएको भेटिएको छ । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई खबर आयो– ‘एनओसीमा समस्या छ । शाखाको क्यान्टिनबाट सेटिङ हुन्छ ।’

विदेशमा अध्ययन गर्न जाने विश्वविद्यालय र नेपालको विश्वविद्यालयको क्रेडिट आवर, कोर्स लगायतका नमिलेका विषयमा घुस लेनदेन गरेर एनओसी बनाउने गरेको पाइएको छ ।

शिक्षा मन्त्रालयको एक कर्मचारीका अनुसार तत्कालीन मन्त्री श्रेष्ठ छड्के अनुगमन गर्न एनओसी शाखा पुगिन् । मन्त्रालयका अधिकारीका अनुसार एनओसीको समस्याबारे बारम्बार गुनासो आएपछि श्रेष्ठ दुई पटक छड्के अनुगमनमा गइन् ।

क्यान्टिनको निगरानी गर्न त्यो समयमा शिक्षा मन्त्रालयले एउटा टोली पनि खटाएको थियो । ‘गोप्य रूपमा टोली खटेको थियो,’ मन्त्रालय स्रोतले भन्यो ।

एनओसी लिन लाइन लागेका विद्यार्थीहरू (फाइल तस्वीर)

तत्कालीन मन्त्री श्रेष्ठ छड्केमा जानुअघि एनओसी शाखाका प्रमुख थिए, उपसचिव शान्तिराम पौडेल । शाखाभित्र बेथिति देखेपछि उनी राजीनामा दिएर हिँडेका थिए ।

मन्त्रालय स्रोतका अनुसार उनले राजीनामा दिनुको कारण एनओसी शाखा घुसको अखडा भएकाले आफू फस्ने डरले दिएका थिए ।

‘उहाँ (शान्तिराम पौडेल)को समय हुँदा नै किन राजीनामा दिनुभयो, खोजीको विषय हो । उहाँले म जस्तो स्वभाव भएको मान्छे, त्यस्तो अड्डामा बस्न सक्दिनँ भन्नुहुन्थ्यो,’ शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने ।

यसबारे तत्कालीन एनओसी शाखाका प्रमुख पौडेलले एनओसीमा समस्या रहेको र सुधार आवश्यक रहेको बताए । तर आफ्नो राजीनामाबारे पौडेलले धेरै कुरा खुलाउन चाहेनन् ।

शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार उनले राजीनामा दिनुको कारण एनओसी शाखामा आफ्नो कोडबाट अर्कोले कम्प्युटरमा इन्ट्री गरेर फसाउने डरले हो ।

‘एउटाको कोड अर्कोले चोरेर इन्ट्री गर्ने रहेछ । त्यसैले उहाँ (शान्तिराम) बस्न चाहनुभएन,’ मन्त्रालयका एक अधिकारीले भने ।

त्यसपछि मन्त्री श्रेष्ठ मन्त्रालयबाट बाहिरिन् । र, एमालेबाट विद्या भट्टराई शिक्षामन्त्री बनिन् । भट्टराईलाई पनि एनओसीको विषयमा विद्यार्थीको गुनासो धेरै आयो ।

मन्त्रालयका अधिकारीका अनुसार तत्कालीन मन्त्री भट्टराई पनि अनुगमनको लागि दुई पटक एनओसी शाखा पुगिन् ।

‘कर्मचारीले अड्काएर एनओसी समयमा एप्रुभ भएन भन्ने गुनासो धेरै आएको थियो । त्यसैले तत्कालीन मन्त्री भट्टराई अनुगमनमा जानुभएको थियो,’ शिक्षा मन्त्रालयका अधिकारीले भने ।

तत्कालीन मन्त्रीहरूलाई विद्यार्थीको अर्को गुनासो आउने गरेको थियो । ‘कन्सल्टेन्सी सञ्चालकहरू गयो भने तत्काल काम हुन्छ । सेवाग्राही विद्यार्थी गयो भने समयमा हुँदैन,’ पीडित विद्यार्थीहरूले गुनासो गर्थे ।

२०८० साल फागुनयताका विभागीय मन्त्रीहरू सुमना श्रेष्ठ र विद्या भट्टराई पनि एनओसीको यो विषयमा जानकार थिए र समाधानको पहल पनि गरेका थिए । अन्तिममा बहालवाला शिक्षामन्त्री रघुजी पन्तले छानबिन समिति बनाएर काम थालेका छन् । तस्वीर :अनलाइनखबर ।

एनओसी शाखाका एक पूर्वकर्मचारीका अनुसार एनओसी त एउटा सानो शाखा हो, तर बाहिर यसको सञ्जाल ठूलो छ ।

‘एनओसी त एउटा अफिस हो । यसको बाहिर सञ्जाल ठूलो छ । त्यो भनेको कन्सल्टेन्सी हो । सुरुमा विद्यार्थी आउँछन्, काम हुँदैन । अनि विद्यार्थी कन्सल्टेन्सी पुग्छन् र कन्सल्टेन्सीले सबै सेटिङमा मिलाउँछन्,’ ती कर्मचारीले भने ।

घुसको अड्डा बनेको एनओसी शाखाका कर्मचारी अन्यत्र सरुवा हुन पनि मान्दैनन् । सरुवा भएका कर्मचारी समेत शाखामै अड्डा जमाएर बसेका छन् ।

अहिले शाखामा रहेका एक कर्मचारीले पनि कन्सल्टेन्सीले प्रभावमा पारेर मिलाउने गरेको स्वीकार गरे । ‘कन्सल्टेन्सी सञ्चालकहरूले कर्मचारीलाई प्रभावमा पार्छन् । उनीहरूले आएर घान हाल्ने र मिलाउन काम गर्छन्,’ ती कर्मचारीले भने ।

अनलाइनखरको सम्पर्कमा आएका ती कर्मचारीले एनओसीका लागि पेस गरेको अधिकांश कागजात ‘फेक’ हुने गरेको समेत दाबी गरे । नक्कली कागजात पेस गरेको पत्र अनलाइनखबरले प्राप्त गरेको छ ।

‘फेक कागजात कन्सल्टेन्सीले बनाउने हो । अफर लेटर काटकुट गरेर मिलाउने गरेको छ,’ एनओसी शाखाका बहालवाला एक अधिकृतले भने, ‘विद्यार्थीबाट कन्सल्टेन्सीले लाखौं रकम उठाएका हुन्छन् ।’

तर, यसरी कागजात पेस गरेर एनओसी बनाउँदा कर्मचारीले ३० हजारदेखि १ लाखसम्म हात पर्ने गरेको तथ्य सार्वजनिक भइसकेको छ । घुसको कारोबार भने क्यासभन्दा पनि अनलाइनबाट हुने गरेको पाइएको छ । ‘क्यासभन्दा ई–सेवा र ई–बैंकिङबाट कारोबार बढी हुन्छ,’ सानोठिमी स्रोतले भन्यो ।

विदेशमा अध्ययन गर्न जाने विश्वविद्यालय र नेपालको विश्वविद्यालयको क्रेडिट आवर, कोर्स लगायतका नमिलेका विषयमा घुस लेनदेन गरेर एनओसी बनाउने गरेको पाइएको छ ।

विद्यार्थी जुन देशको विश्वविद्यालयमा जाने, हो त्यहाँको क्रेडिट आवर नेपालसँग मिल्ने हुनुपर्छ । अनि मात्र एनओसी लिन पाइन्छ । यतिसम्म कि, मेडिकलको अध्ययन गर्न जान चिकित्सा शिक्षा आयोगबाट योग्यतापत्र लिएपछि मात्र एनओसी झिक्न मिल्छ । तर आयोगबाट योग्यतापत्र नलिई घुस खुवाएर सिधै एनओसी लिने गरेको भेटिएको छ ।

घुसको अड्डा बनेको एनओसी शाखाका कर्मचारी अन्यत्र सरुवा हुन पनि मान्दैनन् । सरुवा भएका कर्मचारी समेत शाखामै अड्डा जमाएर बसेका छन् ।

यो विषय शिक्षा मन्त्रालयमा बारम्बार आइनै रह्यो । तत्कालीन मन्त्री भट्टराईले राजीनामा दिएपछि एमालेकै रघुजी पन्त शिक्षामन्त्री बने । उनलाई पनि एनओसी समस्याबारे गुनासो आएपछि अनुसन्धान गर्न कार्यदल गठन गरेका छन् ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल बनेको छ । कार्यदलले मंगलबार नै एनओसी शाखा प्रवेश गरेर अनुसन्धान सुरु गरेको छ । मन्त्रालय स्रोतका अनुसार शंकास्पद कर्मचारीलाई काममा रोक लगाएको छ ।

‘शाखाका केही कर्मचारीलाई काममा रोक लगाइको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

कार्यदलका संयोजक काप्री एनओसी शाखामा देखिएको समस्या पहिचान गर्ने काम भइरहेको बताउँछन् । ‘त्यहाँको सिस्टम के रहेछ, कसरी काम भइरहेको छ भनेर अध्ययन गरिरहेका छौँ,’ उनले भने ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?