+
+
Shares
फलोअप :

एनओसीमा घुस : सानोठिमी शाखा पुग्यो छानबिन कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते २१:३१

३ असार, काठमाडौं । विद्यार्थीहरूले एनओसी लिने क्रममा भएको अनियमितताबारे छानबिन गर्न गठित कार्यदल सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा प्रवेश गरेको छ ।

एनओसीमा देखिएको बेथितिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले शाखामा पुगेर अनुसन्धान सुरु गरेको हो ।

कार्यदल मंगलबार दिउँसो सानोठिमी पुगेर त्यहाँको अवस्थाबारे बुझेको हो ।

‘सेवा प्रवाह कसरी भइरहेको छ, समस्या के हो भन्नेबारे बुझ्न गएका हौँ,’ कार्यदलका संयोजक काप्रीले अनलाइनखबरसँग भने, ‘डाइग्नोसिस गर्नुपर्ने छ । गरिहराइमै पुगेर गर्छौं ।’

विदेशमा अध्ययन गर्न जाने विश्वविद्यालय र नेपालको विश्वविद्यालयको क्रेडिट आवर, कोर्स लगायतका नमिलेका विषयमा घुस लेनदेन गरेर एनओसी बनाउने गरेको पाइएको छ ।

विद्यार्थी जुन देशको विश्वविद्यालयमा जाने हो त्यहाँको क्रेडिट आवर र नेपालसँग मिल्ने हुनुपर्छ । अनिमात्र एनओसी लिन पाइन्छ ।

यतिसम्म कि, मेडिकलको अध्ययन गर्न जान चिकित्सा शिक्षा आयोगबाट योग्यतापत्र लिएपछि मात्र एनओसी झिक्न मिल्छ । तर आयोगबाट योग्यतापत्र नलिइ घुस खुवाएर सिधैं एनओसी लिने गरेको भेटिएको छ ।

शाखाका कर्मचारी र कन्सल्टेन्सीको मिलेमतोमा देश अनुसार फरक फरक रकम लिएर एनओसी दिने गरेको तथ्य अनलाइनखबरले सोमबार प्रकाशित गरेको थियो ।

प्राप्त रिपोर्टअनुसार, ३० हजारदेखि १ लाखसम्म घुस रकम लिने गरेको भेटिएको थियो ।

यो विषयमा अनुसन्धान र छानबिन गर्न कार्यदललाई एक महिनाको समय दिइएको छ । कार्यदललाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निश्पक्षरुपमा छानबनि र अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

अनियमितता भएको भेटिएमा कारबाहीको लागि सिफारिस समेत गर्ने अधिकार समेत कार्यदललाई दिइएको छ ।

घुसको अड्डा बनेको एनओसी शाखाका कर्मचारी अन्यत्र सरुवा हुन पनि मान्दैनन् ।

सरुवा भएका कर्मचारीसमेत शाखामै अड्डा जमाएर बसेका छन् । शाखाले वैदेशिक अध्ययनको लागि वार्षिक १ लाख बढी एनओसी जारी गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?