
News Summary
Generated by OK AI. Editorially reviewed.- हामीले शनिबार बिहान काठमाडौंको सूर्यविनायकबाट घ्याम्पे डाँडाको यात्रा सुरु गर्यौं।
- हामीले जंगलको गोरेटो र मोटर बाटो दुबैबाट यात्रा गरेका थियौँ, र आश्रम र जिपलाइन देख्यौँ।
- जंगलमा चराचुरुङ्गीको आवाज सुन्दै रुखहरूको अवलोकन गर्दै हिँड्दा रमाइलो लागिरहेको थियो ।
शनिबारको फुर्सदमा कहाँ जाने ? हामीले नजिकको गन्तव्य छान्यौँ, घ्याम्पे डाँडा । काठमाडौंबाट नजिकको दूरीमा पर्ने यो ठाउँ शहरको परिवेशभन्दा फरक लाग्छ । यस्तो लाग्छ, कि मानौं हामी कुनै दूर दराजको घना जंगलमा पुगेका छौं ।
प्रायः हरेक घुमघाममा बाबा, आमा, भाइ र म जाने गर्दथ्यौं तर आज भने घरमा आफन्त आउने भएकाले आमा हामी सँगै जान नपाउने हुनाले अलि नरमाइलो भइरहेको थियो । शनिबार घुम्न जानका लागि शुक्रबार बेलुका नै भोलिपल्टको सबै तयारी गरेर हामी छिट्टै सुत्यौँ ।
शनिबार बिहान ५ बजे नै बाबा र आमा उठेर घुम्न जाँदाका लागि खाना, खाजा तयार गरी हामीलाई उठाउनुभयो । करिब बिहान ६:३० बजे हामी कालिकास्थान, काठमाडौंदेखि सूर्यविनायकसम्म स्कुटर चढेर गयौँ । सूर्यविनायक मन्दिरको नजिकै रहेको पार्किङ स्थलमा स्कुटर पार्क गरेर मन्दिर दर्शन गर्यौँ ।
बाबाले भन्नुभयो- सूर्यविनायक मन्दिर परापूर्व कालदेखि नै अत्यन्त प्रशिद्ध रहेको छ । बोल्ने उमेर भएर पनि नबोलेका बच्चाहरूलाई त्यहाँ ल्याउँदा बोल्छ भन्ने विश्वास रहेछ । मन्दिर दर्शन गरिसकेपछि हामी उकालो लाग्यौँ ।
अलि माथि पुगेपछि डाँडोमा पुग्ने दुई बाटो रहेछन्-एउटा मोटरबाटो हुँदै जाने, अर्को जंगलको बीचबाट गोरेटो बाटो हुँदै माथि जाने ।
हामी जगंलको गोरेटो बाटो हुँदै जाने सोचमा थियौँ । तर म र भाइ अलि साना मान्छे देखेर होला, हामीले सोधेका मध्ये धेरैले मोटर बाटो हुँदै जान सुझाव दिए ।
उनीहरूले भने-जंगलको बाटो निकै ठाडो र चिप्लो छ । हामी गाडी गुड्ने मोटर बाटो हुँदै अगाडि बढ्यौँ ।
मन्दिर देखि अलि अगाडि पुगेपछि एउटा कुकुर समेत उकालोमा हाम्रो साथी बनेको थियो । उकालो हिँड्नु आफैँमा गाह्रो भए पनि जंगलमा हुने चराचुरुङ्गीको आवाज सुन्दै विभिन्न रुखहरूको अवलोकन साथै स्वच्छ हावामा हिँड्दा रमाइलो लागिरहेको थियो ।
हामीले घरबाट लगेको मकै खादैँ गफ गर्दै हिँड्यौ । तलबाट हिँडेको करिब २ घण्टामा हामी घ्याम्पे डाँडामा रहेको पाइलट बाबा आश्रममा पुग्यौँ ।
पाइलट बाबा आश्रम २०७० सालमा गुरु सोमनाथ गिरी(पाइलट बाबा) ले बनाउनुभएको रहेछ ।
पाइलट बाबा गुरुले नेपालका धेरै ठाउँ घुमेर आश्रम बनाउँन त्यो ठाउँ चयन गरेको कुरा बाबाले सुनाउनुभयो । आश्रम वरिपरि घुमघाम गरिसकेपछि हामी फेरि उकालो लाग्यौँ । केही माथि डाँडामा ठूलो घ्याम्पो बनाइएको रहेछ । त्यो ठाउँमा पुगेर हामीले केही फोटा समेत खिच्यौँ ।
त्यो ठाउँबाट हामी फेरि उकालो हिँड्यौँ । केही अगाडि जिपलाइन पनि चलाइएको रहेछ । डाँडामा खाना, खाजा खाने पसलदेखि ठूला होटल समेत रहेछन् ।जिपलाइन भएको ठाउबाट अगाडि पुगेपछि हामी धेरै थाकेको र भोकाएकाले एकछिन छहारी बसी घरबाट लगेको फलफूल र खाजा खायौँ । खाजा खाइसकेपछि हामी फर्किने निर्णय गर्यौँ । हामी सूर्यविनायकतर्फ फर्कियौँ ।
फर्किने बेला भने हामी जंगलको बीचबाट मानिस मात्र हिड्न मिल्ने ठाडो बाटो हुँदै तल झर्यौँ । हिजोआज त्यो बाटो खासै मान्छे नहिँड्ने रहेछन् । सुरुमा बाटो अत्यन्तै अफ्ठ्यारो भएता पनि अलिकति तल झरेछि भने सजिलै रहेछ ।
हिँड्ने क्रममा बाटो सजिलो, अप्ठ्यारो दुवै खालको हुन्छ भन्ने कुरा हामीले यसअघि घुम्न जाँदा नै थाहा पाएका थियौँ । त्यसैले यस्ता कुरामा बानी परिसकेको थियो । यसरी हिड्दा जतिसुकै असहजिलो भए पनि त्यसमै रमाउँदै हिँड्नुको बेग्लै आनन्द हुन्छ ।
हामी जंगलको यात्रा सकिसकेछि फेरि घरबाट लगेको रोटी, तरकारी खाएर सूर्यविनायक मन्दिरनेर राखिएको स्कुटी चढी घर फर्कियौँ ।
(हर्षित खनाल श्रृष्टि एकेडेमीमा अध्ययनरत विद्यार्थी हुन् )
प्रतिक्रिया 4