
५ असार, काठमाडौं । ज्योतिबहादुर भण्डारीले फरार रहेकै अवस्थामा पनि मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारीहरूलाई ठगेको पाइएको छ ।
ललितपुर महानगरपालिका-५ महालक्ष्मीस्थानमा कार्यालय रहेको मितेरी सहकारी ठगी प्रकरणमा फरार रहेका बेला भण्डारीले विदेशबाटै पुन: यो सहकारी ठगेको खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा एसपी युवराज खड्काले भण्डारीले विदेशबाटै संस्थाका पदाधिकारीलाई ठगी गरेको बताए ।
‘सहकारी ठगी आरोपमा फरार रहेकै बेला विदेशबाट प्रलोभन देखाएर पुन: ठगी गरेको देखिएको छ । यसबारेमा विस्तृत अनुसन्धान गर्दैछौं,’ प्रवक्ता खड्काले भने ।
सहकारी ठगी गरी भागेर थाइल्यान्ड, मलेसिया, भियतनाम हुँदै कम्बोडियासम्म पुगेका भण्डारीले विदेशमै रहेका बेलामा मितेरी सहकारीका संस्थालाई अनलाइनमार्फत सम्पर्क गरी प्रलोभन (फिसिङ) मा पारी ठगी गरेको एसपी खड्काको भनाइ छ ।
बर्दियाको बाँसगढी गाउँपालिका-७ का ४२ वर्षीय भण्डारीले आफूले हिनामिना गरेको रकम तिर्ने भन्दै ३ करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ ठगी गरेको एसपी खड्काको भनाइ छ । सहकारीको रकमबाहेक उक्त रकम ठगी गरेको भन्दै संस्थाका पदाधिकारीले सीआईबीमा निवेदन दिएका छन् ।
यसरी ठगी गर्ने भण्डारी सहकारीसँग प्रत्यक्ष रूपमा कुनै साइनो नभएका व्यक्ति हुन् । सहकारीको महाप्रबन्धक रहेकी ज्योति गुरुङ (नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी)मार्फत उनले मिटर ब्याजमा रकम लिएको स्रोत बताउँछ ।
रकम ज्योतिले निकाल्ने र महँगो ब्याजदरमा भण्डारीलाई दिने गरेको पाइएको प्रहरीले बताएको छ । पछि उनीहरूबीच घनिष्ट सम्बन्ध बनेपछि ज्योतिले सहकारीको रकम अपचलन गरेर भण्डारीलाई दिने र उक्त रकम भण्डारीमार्फत क्रिप्टोमा लगानी गरी विदेश पुग्ने गरेको बताइएको छ ।
रकम अपचलन गरेपछि दुवैजना फरार भएर विदेश पुगेको र ज्योति गुरुङले नै मितेरी सहकारीका पदाधिकारीलाई भण्डारीसँग सम्पर्क गराएको पाइएको एक अधिकृतले बताए । ‘आफूले लगेको रकम सबै उहाँ (ज्योतिबहादुर भण्डारी)ले तिर्नुहुन्छ भन्दै ह्वाट्स एपमार्फत सम्पर्क गराएकी थिइन् । पछि उल्टै भण्डारीले हामीलाई ठगे,’ संस्थाका पदाधिकारीले सीआईबीमा भनेका छन् ।
ज्योति गुरुङमार्फत मितेरी सहकारीका पदाधिकारीहरूसँग सम्पर्क भएपछि भण्डारीले अनलाइन फिसिङमा पारेर उल्टै ठगी गरेको सीआईबीका अधिकारीहरू बताउँछन् ।
ज्योति गुरुङले भनेअनुसार आफूले सहकारीलाई तिर्नुपर्ने सावाँ-ब्याजसहितको रकम १४ करोड ८१ लाख रुपैयाँ तिर्ने बताएका भण्डारीले केही दिनमै रकम हालेको भन्ने विश्वा सहितका कागजात संस्थाका पदाधिकारीलाई पठाएको एक अनुसन्धान अधिकारीले बताए ।
मितेरी सहकारीका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंकको इन्द्रचोकस्थित शाखामा ३३ करोड ११ लाख रुपैयाँ पार्सल गरी पठाएको छु भन्दै उनले ह्वाट्स एपमार्फत संस्थाका पदाधिकारीलाई बताएका थिए ।
त्यसका लागि टोकनको फोटो समेत पठाएर विश्वास दिलाउने काम गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तिर्नुपर्ने १४ करोड ८१ लाख रुपैयाँभन्दा बढी रकम पठाएको र रकम बुझ्नका लागि ट्याक्ससमेत तिर्नुपर्ने भन्दै पटकपटक उल्टै रकम हाल्न लगाएर करिब साढे ३ करोड ठगी गरेको प्रहरीको भनाइ छ ।
उक्त रकम नेपालमा आफन्तको खातामा जम्मा गर्न लगाउने र विदेशमा रहेका नेपालीमार्फत भण्डारीले रकम विदेशमै बुझ्ने गरेको एक अनुसन्धान अधिकृतले बताए ।
अरुको राहदानी र नागरिकता दुरुपयोग
भण्डारीले अन्य व्यक्तिको नागरिकता र राहदानी समेत दुरूपयोग गरी ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । ठगीबाट बच्न उनले अन्य व्यक्तिका राहदानी, नागरिकता कीर्ते गरी वैयक्तिक विवरण समेत फरकफरक राखेर ठगी गर्ने गरेको प्रहरीको दाबी छ ।
यसरी बनाइएका राहदानी र नागरिकतामार्फत आपराधिक गतिविधि गरेको प्रहरीको भनाइ छ । त्यसो त भण्डारी स्वयंको नागरिकता र राहदानी नै दुईवटा रहेको तथ्य प्रहरीले फेला पारेको छ ।
ज्योतिबहादुर भण्डारीकै नाममा कास्की र बर्दियाबाट दुई फरकफरक नागरिकता र राहदानी लिएको पाइएको प्रवक्ता खड्काले बताए ।
कास्कीबाट उनले १०५४८… नम्बरको राहदानी लिएका थिए । उनै भण्डारीले बर्दियाकै अर्कै नम्बर ११३६४… नम्बरको राहदानी लिएको प्रहरीको भनाइ छ ।
त्यसैगरी नागरिकता पनि दुई फरक नम्बरबाट दुई फरक जिल्लाबाट लिएको पाइएको छ । कास्कीबाट १५८८३ नम्बरको नागरिकता लिएका भण्डारीले बर्दियाबाट भने १४८०३ नम्बरको नागरिकता लिएको प्रहरीको भनाइ छ ।
दुई-दुई वटा राहदानी र नागरिकता लिएका उनी आफू अनकुल फरक-फरक राहदानी र नागरिकता प्रयोग गर्ने गरेको तथ्य प्रहरीले फेला पारेको छ ।
लिखत र ठगीमा अनुसन्धान
अरुको राहदानी कीर्ते गरी ठगी गरेको, आफ्नो समेत फरक-फरक मितिका नागरिकता र राहदानी भेटिएपछि सीआईबीले उनीमाथि लिखतसम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाएको छ ।
सीआईबीका प्रवक्ता खड्काका अनुसार भण्डारीमाथि नागरिकता र राहादानीको कसुरमा छुट्टै अनुसन्धान अघि बढाइएको छ । यता सहकारी ठगी प्रकरणमा पनि उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
लिखत र सहकारी ठगी प्रकरणमा भण्डारीविरुद्ध सीआईबीले ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ । कम्बोडियाबाट पक्राउ परी बुधबार राति काठमाडौं ल्याइएका भण्डारीलाई आज बिहीबार सीआईबीले जिल्ला अदालत काठमाडौं उपस्थित गराएको थियो ।
सो क्रममा लिखत र ठगी कसुरमा अनुसन्धान गर्न अदालतले पहिलो पटक सात दिनको म्याद दिएको प्रहरीले बताएको छ ।
सीआईबीले आफ्नो अनुसन्धान प्रक्रिया सकिएपछि भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाउनेछ । काठमाडौंमा पनि उनीविरुद्ध ठगीकै तीनवटा जाहेरी रहेको प्रहरीले बताएको छ ।
कम्बोडियामा पनि कानुन उल्लंघन गरेको आरोप
सहकारी ठगी प्रकरणमा मुछिएर फरार रहेका भण्डारी लामो समयसम्म गुपचुप नै थिए । उनी थाइल्यान्डमा रहेको भन्ने अपुष्ट सूचना नेपाल प्रहरीसँग थियो । मोटो रकम ठगेर सम्पर्कविहीन भएपछि भण्डारी र ज्योति गुरुङको खोजी गर्न भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)मार्फत डिफ्युजन नोटिस जारी भएको थियो । त्यति हुँदा पनि उनी पक्राउ नपरेपछि रेड नोटिसका लागि पत्राचार गरिएको थियो ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले १३ कात्तिक २०८१ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । रेड नोटिस जारी भएको करिब ८ महिनापछि भण्डारी कम्बोडियामा पक्राउ परे ।
नेपाल प्रहरी स्रोतका अनुसार कम्बोडियाको कानुन उल्लंघन गरेपछि उनी त्यहाँ पक्राउ परेका थिए । यसको सूचना पाएपछि नेपाल प्रहरीले इन्टरपोलमार्फत कम्बोडियाको प्रहरीसँग सम्बन्य गरेर नेपाल ल्याएको हो ।
‘उनले (भण्डारी)ले कम्बोडियाको कानुन उल्लंघन गरेपछि त्यहाँ पक्राउ परे । तर के-कस्तो अपराध उनले गरेका थिए भन्ने हामीलाई पूर्ण जानकारी दिइएको छैन,’ नेपाल प्रहरीको इन्टरपोल शाखाका एक अधिकारीले भने ।
खुल्ला त नयाँ तथ्य ?
यो सहकारीमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको पनि नाम जोडिँदै आएको छ । नाम जोडिएपछि सीआईबीले दुई पटक धनराजलाई कार्यालयमै बोलाएर केरकार समेत गरेको थियो ।
पछिल्लो पटक गत २४ पुसमा सीआईबीले करिब ५ घण्टा धनराजसँग केरकार गरेको थियो । कांग्रेस सांसद समेत रहेका गुरुङमाथि सीआईबीले सहकारी रकम अपचलन र उनले तिरेको रकमको बारेमा सोधपुछ गरेको थियो । धनराजले एकै दिन ६८ लाख २६ हजार ९१४ रुपैयाँ सहकारीमा बुझाएका थिए ।
१७ वैशाख २०८१ मा चारवटा चेकमार्फत १४ लाख रुपैयाँका दरले ५६ लाख र एउटामा भने १२ लाख २६ हजार ९१४ रुपैयाँ रकम जम्मा भएको थियो । धनराजको तर्फबाट भनेर अरू नै व्यक्तिले एनएमबी बैंकको चेकमार्फत डिपोजिट गरेका थिए । उनले भने ऋण लिएको भन्दै बताउँदै आएका छन् ।
यता, धनराजले भने आफू उल्टै पीडित रहेको दाबी गर्दै आएका छन् । ऋण लिएर सहकारीको रकम तिरेको दाबी धनराजको छ ।
यो सहकारी ठगी प्रकरणमा भण्डारी पक्राउ परेपछि थप नयाँ तथ्य खुल्न सक्ने अनुमान गरिएको छ ।
मितेरी सहकारीमा १४४ जना बचतकर्ता छन् । बेलायती र भारतीय सेनामा काम गरेका पूर्वसैनिकहरू मिलेर यो सहकारी खोलेका थिए । सहकारीको १४ करोड बढी रकम अपचलन भएको आरोप छ । यो सहकारीका अध्यक्ष ८२ वर्षीय कुम्भराज गुरुङ हुन् । उनले पनि धनराजले सुरुमा रकम तिर्छु भन्दै आश्वासन दिएको पछि उल्टै श्रीमतीसँग सम्बन्धविच्छेद गरेकाले आफूसँग रकम नमाग्न भनेको बताएका थिए ।
सूर्य थापा नेतृत्वको संसदीय समितिमा कुम्भराजले उक्त कुरा खुलासा गरेपछि यो प्रकरणमा अनुसन्धान गर्न सीआईबीलाई भनिएको थियो । त्यसपछि अहिले सीआईबीले मितेरी सहकारीको अनुसन्धान गरिरहेको छ । सहकारीको रकम ठगी भएपछि धनराज र ज्योतिबीच सम्बन्धविच्छेद भएकाले यसलाई समेत संकाको रूपमा हेरिएको छ । यो विषयका तथ्यहरू भने अनुसन्धानपछि मात्रै खुल्ने भएकाले अहिले केही भन्न नसकिने सीआईबीका प्रवक्ता खड्का बताउँछन् ।
प्रतिक्रिया 4