Comments Add Comment

प्रधानमन्त्री जङ्गिएपछि मधेसी मोर्चासँगको वार्ता भाँडियो

PM Kp oli

राजकुमार श्रेष्ठ

७ माघ, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच शीर्ष स्तरमा भएको वार्ता तिक्ततापूर्ण रुपमा टुङ्गिएको छ । बालुवाटारमा भएको बैठकको सुरुवात सौहाद्रपूर्ण रुपमा नै भएको थियो । र, प्रधानमन्त्री ओलीले दीर्घकालीन समाधान खोजेर जाऔं भन्दै बैठक सुरु गरे ।

लगत्तै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले कार्यदलमा जहाँ पुगेर छलफल अडि्कएको छ, त्यहाँबाट सम्वाद सुरु गरौं भनेपछि दुबै तर्फका कार्यदल सदस्यले ब्रिफिङ गरे । तीन दलबाट एमाले उपाध्यक्ष एवं रक्षामन्त्री भीम रावल र मधेसी मोर्चाका नेता हृदयेश त्रिपाठीले ब्रिफिङ गरे ।

त्यस क्रममा तीन दलको सहमति हुन नसक्ने निष्कर्ष निकालेको हो ? भन्दै मोर्चाले प्रश्न गरेको थियो । जवाफमा तीन दलका नेताहरुले मधेसी मोर्चाले राखेको छ बुँदेलाई आफूहरुले राजनीतिक संयन्त्रको टीओआरका रुपमा मानेको र त्यो सकारात्मक भएको बताए ।

बैठकमा एमाले उपाध्यक्ष भीम रावलले बोलिरहेका थिए, प्रधानमन्त्री ओलीले म केही कुरा भन्छु भन्दै बीचमा हस्तक्षेप गरे । जब ओली बोल्न थाले वैठकको माहौल एकाएक विग्रियो ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सुरुमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि खनिए । उनले संविधान संशोधन विधेयक आफूहरुको सहमति विना नै कांग्रेस नेतृत्वको अघिल्लो सरकारले पेश गरेको र त्यही कारण अहिले गाईजात्रा भएको टिप्पणी गरे ।

त्यसपछि उनले यो संशोधन पारित भएपछि आन्दोलन रोकिन्छ भन्दै मधेसी मोर्चाका नेताहरुलाई प्रश्न गरे । उनले तीन दलबीच संविधान संशोधन विधेयक जस्ताको तस्तै पारित गर्ने सहमति भइसकेको दाबी गरे । आन्दोलन रोकिँदैन भने समानुपातिक समावेशी कसलाई मतलव छ भन्दै प्रधानमन्त्री जङ्गएिपछि वार्ताको वातावरण विग्रिएको एक नेताले बताए ।

बैठकको आहृवानकर्ता प्रधानमन्त्री ओली आफैं आक्रामक रुपमा प्रस्तुत भएपछि मधेसी मोर्चाका नेताहरु रिसाए । तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले हामी चिया खान मात्र आएका होइनौं भन्दै प्रतिवाद गरे ।

कांग्रेस र एमाओवादी पनि ओलीसँग रुष्ट

मधेसी मोर्चासँगको वार्तामा प्रधानमन्त्री ओलीको प्रस्तुतीलाई लिएर कांग्रेस र एमाओवादी रुष्ट बनेका छन् ।

बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले संविधान संशोधनसँग मधेसी मोर्चालाई अनावश्यक रुपमा नजोड्न आग्रह गरे । प्याकेजमा सहमति भए मात्र मोर्चासँग सहमति हुन्छ भन्ने आफूलाई थाहा रहेको भन्दै उनले छलफल जारी राख्नु पर्नेमा जोड दिए ।

एमाओवादीले समानुपातिक समावेशी आफूलाई मतलव भएको भन्दै प्रधानमन्त्रीलाई जवाफ दिएको छ । साथै ओलीले भनेजस्तो संविधान संशोधन विधेयक यथास्थितिमा पास गर्ने कुनै सहमति नभएको माओवादीले बैठकमा प्रष्ट पारेको स्रोतले बताएको छ ।

कांग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले पनि ओलीको प्रस्तुतीको विरोध गरे । विगतका कुुरालाई कोट्याएर वार्ताको वातावरण विगारेर के गर्न खोजेको भन्दै उनीहरुले प्रश्न गरे ।

वार्ता भाँडिएपछि मधेसी मोर्चाका नेता एवं फोरम अध्यक्ष उपेन्द्र यादवले यो सरकारबाट निकास असम्भव रहेको बताए ।

यादवले भने-आउने वित्तिकै चिया खाइयो । त्यसपछि प्रवचन सुनियो । उडेर हिँडिँदैछ ।’ उनले अघि भने-जहाँ चार महिना अघि सुरु भयो, त्यही छ । मलाई के अनुभूति भयो भन्दा मधेसी, आदिवासी जनजाति वा सिमान्तकृतको समस्या हल गर्न सक्दैन । त्यो क्षमता नै छैन कि जस्तो लागेको छ ।’

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले मधेसी मोर्चाका नेताहरु बाहिरिएपछि बसेको प्रमुख दलहरुको बैठकले मधेसी मोर्चासँग शीर्ष तहको वार्तालाई निरन्तरता दिने र प्याकेजमा सहमतिको प्रयास जारी राख्ने प्रमुख दलहरुको निर्णय भएको जानकारी दिए ।

कांग्रेस नेता महेश आचार्यले संशोधन विधेयकमा पनि परिमार्जन गर्न प्रयास गर्ने सहमति भएको बताए ।

एमाले उपाध्यक्ष भीम रावलले सरकारको तर्फबाट समस्या समाधान गर्न अत्यन्त गम्भीर रहेको बताए । तर, सीमांकनबारे मिल्न नसकेको बताए । मधेसी मोर्चाले कार्यदल स्तरमा तराई मधेसमा दुई प्रदेश लेख्ने प्रस्ताव ल्याएको तर, आफूहरुले अस्वीकार गरेको बताए ।

मधेसी मोर्चाले तराई मधेसको दुई प्रदेशको सीमांकन परिमार्जन गर्ने विकल्प पनि ल्याएको उनले बताए ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment