Comments Add Comment

अनुभूतिः क्यानडाबाट फर्केर आफुले पढेको विद्यालयमा पुग्दा

जयराम गौतम

jayaramकेही समय अघि क्यानाडाको चार बर्षको बसाईपछि नेपाल गएको थिएँ। आफुले पढेको स्कुल गएर शिक्षकहरुसंग भेट गर्ने मुख्य उद्देश्यले त्यहाँ गएको थिए, बिद्यालय छोडेको २ दशक भन्दा बढी समयपछि।

आफुलाई पढाएका शिक्षकहरु कोही अवकास, कोही सरुवा भएकाले चिनेका शिक्षकहरु त धेरै रहेनछन्, तर पहिल्यैदेखि आफुलाई माया गर्ने प्रधानाध्यापक राजेन्द्र पौडेल (राजु सर) भेटिनु हुन्छ भन्ने थाहा पाएर गएँ भेट गर्न। पढाई तथा जागिरको सिलसिलामा बाहिर बाहिरै भएकाले आˆनो पालाका शिक्षकहरुसंग भेट गर्न तथा विद्यालय जाने साइत जुरेको थिएन।

अझै पनि आˆनो थातथलो उतै भए पनि चाडबाडका बेला घर पुगिने र त्यो बेला बिद्यालय बिदा भएका कारण बिद्यालयको बाटो हिंडे पनि शिक्षकहरुसंग भेटघाट हुन नसकेको हो। यदाकदा केही शिक्षकहरुसंग भेट हुँदै नभएको चाँही हैन ।

राजुसर, गणित शिक्षक देवनारायणसर र आफ्नै समकालिन तर हाल त्यहींका शिक्षक लगायतसंग भेटघाट भयो। कुराकानीका सिलसिलामा थाहा भयो, अवकास हुनुअघि बिद्यालयमा एउटा कम्प्युटर ल्याव बनाउने राजुसरको चाहानाबारे।

‘तिमीहरु बहिर बस्छौ, तिमीहरुले चाहृयो भने एउटा ल्याव बनाउन मद्दत गर्न सक्छौ भन्ने मेरो आशा छ’ भन्ने सरको बचनले घोच्यो। कुनै सोच बिना त्यहाँ पुगेको मैले सहयोग गर्ने नगर्ने बारे बचन दिन सक्ने सम्भावना थिएन। तर, पनि कतै साथीभाईहरुसंग पहल गर्दा सहयोग जुटाउन सकिन्छ कि भन्ने कुरा मनमा आएकाले सरलाई कम्प्युटर ल्यावको आवस्यकता र बनाउन आग्रह गर्ने किसिमको एउटा अपिल मोवाईल फोनमा भिडियो रेकर्ड गरें। र, तथा केही पनि फोटोहरु खिचेर घर फर्किंए। तीनमहिनाको बसाई सकेर क्यानडा नफर्किउञ्जेल कम्प्युटर ल्यावका बारेमा त्यति धेरै गम्भिर भएर कहिल्यै सोचिन पनि ।

मेरी दिदि पाँच कक्षाबाट ६ कक्षामा उक्लिएपछि म पनि निमावी तहको पढाई हुने तर घरबाट अलि टाढाको सिंगिया ७ स्थित जनता निमावीमा सरुवा भएँ, कक्षा ५ मा। पछि त्यही स्कुलको पनि बढुवा हुँदै गयो र प्रस्तावित मावि भयो। दिदि र मैले एकै बर्ष एसएलसी पास गरेपछि स्कुलसंगको औपचारिक सम्बन्ध पनि सकियो। टेष्ट परीक्षा पास हुने बिद्यार्थीलाई तल्लो कक्षाका बिद्यार्थीले बिदाई गर्ने चलन अन्र्तगत बिदाई भएपछि लामो समय स्कुलमा पाईला राख्ने मौका पनि जुरेको थिएन। एसएलसीको सेन्टर हाम्रो स्कुलमा थिएन। एसएलसीपछि चरी पखेटा हालेर काठमाण्डौ उडिहालियो। एसएलसीको प्रमाणपत्र पनि आफैं लिन जान सकिन।

यहाँ निर मैले पढ्दाका बेलाको स्कुलको थोरै चर्चा गर्न उपयुक्त ठानें। पर्खाल नभएको खुला ठाउँमा टिनको छाना भएको, काठका फल्याकले बारेको भए पनि बाहिर भित्र देखिने, भुईमा प्लासटर नगरेका कक्षाकोठा, ट्वाईलेटको त कुरै नगरौं खानेपानी खोज्न पनि स्थानीयहरुका इनार तथा ट्युवेल धाउनु पर्थ्यो। तर, दिनरात बिद्यार्थीले उनीहरुको पानीको मुहान चलाउँदा पनि उनीहरुले झिँझो मानेको मलाई थाहा भएन। मान्थे की?

studentबिद्यालयमा सानातिना समस्याहरु त आईरहन्थे तर, यो भने अली बेग्लै किसिमको थियो। बैशाख जेठको कुरो हुँदो हो, त्यो बेला बिहानी कक्षा हुन्थे। बिद्यालय समयमा बिहानै त्यहाँ पुग्दा स्कुलको अवस्था देखेर रुन मन लाग्ने अवस्था थियो। अघिल्लो राति आएको आँधिसहितको पानीले स्कुलको आधाजसो छानो उडाईदिएछ। त्यो दिन पढाई हुने कुरै भएन, त्यतीकै घर फर्कियौं।

रेडियो नेपालले गाउँका खवर थाहा पाउने कुरै भएन, अहिले जस्तो त्यो बेला एफएम रेडियो थिएनन्, फोन त गाविसभरी नै थिएन। थाहा छैन कति दिनपछि स्कुल सुचारु भयो र पढ्न पाईयो। अचेल जस्तो कुखुरा किचिएको निहुँमा बजार र स्कुल बन्द गर्ने कुसंस्कार त्यो बेला शुरु भईसकेको थिएन। शिक्षक वा बिद्यार्थीको मृत्यु हुँदा बाहेक एकदिन पनि बिद्यालय अनाहकमा बन्द हुने गरेको मेरो स्मरणमा छैन।

तर, खुसीको कुरा हामीले पढ्दाताका भन्दा भन्दा अहिले धेरै परिवर्तन भएछ। कक्षा कोठाहरु पक्कि भएछन्। पर्खाल पनि लगाईएछ। पानी पिउन अन्त जानु नपर्ने भएछ। शौचालय बनेछ। राजुसरले कम्प्युटर ल्याव बनाउन सहयोग गर्न आग्रह गरेपछि सोचें, सहयोग गर्न पाए गाउँका बालबालिकाहरु कम्प्युटर साक्षर हुन सक्छन्। इन्टरनेट समेत जोडिदिन पाए, उनीहरुले पनि यो प्रबिधि बारे जान्न पाउने थिए। संसार देख्न पाउने थिए।

मलाई अहिले पनि याद आउँछ। एउटा जादुगर आएको थियो हाम्रो स्कुलमा। त्यो तमासा देखाउन आएकोथ्यो, उसले तमासा देखायो हामी बिद्यार्थीलाई। मलाई उसले अगाडी बोलाएर एउटा सोली जस्तो बस्तु राखेर मेरो अगाडीबाट तुरुरु पानी झार्दा रमिते बिद्यार्थीहरुले मैले पिसाव गरेको ठानेर मज्जाले हाँसेको र म आफु चाँही लाजले रातो पिरो भएको। त्यस्ता सानातिना कुराहरु पनि हाम्रा लागि महिनौ कुरा गर्ने बिषयबस्तु हुन्थे।

अहिले त्यो स्कुलमा पढ्ने मजदुर बाबुआमाका छोराछोरीहरुलाई इन्टरनेटका माध्यमबाट बिज्ञानका चाखलाग्दा कुराहरु, संसारका मानिसका कथाहरु, समुन्का, हिमालका आरोहणबारे देखाउन पाए कति रमाउँथे र कति धेरै कुराहरु सिक्थे होलान्। गणित र अँग्रेजी बिषयमा उपलब्ध अनेक राम्रा शिक्षकहरु इन्टरनेटमा उनीहरुको पहुँच पुगे कति सजिलै सिक्थे होलान् उनीहरुले। कल्पना गर्दैमा मनमा रमाइलो लाग्न थाल्यो।

सिकाउने क्षमताले कति धेरै फरक पार्छ भन्ने कुरा मेरो मानसपटलमा यदाकदा दौडने गर्छ। एकजना चौधरी सर थिए हामीलाई कक्षा ९ मा बिज्ञान र गणित पढाउँथे। गणितमा उनको सिकाउने कमजोर क्षमताका कारण हामी पीडित थियौं। बिद्यालय ब्यवस्थापनले उनको निम्छरो क्षमताका बारेमा थाहा पाए छ की किन हो केही महिनापछि ति शिक्षक बिज्ञान शिक्षणमा मात्रै सिमित हुन पुगे। अर्का शिक्षक आए चौधरी नै तर, अघिल्ला चौधरी भन्दा धेरै गुणा सिपालु। देवनारायणसर अहिले पनि सोही बिद्यालयमा शिक्षण गर्छन्। यिनले अंक गणित पनि सजिलै, ज्यामिति पनि सजिलै र बिज गणित पनि सजिलै सिकाएपछि गणित बिषय प्रायको फेवरट सब्जेक्ट हुन पुगेको थियो। आजकल इन्टरनेटमा पनि धेरै सिपालु शिक्षक पाइन्छन्, जसले बिद्यार्थीहरुलाई सजिलै सिकाउन सक्छन्। कम्प्युटर ल्याव नै त्यसका लागि पहिलो पाइलो हुने थियो।

क्यानडा फर्किएपछि म भन्दा अघिल्लो ब्याचका हाल अमेरिकमा बसोबास गर्ने हेमनारायण चौधरीसंग कम्प्युटर ल्यावको सम्भावनाबारे सल्लाह गरें। हेमजी त म भन्दा बढी उत्साहित पाएँ। उहाँको उत्साह र जाँगरपछि मैले केही सामग्री लेखें। फेसबुक पेज बनाए र पोष्ट गरें।

पेजमा राजुसरले कम्प्युटर ल्याव बनाउन आहृवान गरेको भिडियो तथा बिद्यालयसंग सम्बन्धिन फोटोहरु अपलोड गरें। अहो कत्रो उत्साह, साथीहरुको। पेजमा जोडिन आउने र यो काम गर्न सकिन्छ भन्ने सकारात्मक सोच साथीभाईहरुले राखे। केही पुर्व बिद्यार्थीहरु पनि थिए, जसले यो काम गर्न सकिंदैन, गरे पनि दिगो हुँदैन, पैसाका कुरामा कसैलाई बिस्वास गर्न सकिंदैन भन्नेहरु पनि थिए। यसो भन्नेमा धेरै जसो स्थानीय रुपमा राजनीतिक रुपमा सक्रिय धेरै थिए। यस्ता कुरालाई चिर्दै अघि बढ्नु थियो। आशंका ब्यक्त गर्नेहरुमा चन्दादाताहरु पनि थिए। उनीहरुको आसय स्कुललाई सहयोग नै गर्न पर्दैन भन्ने थियो। उनीहरुको आशंका सतप्रतिशत नजरअन्दाज गर्न नहुने किसिम कै थिए। तर, उनीहरुको कुरा सुन्दै अघि बढियो।

हाम्रो टिममा सकारात्मक सोच्ने धेरै भएकाले एकले अर्कालाई सहमत गरायौं, हाम्रा पाईला रोकिएनन्। सामग्री स्कुललाई हस्तान्तरण गरेपछि त्यसको उचित प्रयोगको चिन्ता हामी सवैलाई रहिरहने छ। तर, बिद्यालय ब्यवस्थापन समिति छ, स्थानीय अभिभावकहरु छन्, अनेक छापे दलहरु पनि छन्, त्यसमाथि शिक्षकहरु पनि छन्, त्यसैले उचित प्रयोग गर्ने गराउने दायित्व त उनीहरुको नै हो। हामी पाँचै महादेशमा फैलिएका करिव चौध देशका पुर्व बिद्यार्थी तथा चन्दादाताहरुले गर्न सक्ने त केही पनि छैन जस्तो मलाई लाग्छ।

अनि शुरु भयो, सहयोग घोषणाको चरण। हेमजी अमेरिकाबाट २ सय अमेरिकी डलर सहयोग गर्ने घोषणा गर्नुभयो। त्यसपछि अरु साथीहरुले पनि आफुले सक्ने सहयोग घोषणा गर्न थाले।

यतिबेलासम्म पनि हामीलाई थाहा थिएन, हाम्रो योजना कत्रो हुन्छ भन्ने। एकपछि अर्को गर्दै जाँदा ३२ जनाबाट नगद र कम्प्युटर नै गरी झण्डै साढे पाँचलाख रुपैया संकलन गर्न सफल भयौं। कम्प्युटर ल्यावलाई सहयोग गर्ने मध्ये धेरै जसो देश बाहिर बसोबास गर्नेहरु छन्। उनीहरु मध्ये अधिकांस ल्यावको काममा भौतिक रुपमा सहयोग गर्न असमर्थन छन्। तर, सवैको सदिक्षा छ, यो काम सफलतापूर्वक सम्पन्न होस् र नियमित कक्षा सञ्चालन होस् भन्ने।

बिदेशबाट पठाएको पैसा मनिट्रान्सफरबाट बैंक खातामा राख्ने, ग्रुपका अरु साथीहरुलाई खबर गर्न, बिद्यालयसंग समन्बय गर्न, कम्प्टर खरिद तथा फर्निचर खरिद जस्ता काममा नेपालमा रहेका पुर्व विद्यार्थीहरु रमेश रेग्मी, दिपेन्ऽ चौधरीले महत्वपूर्ण भूमिका निर्वाह गरे।

यो अभियानको एउटा असाध्यै सकारात्मक लागेको कुरा सो बिद्यालयका पुर्व बिद्यार्थीहरुकाबीचको चिनजान र नविकरण पनि हो। अध्ययन, रोजगार र बसाईसराईका कारण उत्तर अमेरिकादेखि अस्ट्रेलीया, गल्फदेखि अपि|mका अनि युरोपसम्मका साथीभाईहरुलाई एउटै फेसबुकले जोड्न सफल भयो, त्यो पनि एउटा राम्रो कामका लागि। यो अभियान हाम्रो क्षेत्रमा पहिलो हो जस्तो लाग्छ। यसबाट आसपासका अभियन्ता तथा सहयोगीहरुलाई सिकाई भयो भने पनि यो अभियानको सफलता मान्नु पर्छ।

हाम्रो कामले मुर्त रुप लिएकोमा सन्तोष लागेको छ। स्कुलमा ल्यावका लागि भनेर एउटा अलग्गै कोठा छुट्याईएको छ। त्यो ल्यावमा १२ बटा कम्प्युटर राखिएको छ। बिद्यार्थीहरुलाई कम्प्युटरको नियमित तर, अत्यन्त आधारभुत परिचय दिन कक्षा हुन थालेको प्रधानाध्यापक पौडेलले जानकारी दिनु भएको छ।

तर, कम्प्युटर किनेर स्कुलको ल्यावमा राखेको चार महिना भइसक्यो। तर, औपचारिक हस्तान्तरण गर्न अझै सकिएको छैन। ल्याव र ल्यावमा रहेका १२ वटा कम्प्युर तथा फर्निचरहरु स्कुललाई एउटा औपचारिक समारोह गरेर हस्तान्तरण गर्ने सहयोगी सवैको धोको छ। तर, अलिअलि स्कुल प्रसासन र धेरै चाँही मधेस आन्दोलनलाई दोष दिनु पर्छ होला यो काम अझै सम्पन्न नहुनुमा।

तर, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षसंग कुराकानी गरेपछि चाँडै हस्तान्तरण तथा ल्यावको दीर्घकालसम्म उचित सञ्चालन हुने आशा पलाएको छ। ‘बिद्यालयमा बिजुलीको समस्या भए हामी सोलार राखेर भए पनि कम्प्युटर कक्षा नियमित चलाउँछौं’, उनले भने, ‘बिद्यार्थीलाई कम्प्युटर सिकाउने शिक्षक जनशक्ति पनि हामीसंग छ’, अध्यक्ष पशुपति सिग्देलले बताए।

अझै पनि साथीहरु गुनासो गरिरहेका छन्, हामीले यत्रो ठुलो सहयोग गर्यौं तर, स्कुल प्रसासन निस्त्रिmय भयो भन्ने। न स्कुलले कुनैदिन कसैलाई फोन गरेर अभियानका बारेमा चासो लियो नत एउटा हस्तान्तरण कार्यक्रम राखेर औपचारिक रुपमा सामानहरु नै जिम्मा लिएको छ। यसरी बेवास्ता गर्ने स्कुलले कसरी कम्प्युटर कक्षा नियमित चलाउला भन्ने। साथीहरुको गुनासो आशंका गलत होस् भन्ने हामी सवैको चाहना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment