Comments Add Comment

मधेसी मोर्चाको निर्णयः नाकामा धर्ना बस्दैनौं

Madeshi-Morcha-Meeting

फाइल फोटो 

२५ माघ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल भारतसँगको सीमा नाकाहरुमा धर्ना नदिने निर्णय गरेको छ । उसले लाठी जुलुस प्रदर्शन लगयायतका दबावमुलक कार्यक्रम भने घोषणा गरेको छ ।

वीरगञ्ज नाका खुलेपछि आरोप प्रत्यारोपमा उत्रिएका मधेसी मोर्चाका शीर्ष चार नेताको बैठक सोमबार विहान बसेको थियो ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको बैठकमा चार दलका चार अध्यक्षहरु मात्र सहभागी थिए ।

मधेसी मोर्चाले दिउँसो विज्ञप्ति जारी गरेको छ र दबावमुलक आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । मधेसी मोर्चाले फागुन ५ गते तराई मधेसका जिल्ला सदरमुकामहरुमा लाठी जुलुस प्रदर्शन गर्ने र ७ गते विरोधसभा गरेर आफ्नो ११ बुँदे मागबारे हस्ताक्षर संकलन गरेर जनमत बुझ्ने निर्णर्य गरेको छ ।

मधेसी मोर्चाले राजश्व नतिर्ने, राजमार्ग बन्द गर्ने र सीमा नाकामा धर्ना दिने कार्यक्रम भने स्थगित गरेको छ ।

सीमांकन हेरफेर लगायतको माग राख्दै आन्दोलनमा उत्रिएको मधेसी मोर्चाले असोज ७ गतेदेखि नेपाल भारतका सीमा नाकाहरुमा धर्ना दिँदै आएको थियो । तर, वीरगञ्ज बाहेकका नाकामा पछिल्ला दिनमा कुनै अवरोध थिएन । वीरगञ्ज नाका पनि शुक्रबार खुलेको छ ।

स्थानीयबासी र व्यापारीको बलमा वीरगञ्ज नाका खुलेपछि मधेसी मोर्चाका कार्यकर्ताले फेरि बन्द गराउने प्रयास समेत गरेका थिए । तर, असफल भएपछि मधेसी मोर्चाले अब तत्काल नाका अवरुद्ध नगर्ने नीति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment