+
+
Shares

बेइजिङमा परराष्ट्रमन्त्री : नेपालमा अर्थतन्त्र विकास गर्ने सुनौलो समय आएको छ

भनिन्छ नि, ‘रोम एकै दिनमा बनेको थिएन’, त्यसैगरी नेपाल पनि केही व्यक्तिले एकै दिनमा बनाउन सक्दैनन् । यो हामी सबैको सामूहिक प्रयासबाट मात्र सम्भव छ- नेपालभित्र र नेपालबाहिर रहने सम्पूर्ण नेपालीहरूको प्रयासबाट।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले पुराना तथा ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन प्रक्रिया अगाडि बढाएको बताए।
  • विदेशमा रहेका नेपालीको समस्या समाधान र गुनासो सुनुवाइका लागि परराष्ट्र मन्त्रालयले 'मोफा मित्र' एप सञ्चालनमा ल्याएको छ।
  • मन्त्री खनालले विदेशमा रहेका नेपालीलाई त्यहाँ आर्जन गरेको ज्ञान, सिप र पूँजी नेपालको विकासमा लगानी गर्न आह्वान गरे।

३१ जेठ, बेइजिङ । परराष्ट्रमन्त्री शिशिर खनालले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन प्रक्रिया अघि बढेको बताएका छन्।

चीन सरकारको औपचारिक भ्रमणका क्रममा आइतबार बेइजिङ पुगेका मन्त्री खनालले नेपाली दूतावासले आयोजना गरेको नेपाली डायस्पोरासँगको अन्तर्क्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले भ्रष्टाचार निर्मूलीकरणलाई प्रमुख प्राथमिकतामा राखेको प्रस्ट पारेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएपछि सुशासनको चुनावी बाचाअनुरूप काम भइरहेको उनले दाबी गरे।

‘हामीले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन हुनुपर्छ भनेर बाचा गरेका थियौँ। अहिले हाम्रो सरकार बनिसकेपछि एउटा कार्यदल बनेको छ, जसले २०६३ पछिका भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा छानबिनको प्रक्रिया अगाडि बढाएको छ,’ मन्त्री खनालले भने।

लामो समयदेखि शासन सत्ता सञ्चालन गर्नेहरूले देशलाई सही शासन नदिएको निष्कर्षसहित आफूहरू सरकारमा गएको बताउँदै उनले सार्वजनिक सेवा प्रवाहलाई झन्झटरहित बनाउन प्रविधिको प्रयोगमा जोड दिइएको जानकारी दिए।

परराष्ट्रमन्त्री खनालले विदेशमा रहेका नेपालीहरूका गुनासो सुन्न र समस्याको तत्काल समाधान गर्न परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ नामक एप सञ्चालनमा ल्याएको जानकारी गराए।

उनले भने, ‘कसैलाई विदेशमा समस्या पर्दा त्यो एपमार्फत दर्ता गरेमा दूतावासहरूसँग तुरुन्तै समन्वय गरी समाधानको प्रयास सुरु हुन्छ। हामी परिणाममुखी काममा उन्मुख छौँ र केही समयमै जनताले अनुभूत गर्ने गरी परिणाम दिनेछौँ।’

परराष्ट्रमन्त्री खनालको सम्बोधनको पूर्ण पाठः

एउटा छोटो सूचनाका आधारमा पनि आज यति धेरै सङ्ख्यामा यहाँहरू जम्मा भइदिनुभएको छ। आफ्नो व्यस्तताका बाबजुद महत्त्वपूर्ण समय निकालेर यहाँ आउनुभएकोमा म हार्दिक आभार प्रकट गर्न चाहन्छु। जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका सिलसिलामा म आज दिउँसो मात्रै यहाँ आइपुगेको हुँ। आउनेबित्तिकै राजदूतावास आएर यहाँको कामकारबाहीबारे ब्रिफिङ लिने र यहाँहरूसँग भेटघाट गर्ने अवसर पाएँ।

यहाँहरूले चीनमा गरिरहनुभएको काम र अनुभवबारे जानकारी लिने मेरो अपेक्षा छ। मैले यो कार्यक्रम अलि बढी अन्तरक्रियात्मक हुन्छ भन्ने सोचेको थिएँ। परराष्ट्रमन्त्रीको जिम्मेवारी अलि बढी औपचारिकतामा बाँधिने हुँदा मलाई एकोहोरो बोल्न मात्रै केही अप्ठ्यारो लाग्छ। त्यसैले म यसलाई मिश्रित मोडेलमा लैजाने प्रयास गर्दै छु।

यहाँहरू विभिन्न क्षेत्रमा काम गरिरहनुभएको छ- कोही विश्वविद्यालय र अनुसन्धान संस्थामा आबद्ध हुनुहुन्छ, कोही विद्यार्थी हुनुहुन्छ, कोही महत्त्वपूर्ण व्यापार–व्यवसायमा हुनुहुन्छ त कोही कटिङ एज साइन्स एन्ड टेक्नोलोजी को क्षेत्रमा अनुसन्धान गरिरहनुभएको छ। यहाँहरूको कुरा सुन्न पाएको भए मलाई मन्तव्य राख्न अझ सहज हुन्थ्यो होला।

आज चीन विश्वको जुन स्थानमा छ, यस्तो मुलुकमा आएर आफ्नो क्षमता, ज्ञान र सिपलाई जसरी प्रयोग गरिरहनुभएको छ, त्यो आफैँमा पनि नेपालको प्रतिनिधित्व हो। यहाँहरूले आफ्नो पेसागत संलग्नतामार्फत चीन र विश्व समुदायलाई पुर्‍याइरहनुभएको योगदानले नेपाल र नेपालीको चिनारी बढाएको छ। यसका लागि म मेरो व्यक्तिगत र नेपाल सरकारका तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु।

चुनावी वाचा र सुशासनको संकल्प

आज हामी नेपालको राजनीतिको एउटा विशेष परिस्थिति र मोडमा छौँ। चार वर्षअगाडि जन्मिएको एउटा राजनीतिक दल, यति छोटो समयमै ठूलो जनमतसहित नेपालको शासन सत्ता सञ्चालन गर्ने स्थानमा पुगेको छ। म आफैँ पनि काठमाडौँ क्षेत्र नम्बर ६ बाट दोस्रोपटक निर्वाचित सांसदका रूपमा प्रतिनिधित्व गर्दै छु।

निर्वाचनको अभियानका क्रममा घरदैलो जाँदा मैले एउटा कुरा गहिरोसँग महसुस गरेँ- नेपालबाहिर रहनुभएका नेपालीहरूको ‘यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् घन्टीलाई भोट हाल्नू’ भन्ने अभियानको ठूलो असर थियो। आज जुन जनादेश देखियो, त्यसमा विदेशमा रहेका नेपालीहरूको ठूलो हात छ भन्नेमा मलाई कुनै दुबिधा छैन।

म ४५ दिन जति दैनिक १२ देखि १४ घण्टा पैदल यात्रा गर्थेँ। घरदैलो अभियानका क्रममा हरेक दिन कुनै न कुनै घरमा विदेशमा रहनुभएका कोही न कोहीसँग मेसेन्जरमा कुरा हुन्थ्यो। दिउँसोको समयमा आमाहरू आफ्ना छोराछोरीसँग फोनमा कुरा गरिरहनुभएको हुन्थ्यो।

हामी घरमा पुग्नासाथ आमाहरूले ‘ओइ, तेरो घन्टी आयो, कुरा गर्’ भनेर मलाई फोन दिनुहुन्थ्यो। त्यो अनुभवबाट गुज्रिएको हुनाले, मलाई लाग्छ नेपालबाहिर रहनुभएका नेपालीहरूले हाम्रो पार्टीप्रति जुन सामीप्य र अपनत्व देखाउनुभयो, त्यसका लागि म पार्टीको तर्फबाट एकदमै अनुगृहीत छु।

हामी सरकारमा आइसकेपछि हाम्रा दुईवटा मुख्य चुनावी बाचाहरूमा केन्द्रित छौँ। पहिलो- सुशासन। लामो समयदेखि शासन सत्ता सञ्चालन गर्नेहरूले देशलाई सही शासन दिएनन् भन्ने हाम्रो निष्कर्ष थियो। त्यसैले सुशासन हाम्रो प्रमुख एजेन्डा हो। रास्वपा बनेदेखि नै र अघिल्लो संसद्‌मा हुँदा पनि हामीले भ्रष्टाचारलगायतका विषयमा खरो रूपमा आवाज उठाइरह्यौँ।

सुशासनलाई मैले दुई ढङ्गले परिभाषित गरेको छु: पहिलो, भ्रष्टाचारको विरोध र निर्मूलकरण। हामीले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन हुनुपर्छ भनेर बाचा गरेका थियौँ। अहिले हाम्रो सरकार बनिसकेपछि एउटा कार्यदल बनेको छ, जसले २०६३ पछिका भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा छानबिनको प्रक्रिया अगाडि बढाएको छ।

दोस्रो, सार्वजनिक सेवा प्रवाह। नेपाल सरकारले दिने सेवाहरू (जस्तै: पासपोर्ट, नागरिकता, जग्गा दर्ता आदि) नागरिकले सहज र झन्झटरहित ढङ्गले प्राप्त गर्नुपर्छ। यसका लागि हामीले डिजिटाइजेसन र प्रविधिको प्रयोगमा जोड दिएका छौँ। हामीले कन्सुलर सेवालाई प्रभावकारी बनाउन र विदेशमा रहेका नेपालीहरूका गुनासो सुन्न मोफा मित्र नामक एप लन्च गरेका छौँ।

कसैलाई विदेशमा समस्या पर्दा त्यो एपमार्फत दर्ता गरेमा दूतावासहरूसँग तुरुन्तै समन्वय गरी समाधानको प्रयास सुरु हुन्छ। हामी परिणाममुखी काममा उन्मुख छौँ र केही समयमै जनताले अनुभूत गर्ने गरी परिणाम दिने आत्मविश्वास हामीसँग छ।

आर्थिक समृद्धि र रोजगारीको चुनौती

दोस्रो महत्त्वपूर्ण विषय आर्थिक समृद्धि हो। चुनावको समयमा मेसेन्जरमा कुरा गर्दा धेरै बुवाआमाले मलाई भन्नुभएको थियो- ‘बाबु, विदेशमा भएका हाम्रा छोराछोरी नेपाल फर्कने वातावरण बनाउनुपर्‍यो र नेपालमा भएका छोराछोरी विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्‍यो।’

आज हरेक दिन दुईदेखि तीन हजार नेपालीहरू रोजगारीलगायत विविध कारणले नेपालबाहिर जान्छन्। संसारभरि नेपालीहरूको सङ्ख्या अप्रत्याशित रूपमा बढेको छ। परराष्ट्रमन्त्री हुनुअघि मैले अपेक्षा नै नगरेका मुलुकहरूमा पनि नेपालीहरूको ठूलो उपस्थिति देख्दा म अचम्मित छु।

मोरिससको सरकारले औपचारिक रूपमा ८,००० नेपाली छन् भन्छ, तर त्यहाँका साथीहरूले २०,००० भन्दा बढी भएको बताउँछन्। सेसेल्सजस्तो देशमा ४,००० नेपाली छन्। रोमानियामा ५०–५५ हजार भनिन्छ, तर त्यहाँका विदेश सहायक मन्त्रीले ७० हजार रहेको बताए। क्रोएसिया, बोस्निया, ग्रिस, टर्कीजस्ता देशहरूमा पनि ३०–३५ हजार नेपालीहरू रोजगारीसँग जोडिएर रहेका छन्।

नेपालमै नेपालीहरूलाई रोक्ने हो भने, हाम्रो श्रम बजारमा बर्सेनि प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनुपर्ने हुन्छ। तर आज हामी मुस्किलले ३० देखि ६० हजार रोजगारी मात्र सिर्जना गर्न सकिरहेका छौँ। यो ठूलो डेफिसिट (घाटा) हो। चुनावमा बुवाआमालाई दिएको बाचा पूरा गर्ने हो भने नेपालमै साढे चार लाख नयाँ रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ, जुन एकदमै ठूलो चुनौती हो।

अहिले नेपाल डेमोग्राफिक डिभिडेन्ड (जनसाङ्ख्यिक लाभांश) को शिखरमा छ। हाम्रो औसत उमेर २६ वर्ष छ। तर, नेपालको जनसङ्ख्या वृद्धिदर निरन्तर घटिरहेको छ। आगामी २० वर्षमा हामी पनि एजिङ पपुलेसन (बुढ्यौली उन्मुख जनसङ्ख्या) तर्फ जानेछौँ। त्यसपछि काम गर्न सक्ने जनसङ्ख्या घट्नेछ र सामाजिक सुरक्षा तथा स्वास्थ्य हेरचाहको दायित्व बढ्नेछ।

त्यसैले अर्थतन्त्रको विकास गर्न हामीसँग अहिले एउटा सुनौलो समय छ, जुन सधैँ रहँदैन। यो चुनौती रास्वपा सरकारको मात्र होइन, हामी सबैको साझा चुनौती हो। यो राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको विषय पनि हो।

विदेशमा रहेका नेपालीलाई आह्वान

मेरो यहाँहरूसँगको मुख्य अपेक्षा भनेको- यहाँहरूले विदेशमा सिकेको ज्ञान, सिप र व्यावसायिक क्षमतालाई नेपालले कसरी उपयोग गर्न सक्छ भन्ने हो। परराष्ट्र मन्त्रालय गैरआवासीय नेपाली हरूसँग प्रत्यक्ष जोडिएको मन्त्रालय पनि हो। नेपालबाहिर रहेका नेपालीहरूको ज्ञान र सिपलाई सही अर्थमा जोड्न सक्यौँ भने मात्र हामीले छोटो समयमै नेपाललाई आर्थिक समृद्धिको बाटोमा लैजान सक्छौँ।

म आफैँ पनि तपाईँहरूजस्तै विदेशमा पढेको र काम गरेको व्यक्ति हुँ। म स्वेच्छाले सबै कुरा छोडेर नेपाल फर्किएको हुँ। तर, सबै मानिसले त्यसरी नै छोड्नुपर्छ भन्ने छैन। म परराष्ट्रमन्त्रीको हैसियतले सोध्न चाहन्छु- नेपाल सरकारले कस्तो कानुनी र व्यावहारिक वातावरण निर्माण गरिदियो भने तपाईँहरूलाई आफ्नो ज्ञान र सिप नेपालका लागि योगदान गर्न सहज हुन्छ ?

उदाहरणका लागि, नेपाल र चीनबिचको व्यापार घाटा अत्यन्तै उच्च छ। हामी चीनबाट धेरै आयात गर्छौँ, तर निर्यात नाममात्रको छ। तपाईँहरूले चीनमा बसेर सिकेको ज्ञान, प्रविधि वा पर्यटनको अनुभवलाई नेपालको हितमा कसरी प्रयोग गर्न सकिन्छ ?

पश्चिम मुलुकमा रहेका नेपालीहरूको मुख्य माग भनेको संविधानले दिएको गैरआवासीय नेपाली नागरिकता को पूर्ण कार्यान्वयन हो। उनीहरूले यो अधिकार पूर्ण रूपमा एक्टिभेट (सक्रिय) भयो भने लगानी ल्याउन सहज हुने बताइरहेका छन्। चीनको हकमा यो कति सान्दर्भिक छ, मलाई थाहा छैन। त्यसैले म तपाईँहरूकै अनुभव र सुझाव सुन्न चाहन्छु।

चीन र नेपालबीचको दूरी धेरै छैन। बेइजिङबाट प्रत्यक्ष उडान नभए पनि ट्रान्जिटमार्फत ६-७ घण्टामै नेपाल पुग्न सकिन्छ। यो निकटता र हाम्रो ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई हामीले नेपालको हितमा प्रयोग गर्नु छ। म नेपाल सरकारको प्रतिनिधिको रूपमा स्पष्ट भनिरहेको छु- ‘हामीलाई तपाईँहरूको साथ चाहिएको छ।’

जसरी चुनावमा भोट दिएर ठूलो योगदान गर्नुभयो, तपाईँहरूको जिम्मेवारी त्यतिमै सकिएको छैन। तपाईँहरूले हामीलाई कानुन र नीति बनाउने ठाउँमा पुर्‍याइदिनुभएको छ। हामी कानुनी संरचनालाई सहज बनाउन प्रतिबद्ध छौँ। तर, योगदान गर्ने कुरामा तपाईँहरूको जिम्मेवारी अझै बाँकी छ।

जसरी भनिन्छ नि, ‘रोम एकै दिनमा बनेको थिएन’, त्यसैगरी नेपाल पनि केही व्यक्तिले एकै दिनमा बनाउन सक्दैनन्। यो हामी सबैको सामूहिक प्रयासबाट मात्र सम्भव छ- नेपालभित्र र नेपालबाहिर रहने सम्पूर्ण नेपालीहरूको प्रयासबाट।

त्यसैले, म तपाईंहरूलाई नेपाल बनाउने अभियान मा सहभागी हुन निम्तो दिँदै यहाँबाट बिदा हुन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?