Comments Add Comment

नाकाबन्दी खुलेपनि ग्यास सहजै नपाइने

GAS LINE (7)२७ माघ, काठमाडौं । वीरगञ्ज नाका खुलेपनि ग्यासको आयात बढ्न नसकेको नेपाल आयल निगमले जनाएको छ । यसैका कारण सहजरुपमा ग्यास कहिलेदेखि पाइन्छ भन्ने अनिश्चित भएको छ ।

भारतीय आयल कर्पोरेशन (आइओसी) ले अझै पूर्ववतः रुपमा ग्यास नदिएका कारण ग्यासको अभाव तत्काल सहज गर्न गाह्रो पर्ने निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए । घिमिरेका अनुसार आइओसीले रिफाइनरीबाट उत्पादन कम भएको भन्दै मागअनुसार ग्यास दिन मानिरहेको छैन ।

आयल निगमलाई पत्र पठाउँदै फेब्रुअरीमा पुरानै कोटा अनुसारको ग्यास दिने प्रतिवद्धता जनाएपनि लोडिङ त्यसअनुसार नदिइएको घिमिरेले बताए ।

वीरगञ्ज खुलेपछि ग्यास बुलेटलाई नेपाल छिर्न सहज भएपनि भारतबाट लोडिङ नै पर्याप्त नभएको आयल निगमको तर्क छ । मंगलबार पनि आईओसीले २५ बुलेट ग्यास दिएको थियो । सामान्य अबस्थामा भारतबाट ५५ देखि ६० बुलेटमा ग्यास लोड हुन्थ्यो ।

निगमसँग पनि छैन उत्तर

नाकाबन्दी जारी रहेको सय दिनसम्म मागको ११ प्रतिशत मात्रै ग्यास दिएको भारतले पछिल्ला दिनमा ३५ देखि ४५ प्रतिशत मात्रै लोड दिइरहेको छ ।

अहिले पनि भारतबाट मागको ५० प्रतिशत पनि लोड नभएकाले बजारमा ग्यास वितरण सहज गर्न नसकेको प्रवक्ता घिमिरेले बताए ।

अझै कहिलेसम्म ग्यास वितरण सहज हुन्छ भनेर निगमले भन्न सकेको छैन । आइओसीले ग्यासको लोडिङ नबढाएसम्म ग्यास सहज रुपमा पाउन उपभोक्तालाई कठिन हुने देखिएको छ ।

एक सातापछि सबै पम्पबाट तेल दिने बताएको नेपाल आयल निगमले ग्यासका लागि ‘टोकन नम्बर लिएर लाइनमा बस्ने दिन सकियो’ भन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment