Comments Add Comment

खाडी र मलेसियाको विकल्प खोज्दै हजारौं नेपाली पुगे नयाँ-नयाँ देशमा

Nepali worker over world

२८ माघ, काठमाडौं । देशभित्र भनेजस्तो काम नपाएपछि मध्य एसियाका खाडी मुलुकलाई अधिकांश नेपाली युवाले नियति र बाध्यताको गन्तब्य बनाएका छन् ।

भाषा र संस्कृति पटक्कै नमिल्ने, राम्रो तलब नपाइने, जोखिम बढी हुने र ठगिने खाडीको आम यथार्थलाई नकार्दै नेपाली युवा त्यसको बलियो विकल्प खोजिरहेका छन् ।  त्यसैको परिणाम स्वरुप केही नेपाली आफ्नो व्यक्तिगत प्रयासमा खाडी बाहेकमा विभिन्न वैकल्पिक देशमा कामकै लागि पुगिरहेका छन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको सरकारी तथ्याङ्कलाई आधार मान्दा व्यक्तिगत पहल र प्रयासमा श्रम स्वीकृति लिएर झण्डै ४ हजार नेपाली आकर्षक कमाइ हुने देशहरुमा पुगेका छन् । यसैगरी माग थोरै भएपनि संस्थागत रुपमा म्यानपावरमार्फत खाडी बाहेकका मुलुकमा जाने कामदार पनि बढिरहेका छन् ।

यो ६ महिनाको जापान, अमेरिका, फिनल्याण्ड, बेलायत, क्यानडा, डेनमार्क, हङकङ, सिंगापुर लगायतका देशमा पनि नेपाली युवा कामकै लागि गएका छन् ।

पछिल्लो समयमा खाडीबाटै पनि व्यक्तिगत पहलमा भिसा लिनेहरु बढेको कार्यालयका प्रमुख मधुबिलास पण्डितले बताए ।

‘खाडी नै किन जानु भन्ने भावना बढेको छ । आफ्ना आफन्त र चिनेजानेका मान्छे सम्बन्धित देशमा छन् भने उनीहरुको पहलमा व्यक्तिगत रुपमा भिसा लिएर जानेहरुको संख्या वृद्धि भइरहेको छ’ पण्डितले भने ।

उनले अहिले नै खाडी वा मलेसियाको विकल्प तयार भई नसकेको भए पनि विकल्प खोज्ने क्रम भने बढिरहेको बताए ।

‘सकेसम्म त्यहाँ भन्दा राम्रो कमाइ हुने ठाउँमा जाउँ भन्ने आम चहाना छ । कतिले त्यसलाई विभिन्न माध्यमबाट साकार पारेका छन्’ उनले थपे-‘संस्थागत रुपपमा पनि अन्य मुलुक जान सकिन्छ । तर, व्यक्तिगत पहलमा उड्ने धेरै छन् ।’

कुन-कुन देश पुग्दैछन् नेपाली युवा ?

खाडीको विकल्प खोज्नेमध्येमा इपिएसमार्फत् दक्षिण कोरिया जाने युवाको जमात ठूलो छ । यसैगरी पोर्चुगल, जापान, माल्दिभ्स, इजिप्ट, साइप्रस, अफगानिस्तान, टर्कीलगायतका देशमा संस्थागत रुपमै नेपालीहरु गइरहेका छन् ।

पुस मसान्तसम्म युरोपेली देश जर्मनीका लागि २ सय ४३ जना युवाले श्रम स्वीकृति लिएका छन् । यसैगरी क्यानडाका लागि ४९ जनाले श्रम स्वीकृति लिएका छन् भने इजिप्ट जान ६० जनाले अनुमति पाएका छन् ।

यो अवधिमा तीव्र विकास पछ्याइरहेको छिमेकी चीनमा ५९ जना व्यक्तिगत श्रम स्वीकति लिएर कामका लागि गएका छन् ।

यस्तै अल्जेरियामा २६, अष्ट्रेलियामा ३१, अजरबैजनमा ७, ब्रुनाइमा ७१ र  चिलीमा १५ युवा कामका लागि गएको बैदेशिक रोजगार बिभागको तथ्याङले देखाउँछ ।

कंगोमा २७, डेनमार्कमा २४, फिनल्याण्डमा ३०, इजरायलमा ९६, हङकङमा १६५, इटालीमा १० र फ्रान्सका लागि ९ जनाले  श्रम स्वीकृति पाएका छन् ।

यो अवधिमा जापानमा मात्रै २ हजार १ सय ४७ जना युवा व्यक्तिगत श्रम स्वीकृति लिएर उडेका छन् । पुससम्म जिट्को मार्फत जापान जान ३८ जना युवाले संस्थागत श्रम स्वीकृति लिएका छन् ।

पुस मसान्तसम्मको अबधिमा युरोपेली मुलुक साइप्रसमा ८ सय २२ जना नेपाली गएका छन् । यसमध्ये अधिकंशले संस्थागत श्रम स्वीकृति पाएका छन् । ५ जना युवालाई साइप्रस जान व्यक्तिगत स्वीकृति दिइएको छ ।

दक्षिण एसियाली मुलुक माल्दिभ्समा पनि नेपालीहरु जाने क्रम बढ्दो छ । ६ महिनाको अवधिमा ३ सय १३ नेपालीले माल्दिभ्स गएका छन् । जसमा २ सय ८६ जना युवा व्यक्तिगत पहलमै विदेशिएका छन् ।

यस्तै अमेरिकामा २४३ जना नेपाली श्रम स्वीकृति लिएर गएका छन् । पोर्चुगल १ सय ४ जना गएकोमा संस्थागत रुपमा ८९ र व्यक्तिगततर्फ १५ वटा स्वीकृति दिइएको छ ।

असुरक्षित मानिएको अफगानिस्तानमा ६ महिनाको अवधिमा ६ सय ८१ जना युवा श्रम स्वीकृति लिएरै गएका छन् । जसमा ६९ जना संस्थागत तर्फबाट गएका छन् भने ६ सय १२ युवाले व्यक्तिगत श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

यो अवधिमा सेसेल्समा ८८ जना, सिंगापुरमा ३९, टर्कीमा ३० जना गएका छन् । युगान्डामा १५, बेलायतमा ५३, अजरबैजनमा ७, पोल्याण्डमा ७, मोरिरस ९, रोमानियामा ११ र रसियामा १४ जना पुगेका छन् ।

स्पेनमा २३, तान्जानीयामा ११, श्रीलंकामा १९, पपुवा न्युगेनीमा १३ जना, सोमालियामा १६, केमन इल्याण्ड २४ र मदागस्कर ७ जना नेपाली कामको खोजीमा गएका छन् ।

यसैगरी अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, दक्षिण अफ्रिका, ब्राजिल, कोलम्बिया, जिबुटी, ग्रीस, गुइना, हंगेरी, इन्डोनेसिया र केन्यामा पनि नेपाली कामका लागि गएका छन् ।

लाओस, लाटि्भया, लक्जम्बर्ग, माल्टा, मोजाम्बिक, म्यानमार, नेदरल्याण्ड, नर्बे, पाकिस्तान, स्वीडेन, स्वीटजरल्याण्ड, थाइल्याण्ड, भियतनाम, जाम्बीया, सुडान, मालि, जमैकामा पनि श्रम स्वीकृति लिएर नेपाली काम गर्न गएका छन् ।

कसरी पाउँछन् स्वीकृति ?

आवश्यक डकुमेन्ट पुर्‍याएर आए व्यक्तिगत श्रम स्वीकृति लिन कुनै झन्झट बेहोर्नुनपर्ने वैदेशिक रोजगार विभागको कार्यालय काठमाडौंले जनाएको छ ।

सम्बन्धित कम्पनीसँग भएको सम्झौतापत्र, भिसाको अनलाइन डकुमेन्ट र व्यक्तिगत अन्य कागजात ल्याएपछि सहज रुपमा नै स्वीकृति दिने गरिएको कार्यालय प्रमुख पण्डितले जानकारी दिए । तर, कतिपय भिसामा भने अनुसन्धान गर्ने गरिएको पण्डितले बताए ।

कतिपय देशको हकमा भने एम्बेसीमार्फत पनि भिसा लागेको प्रमाण माग्ने गरिएको छ । विभागले अनलाइन भिसा जारी भएको लोकेसन पनि ट्रयाक गरेर त्यसलाई पुष्टी गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment