Comments Add Comment

प्रचण्डलार्इ खुलापत्रः सरकार हैन, कालोबजारी ढाल्नोस्

आदरणीय कमरेड प्रचण्ड,

देश तबतब दुख्ने गर्दछ, जब जब नेताहरुको अस्वाभाविक हर्कतहरुले सिंहदरबार घेरिन थाल्दछ । लेखकहरुद्वारा लेखिने लेखहरु त्यतिबेलै फुर्ने गर्दछन् ।

Ishwor-Aryalदेशबाहिरै भए पनि धेरैलाई खुलापत्र मार्फत सचेत हुन आग्रह गर्ने म एउटा सामान्य

नागरिक, सत्ताको खेल र पार्टीगत बेमेलको उति जानकार छैन । नेपाली राजनीतिको किङमेकर भनेर चिनिनुहुने तपाईलाई लेखिएको खुला पत्र अवश्य पढ्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

करिब ४५ प्रतिशत नेपालीहरुको हातमा इन्टरनेट छ, त्यसको अर्थ करिब करिब बहुमत नेपालीहरुले हातको फोन या ल्यापटप मार्फत सिंहदरबार वरिपरिको राजनीतिक गन्ध सुँघ्न पाइरहेका छन् । हिजोदेखि व्हास्सै गन्हाएको छ, र चार हजार किलोमिटर पर मरुभुमिको देशमा पनि मैले त्यो दुर्गन्धले गर्दा नाक थुनिरहेको अवस्था छ ।

मलाई याद छ, केपी ओलीले प्रधानमन्त्रीको उम्मेदवारी दिँदाखेरि तपाईले भन्नुभएको थियो, “थुप्रैको प्रधानमन्त्री ग्रन्थी” रसाएको छ भनेर । रसाउन त ढीलोचाँडो तपाइको पनि ग्रन्थी रसाउने रहेछ । हामीलार्इ थाहा छ,राजनीति गर्ने सत्ता प्राप्तिकै लागि हो भनेर,तर अहिले अपर्झट रसाएको तपाइको ग्रन्थीमा विदेशी हर्मोन त मिसिएको छैन ? छ भने कमरेड, त्यो क्यान्सरको लक्षण हो, या स्वाभाविक ग्रन्थीमा एकाएक रस पैदा हुनु भनेको नपुंसकताको पनि लक्षण पनि हुन सक्छ । ख्याल गर्नुहोला ।

प्रष्ट थियो, यो सरकारको गठन कुनै बृहत उद्देश्यका लागि भएकै थिएन, भारतसंगको असमझदारी हल गर्ने र आहतको जीवन बाँचिरहेका जनतालाई राहत दिने मात्र दुइवटा उद्देश्य थिए सरकारका । मलाई लाग्छ ती दुबै अहिलेसम्म पूरा भएका छैनन् । ६/८ महिनामा पूरा हुन्छन् जस्तो पनि लाग्दैन ।

यो भन्दा पहिलेको काङ्ग्रेसको सरकार हुँदा नगरिएका कुन काम यो सरकारले गर्यो ?अथवा अहिले नगरिएका कुन काम काङ्ग्रेसको सरकारले पूरा गरेर देखाएको थियो ? शायद तपाईसँग जवाफ छैन । जनयुद्धकालीन संरचनामा कुनै घरमा भात खानुभन्दा अगाडि र भात खाइसकेपछि बस्ने समीक्षा बैठकहरु अहिले कहाँ गए कमरेड प्रचण्ड ? के अहिलेसम्मका प्राप्त हुन नसकेका उपलब्धीहरु जाबो एउटा सरकार फेरिँदैमा प्राप्त हुन सक्ला र ?  कहिल्यै बहस भयो कि भएन यो देश अहिलेसम्म कसले हाँक्दा बढी खाल्डोमा पर्यो भनेर ?

तपाईसँग सत्ता गठबन्धनका लागि कम्फर्टेबल मेजोरिटी छैन, एमाओवादी तेस्रो दल हो । जुन सरकारलाई तपाईले खराब समयमा काँध हाल्नुभयो, त्यसले राष्ट्रिय स्वाधिनताको मुद्दालाई जनतामा स्थापित गरेको छ । तपाई यसअर्थमा धन्यवादको पात्र पनि हो । संबिधान बनाउने, भारतीय हस्तक्षेपबाट देशलाई स्वतन्त्र बनाउने जस्ता तपाइका पहलकदमीहरु वास्तवमा प्रशंसायोग्य पनि छन् ।

यो सरकारको विकल्पै थिएन भन्ने पनि होइन । तर, गलत समयमा विकल्प खोज्दा तपाइँको र एमाओवादी कार्यकर्ताको मुहारमा देखिने निन्याउरोपनको हिसाब तपाईंले राम्रोसँग गर्न चुक्नुभयो ।

तपाइले धेरै मुद्दामा शेरबहादुर देउवालाई या भनौं अन्य कुनै शक्तिकेन्द्रलार्इ आश्वस्त तुल्याउनुभएको होला । तर, के हामी जनतालाई केही पनि आश्वाशन दिनुपर्दैन ?केन्द्रीय समितिले सरकारबाट हटेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै गर्दा बहुसंख्यक जनताको राय के हो, त्यसका बारेमा छलफल गरेर सम्बोधन गर्नुपर्दैन ?पुनर्निर्माण भएन, कालोबजारी बढ्यो जस्ता सामान्य कारणहरुबाट ढलाउने भनिएको यो सरकारबारे म प्रश्न गर्न चाहन्छु, आजसम्म कुन पार्टीले कालोबजारी रोकेको छ ?

अहिलेको विकल्प सरकार ढाल्नु होइन,कालोबजारी ढाल्नु हो, अकर्मण्यतामा फसेको ब्युरोक्रेसीलाई गति दिनु हो, जनतालाई राहत र पुनर्निर्माण गर्न नदिने शक्तिलार्इ ढाल्ने हो । आवश्यकता एकातिर छ, जनताको चाहना विपरीत सत्ता पल्टाउने खेलमा लागेर तपाईंले आफ्नो खुट्टामा आफैं बन्चरो हान्न त लाग्नुभएको छैन ?

द्वन्दकालीन मुद्दाका उजुरीहरु परे भन्दैमा आत्तिनुभएको हो भने त्यो एउटा कल्पनातीत कुरा मात्र हो । सबैलाई थाहा छ, राज्यको दमनमा बढी मान्छे मारिएका थिए भन्ने कुरा । बाह्र बुँदे समझदारीदेखि नै भएका सम्झौताहरुलाइ शान्तिप्रकृयाको हिस्सा मान्ने भनिएको छ, हुन सक्छ, त्यसका विरोधीहरु थिए होलान्, न्याय खोजेका हज्जारौं योद्दाहरु पनि छन् । जनताको विश्वास जित्नु ठूलो कुरा हो, शक्तिकेन्द्रहरुको विश्वास त तथाकथित नयाँ शक्तिले पनि जितिरहेको नै छ नि ।

कटुवाल प्रकरणपछि गुमेको मौका यदि अहिले मिल्यो भन्नुहुन्छ भने, जनतालाई सार्वजनिक अपिल गर्नुस, हामी पर्खिंदा पर्खिंदा वाक्क भैसक्यौं । पुनर्निर्माण कहिले सकिन्छ ?जनताले गास, बास, कपास कहिले पाउँछन् ?बिदेशिएका ५० लाख युवाहरुले कहिलेसम्म देश फर्किने टिकट काट्दा हुन्छ ? परराष्ट्र मन्त्रालय अगाडि पासपोर्ट लिनेको लाइन कहिलेबाट बन्द हुन्छ ? ठेट कुरा गर्नुस,आफ्ना निर्णयहरु अधिकतम जनताको बलमा लिने गर्नुस् । यी प्रश्नहरुको उत्तर दिनुहोस ।तब मात्र जनताको विश्वसनीयता जित्न सक्नुहुनेछ ।
सबैलाई थाहा भएको कुरा हो, सरकारले छुँ मन्तर गरेर सबै समस्या समाधान गर्न सक्दैन । वर्षैपिच्छे नयाँ सरकार गठन गरेर देशलाई पीडा एकातिर हुन्छ भने, जनताको आशाको सुइ व्हात्तै तल झर्ने गर्दछ । भारतीय हस्तक्षेपको विरुद्धमा भोकै लड्ने उद्घोष गरेका नेपाली जनतालाई अब बन्ने सरकार भारतको निर्देशन बिना बनेको हो भनेर जनतालाई देखाउने कुनै प्रमाण सुरक्षित छ कि नाइ कमरेड ?

ओली तरार्इबासी/ मधेसीहरुको आँखामा खासै नरुचाइएका पात्र हुन् । त्यहाँ तपाइँको सहजताको आवश्यकता थियो । यदि यो सरकारले जनविरोधी काम गर्नै लागेको भए पनि खबरदारी गरेर सत्यतथ्य जनतासामू ल्याउने तपाइको प्रमुख दायित्व बन्ने थियो । लोकतन्त्रमा जनताको सार्वभौमिकताको सुनिश्चितता हुनुपर्दछ, सत्ता ढाल्ने केही माहिरहरुको इशारामा लोकतन्त्र चल्न सक्दैन । गिरिजापथमा नहिँड्न म तपार्इलार्इ सुझाव दिन्छु । मलाई विश्वास छ, एमाओवादी यो निर्णयले जरुर पछुताउने छ ।

संसदीय खेलमा नलागेर प्रत्यक्ष निर्वाचित कार्यकारीको पथमा लाग्नु तपाइका लागि उपयुक्त अवसर थियो । सरकार छोड्नै पर्ने भएदेखि प्रतिपक्षमा बस्ने तपाइको लागि उपयुक्त मौका थियो । विदेशी शक्तिकेन्द्रको चलखेलले आजित बनेका हामी जनतालाई तपाई विदेशी गोटी बन्नुभएको होइन भन्ने कुनै दुर्इवटा प्रमाणहरु सार्वजनिक गर्न सक्नुहुन्छ ?

न सामान्य जनताको दृष्टिमा, न माओवादी कार्यकर्ताको दृष्टिमा, न त भारतकै स्वार्थको दृष्टिमा तपाइँको कदम उपयुक्त छ ।

सरकार छोड्ने हो भने आउनुस, संसद पनि छोड्नुस, अनि तपाई हामी सबै भएर संसदीय अराजकता, रोजगारी, जनजिविका, भ्रष्टाचारको विरुद्ध, आम पीडित जनताका साथमा खुला मन्चमा भेटौं ।

कुनै एक जमाना थियो, माओवादी भनेको परिवर्तनको बाहक हो, भन्ने हुन्थ्यो । तर अहिलेको जमानामा माओवादीलार्इ प्रतिगमनको वाहक बनाएर उभ्याउने चेष्टा नगर्नुस कमरेड, संसदीय खेल खेल्न आउन्न भने बाहिरिनुस, तर अर्काको निर्देशनमा पत्ति फ्याँक्ने काम घातक हुन्छ । सहमतिमा हारेर जोगी हुन तयार हुनु र विमतिमा चट्टानी अडान लिनु, एक राजनेताको लक्षण हो, भारत र भ्रष्टाचारी कांग्रेससँग विमति हुँदाहुँदै उनीहरुका सामु घुँडा टेक्नु एउटा राजनीतिक अपराध हो ।

कमरेड, म अन्तिमसम्म निवेदन गर्न चाहन्छु,तपाइको निर्णय एकपटक पुनर्बिचार गर्नुहोस ।
उही, तपार्इको एक शुभेच्छक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment