Comments Add Comment

आमा मेरी बेस्ट फ्रेन्डः रेखा थापा

'आमाको चाहना सबै पुर्‍याएकी छु'

reha with her mom

मेरो ममी गहनाको सौखिन हुनुहुन्छ । यसपाली आमाको मुख हेर्ने औंशीको अवसरमा कानमा लगाउने गहना र हातमा लाउने बाला किनिदिएकी छु । हरेक वर्ष ममीलाई गहना र कपडा दिने गरेकी छु । सात जोर कुर्ता सुरुवाल किनेकी छु । म प्राय वर्षभरिलाई पुग्ने कुर्ता आजकै दिन दिने गर्छु ।

मलाई ममीले बनाएको खाना असाध्यै मिठो लाग्छ । बिहानैदेखि मलाई मन पर्ने परिकार आफैं बनाउनु भयो, काम गर्ने मान्छेको सहयोगमा । मलाई लाग्छ आमा नै छोराछोरीका लागि सबै भन्दा मिल्ने साथी हो ।

मेरी आमा मसंगै बस्नु हुन्छ । त्यसकारण पनि म आफुलाई भाग्यमानी ठान्छु । आमाले पनि मसँग बसेर ‘इन्ज्वाई’ गर्नु भएको छ । तर, मैले आमाको लागि अझै धेरै गर्न बाँकी नै छ ।

१५ वर्षको उमेरमा म आमाबाट टाढा आएँ । फिल्ममा म एक समय यति ब्यस्त भएँ कि एक वर्षसम्म पनि आमासंग भेट भएन । युद्धस्तरमा काम गर्दाताका प्राय दसैंमा मात्रै घर जान्थें । आमाले भन्नु हुन्थ्यो, ‘छोरी यसपाली त पाँच दिन बस्छेस होला नि ।’

म अँ भन्थेँ । तर, तीन दिन नबित्दै काम सुरु हुन्थ्यो र काममा फर्किन्थें । त्यस्तो अवस्थामा फोनमा कुरा गरेर आमाको न्यास्रो मेट्थें । जतिवेला मलाई आमाको साथ चाहिएको थियो मैले पाइनँ, त्यसकारण पनि अहिले म आमासँगै छु । मैले चाहेर पनि त्यो १५ वर्षे उमेर त फर्काउन सक्दिन तर, आमाको साथमा भने बस्न पाएकी छु ।rekha with mom

मलाई याद छ । म सानो छँदा मलाई जे चाहिन्छ आमासँग माग्थें । दिनु भएन भने झगडा गर्थें । रुन्थेँ र चाहिएको कुरा लिएरै छाडथेँ । मैले पछि थाह पाएँ, बृद्धहरुको मन पनि बच्चाको जस्तै हुँदो रहेछ । तर, उहाँहरु आफुलाई चाहिएको कुरो आफ्नै छोराछोरीसँग पनि माग्न सक्नु हुन्न र माग्दा पाउनु भएने भने पनि बच्चाले झैं रुन पनि सक्नु हुन्न ।

म ती सबै कुरा बुझ्छु । मेरी आमालाई के आवश्यक परेको छ म बुझ्छु, त्यहि कारण मैले मेरी आमालाई मसँगै राखे । मेरा दाईहरु पनि हुनुहुन्छ । उहाँहरुले पनि आमालाई त्यत्तिकै खुसी राख्नुहुन्थ्यो होला । मैले सोचेँ । दाईले बिहे गर्नु भएको छ । त्यसकारण मेरो भन्दा धेरै जिम्मेवारी छ दाईको । भाउजु, केटोकटी सबैको इच्छा पुरा गर्नुपर्छ । त्यसकारण आमालाई मैले राखेँ किनकी म सिंगल छु । मेरो सबथोक आमा हो । आमाले जे माग्नु भएको कुनै चिज दिनका लागि मैले कसैलाई सोधिरहनु पर्दैन ।

आमा मेरोलागि बेस्ट फ्रेन्ड पनि हुनुहुन्छ । म प्राय आफु जहाँ जान्छु आमालाई पनि संगै लिएर जान्छु । हामी सानो छँदा हाम्रा बाबु आमाले हामीलाई कँही जाँदा पनि एक्लै छाड्नु हुन्थेन । त्यही बुझेर मैले पनि मेरी आमालाई एक्लो छाड्दिन ।

कहिलेकाहीँ म सहभागी हुने सबै कार्यक्रममा आमालाई लैजान सक्दिनँ । त्यस्तो वेला आमा मेडीटेशनमा जानु हुन्छ । आमाको भाईबरमा मेरा भन्दा धेरै साथी छन् । आफ्नै साथीहरुसंग कुरा गरेर बिताउनुहुन्छ ।

जे कुराले आमा खुसी हुनुहुन्छ त्यहि काम मैले गर्दै आएकी छु । हरेक दिन बिहानभरि आमासंगै हुन्छु भने साँझमा पनि ७ बजेसम्म घर पुगीसक्छु । तर, कहिलेकाँही अलि ढिला हुन्छ त्यस्तो वेलामा भने आमाको गाली खाने गरेकी छु । आमाले त्यसरी गाली गर्दा पनि रमाईलो लाग्छ । किनकी मेरी आमा हुनुहुन्छ र त मलाई ढिला आएकोमा गाली गर्नुहुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment