Comments Add Comment

प्रधानमन्त्रीको सल्लाहमा राष्ट्रपतिको भारत भ्रमण रद्द

'भारतले नेपालमा चलखेल गरेवापतको कुटनीतिक प्रतिक्रिया'

Bidhya-Bhandari

२४ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमण नेपालकै तर्फबाट रद्द गरिएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आपसी समझदारीमा भ्रमण रद्द गरिएको हो ।

स्रोतका अनुसार भ्रमणका विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच शुक्रबार निर्णायक छलफल भएको थियो ।

शीतलनिवासमा भएको छलफलमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै अहिले भारत जानु उचित नहुने सुझाव दिएका थिए । प्रधानमन्त्रीको सल्लाहलाई राष्ट्रपति भण्डारीले सकारात्मक जवाफ दिएकी थिइन् ।

भारतले पछिल्लो समय नेपालमा राजनीतिक चलखेल गर्न खोजेको र दलहरुलाई एक अर्काविरुद्ध प्रयोग गरेको निस्कर्ष प्रधानमन्त्रीले निकालेको स्रोतको दावी छ ।

‘नेपालको आन्तरिक मामलामा खेल्न खोजेको प्रतिक्रियास्वरुप प्रधानमन्त्रीले भ्रमण रद्द गराउनुभएको हो,’ स्रोत भन्छ, ‘यसलाई भरतीय शैलीप्रतिको कुटनीतिक असन्तुष्टिका रुपमा लिन सकिन्छ ।’

त्यसो त आफ्नो भ्रमणलाई औपचारिकमा सीमित गरिएपछि राष्ट्रपति स्वयम् पनि भ्रमणप्रति त्यति उत्साहित थिइनन् । राष्ट्रपति निकट स्रोत भन्छ, ‘प्रधानमन्त्रीको भ्रमण राजकीय हुनु तर राष्ट्रपतिको भ्रमण औपचारिक हुनु असुहाउँदो विषय थियो ।’

भ्रमण स्थगित गरिएको जानकारी नेपालका तर्फबाट भारतलाई गराइसकिएको छ । यसमा भारतको रियाक्सन आइनसकेको स्रोतले बतायो ।

प्रधानमन्त्रीका कुटनीतिक मामला विज्ञ गोपाल खनालले भने तयारीका लागि समय अभावले गर्दा भ्रमण स्थगित भएको दावी गरे ।

‘पहिलो धार्मिक प्रकृतिको भ्रमण भनिएको थियो । पछि औपचारिक हुने भनिएपछि नेपालका तर्फबाट तयारी गर्न समय पुगेन । पछिल्ला केही दिन यता राजनीतिक घटनाक्रमले गर्दा पनि यसतर्फ ध्यान नपुगेको हुन सक्छ,’ उनले अनलाइनखबरसँग भने ।

राष्ट्रपति भण्डारी पहिलो विदेश भ्रमणका रुपमा २७ वैशाखमा भारत जाने कार्यक्रम थियो । भारतले पनि भ्रमणको सबै तयारी भइसकेको जनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment