Comments Add Comment

छोरीहरुलाई डाक्टर चित्र वाग्लेको पत्र

प्रिय छोरीहरु आशिका तथा आरूषि,
धेरै धेरै माया र प्रेम अनि सम्झना ।

छोरीहरु, विशेष, तिमीहरुको सम्झनाले सताएकाले अस्पतालको बेडबाट यो चिठी लेख्दैछु । मैले गर्ने माया र ममता यो चिठीको पानामा कोरेर व्यक्त गर्न त्यति शब्दहरु पनि छैनन् । लेख्न पनि सक्दिनँ । यो मायालाई नाप्ने यत्रो यन्त्र बनेको छैन, नभए यति केजी छ भनेर पठाउँथेँ । जे होस्, तिमीहरुप्रति मेरो धेरै माया छ ! प्रेम छ र शुभकामना छ ।

तिमीहरुलाई राम्रो गार्जियनसीप दिएर समाजका राम्रा, सहयोगी, सुशील तथा देश र जनताप्रति बफादार नागरिक बनाउने अनि नारी सशक्तीकरणका लागि अग्रणी भूमिका निभाउने छोरी बनाउने इच्छा थियो ! चाहे त्यो डाक्टर भएर होस्, चाहे इन्जिनियर भएर वा हाउसवाइफ नै भएर किन नहोस् । तर, दैवको लीला, छोरीहरु, तिमीहरुलाई मेरो रोगबारे त्यति थाहा छैन । जे थाहा छ, मलाई क्यान्सर भएको भन्ने आशिकालाई थाहा छ । तर, यसको अन्तबारेमा तिमीलाई पनि थाहा छैन । शायद थाहा पाउनुअगाडि नै मैले यो संसार छाडिसकेको हुनेछु ।

Doctor-Chitra,-Chitra-Wagleछोरीहरु, मान्छेले जन्मेपछि अवश्य मर्नुपर्छ । कोही अगाडि, कोही पछाडि । त्यस्तै, म पनि । तिमीहरुलाई मेरो अभिभावकत्वको कमी रहनेछ । तिमीहरुलाई सधैँ सहायता गर्ने तिम्री आमा रहनेछिन् अनि तिम्रा हजुरबुवा र हजुरआमाले साथ दिनुहुनेछ । उहाँहरुको सुझाव र सल्लाह सधैँ मान्नू ।

जीवनमा आफ्नो उद्देश्यप्रति लागिपरेर त्यो पूरा गर्नू । बाबुको अभाव कहिल्यै महसुस नगर्नू । तिमीहरुलाई सहयोग र साथ दिन बोल्ड हृदय भएकी आमा छिन् । उनको कुरा सधैँ शिरोपर गर्नू ! पालना गर्नू । उनका वचनहरु तिमीहरुका लागि मार्गदर्शन हुनेछन्, नानीहरु ! तिमीहरुले एउटा अपाङ्ग बच्चाको (दाइको) पनि रेखदेख गर्नू, जसलाई सहयोगको आवश्यकता छ ।

प्रिय छोरीहरु, हामीले छोरा र छोरीमा भेद गरेनौँ । यो तिमीहरुलाई थाहा छ । तिमीहरु आमाको गर्भमा हुँदा नै मलाई तिमीहरु छोरी हौ भन्ने थाहा थियो । ‘यो पुरूषप्रधान देशमा छोरा चाहिन्छ, यसलाई गर्भपतन गरा’ भन्ने मान्छे तथा इष्टमित्रहरु धेरै थिए । तर, म र तिम्री आमाले छोरा र छोरीमा कुनै भेदभावको अनुभूति नगरी तिमीहरुलाई जन्मायौँ, हुर्कायौँ । तिमीहरु हाम्रो लागि छोरासरहका हौ । छोरा र छोरी भनेर म र तिम्री आमाले कुनै भेदभाव गर्ने गरेको छैन ।

एउटा चिन्ता छ, तिमीहरुलाई यो समाजको उदाहरण कसरी बनाउने भनेर । अब दुई-चार वर्ष आमाले पढ्न भनेको पनि गाली गरेको झैँ लाग्नेछ । किनकि, पढाइको महत्व तिमीहरुलाई थाहा छैन । तर उमेर बढ्नेछ, तिमीहरु ठूला हुनेछौं । आठ-दश कक्षामा जाँदा पढाइसँगसँगै अन्य कुरामा तिमीहरुको ध्यान जान सक्नेछ ।

तिमीहरुको किशोर अवस्था र वरपरको वातावरण 

प्रिय छोरीहरु, समयले तिमीहरुलाई किशोर अवस्थामा लैजानेछ । तिमीहरुको आवाजदेखि शरीरसम्ममा परिवर्तन आउनेछ । तिमीहरुलाई लाजशरम पनि लाग्नेछ । यो परिवर्तनलाई लुकाउन सक्नेछैनौ । यो सँगसँगै तिमीहरुको भित्री स्वभावमा परिवर्तन आउनेछ । केटाको केटीप्रति, केटीको केटाप्रति आकर्षण बढ्ने समय आउनेछ । यो स्वाभाविक पनि हो । तर, धेरैले यही उमेरमा आफ्नो भविष्य बिगारेका कैयौँ उदाहरणहरु छन् । त्यसैले यसबाट सतर्क रहनू । यस परिस्थितिमा तिमीहरु बिग्रनेछैनौ । आफ्नो पढाइ र चरित्रलाई सधैँ ख्याल गर्नेछौ । बाबाको इज्जत राख्नेछौ । यही स्कुल अवधिमा पढाइका साथै एक्स्ट्रा एक्टिभिटिजमा भाग लिनेछौ । राम्रो नृत्य सिक्नेछौ । जो मेरा छोरीहरु नाचेको हेर्न चाहन्छन् र चाहन्थे, स्कुलमा मेरा छोरीहरु सारै राम्रा, परिश्रमी, मेहनती छन् भन्ने देख्न चाहन्थे, तिनीहरुको यो इच्छा शायद पूरा गराउनेछौ ।

तिमीहरुको भविष्य

एसएलसीलाई आइरन गेट भन्ने गर्छन् । मेरा छोरीहरु, यो गेट इजिली पास गर्नेछौ । मेरो चाहना छ, तिमीहरु राम्रो बुद्धि लिएर यो गेटबाट निस्कनेछौ । तिमीहरुको आआफ्नो इच्छा होला के बन्ने भन्नेमा । जे बन, त्यसमा मेरो कुनै गुनासो रहनेछैन । तर, तिमीहरु समाजको असल मान्छे बन । समाजले तिमीहरुको उदाहरण देओस् । डाक्टर, इन्जिनियर, अफिसर, पत्रकार या हाउसवाइफ जे बने पनि बन, तर राम्रो मान्छे बन । तिमीहरु आफ्नो पेशामा राम्रो मान्छे भएनौ भने डाक्टर, इन्जिनियर वा राजनीतिज्ञ बने पनि समाजबाट केही पाउनेछैनौ । त्यसैले असल मान्छे बन्नू । तिमीहरु आफैँ नारी भएकोले नारी सशक्तीकरणमा तिमीहरुको ठूलो हात रहोस् । किनकि, नेपालमा नारीहरु पुरूषको दाँजोमा अझ कमजोर नै छन् ।

मेरा छोरीहरु, स्वास्थ्य सेवा अहिले व्यापारीकरण भइसकेको छ । तिमीहरुको पालामा झन् यसले ठूलो विकृतिको रुप लिइसकेको हुनेछ । ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा

नानीहरु, म डाक्टर भएकाले के अनुभव छ भने, यो क्षेत्रमा धेरै कठिनाइ भए पनि इमानदार भएर काम गर्ने हो भने जनताको सेवा पनि हुन्छ अनि इज्जत र सम्मान पनि पाइन्छ । तिमीहरुको बाबा डाक्टर भएर समाजसेवामा लाग्यो । तर, केही सपना अधुरै रहने भए, जसलाई तिमीहरुले साकार पार्नेछौ । तिमीहरुले दीनदुःखीको सेवामा जीवन समर्पित गर्नेछौ, ता कि तिमीहरुको उपस्थितिमा असहाय, गरीब तथा सबै थरीका मान्छे खुशी होऊन् । सबैभन्दा ठूलो कमाइ भनेको त्यही हो, नानीहरु ! यस्तो सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन । यो त मन जितेर लिने कुरा हो ।

तिमीहरुले चिकित्सा सेवाबाट वञ्चित रहेको समाजमा गएर सेवा गर्नू । शहरमा त जोकोही बसेर सेवा दिइरहेका हुन्छन्, तर दुर्गम र विकटमा कोही जान चाहँदैनन् । मेरा छोरीहरु, स्वास्थ्य सेवा अहिले व्यापारीकरण भइसकेको छ । तिमीहरुको पालामा झन् यसले ठूलो विकृतिको रुप लिइसकेको हुनेछ । ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा । गरीब अझ गरीब हुनेछन् । त्यो खाडल पुर्नमा तिमीहरुको ठूलो देन हुनेछ ।

तिमीहरुको यौवन, विवाह र दाम्पत्य जीवन 

प्रिय छोरीहरु, समयले कसैलाई पर्खेर बस्दैन । समयसँगै तिमीहरु किशोर अवस्था पार गरेर युवावस्थामा जानेछौ । यो परिवर्तन तिमी-हामीले रोकेर रोकिनेछैन । पढाइको क्रम सकिएर वा हाइयर एजुकेसन लिइरहेको बेला तिमीहरुलाई कुनै साथी मन पर्ला, जोसँग जिन्दगी राम्रो हुनेछ भन्ने सोच्नेछौ । त्यो नराम्रो कुरा पनि होइन । म जीवित भएको भए पनि स्वीकार गर्ने थिएँ । त्यसलाई तिम्रो बाबाले कहिल्यै अन्यथा लिने थिएन । तर समय खराब छ । तिम्रो जीवनसाथी त्यस्तो हुनुपर्छ जसले तिमीलाई बुझ्न सकोस् तिमीले उसलाई बुझ्न सकौ । फ्युचरको प्लान मिलेको होस् । जीवनभरि एकले अर्कालाई दुःख र सुखमा साथ दिन सकौ । विवाह कोसँग गर्ने भनेर चयन गर्ने अधिकार तिमीहरुमा हुनेछ । निर्णय धेरै सोचविचारबाट गर्नू । प्यार गर्नु नराम्रो कुरा होइन । त्यसलाई माया गर्नु जसबाट बाँकी जीवन सुखमय होस् ।

हेर न, तिमीहरुकी ममी र मैले लभ म्यारिज सीडीओ कार्यालयमा गरेका हौँ । हामीले एकअर्कालाई खोजेका हौँ । दुर्भाग्य, मैले उनलाई लामो समय साथ दिन सकिनँ ।

जे होस्, तिमीहरुले हाम्रो च्वाइसमा पनि थोरै ध्यान दिनेछौ । परिवारको सल्लाहलाई पनि नजरअन्दाज गर्नेछैनौ । मेरो मतलब, तिमीहरुले आफ्नो मायालाई कुर्बानी दिनुपर्छ भन्ने होइन । इच्छा, चाहना, आकाङ्क्षा अनुसार चल्नू । तिमीहरुको मनले जे राम्रो मान्छ त्यसलाई मान्नू, तर समाजलाई अपच हुने कुरा नगर्नू । किनकि, बस्नु यही समाजमा छ ।

तिमीहरु ठूला हुने बेलासम्म यो समाज धेरै परिवर्तन भइसक्नेछ । मेरा छोरीहरु, तिमीहरु यो समाजको रुढिवादलाई पछि पार्दै आधुनिक समाजमा उदाहरण बन्नेछौ । जसरी हामीले पनि आफ्नो पालामा सीडीओको अफिसमा गएर विवाह गरेका थियौँ, दाइजो र जन्ती लगेर, ठूलो भतेर गरेका थिएनौँ । हाम्रो विवाहमा पार्टी भएको थिएन । यसबाट मेरा इष्टमित्रहरु खुशी थिएनन् । तर, समयसँगै सबै ठीक भएर गयो ।

छोरीहरु, यो कुरा मैले किन लेखेको भने, तिमीहरु यो उमेरमा पुग्नुभन्दा धेरै अघि मैले यो धरतीलाई छाडिसकेको हुनेछु ।

तिमीहरुलाई माया गर्ने,
बाबा
राजीव गान्धी अस्पतालको बेडबाट

(फिनिक्स बुक्सद्वारा प्रकाशित- डा. चित्रप्रसाद वाग्ले,जो सरकारी सेवा गर्दागर्दै क्यान्सरको कारण मृत्युवरण गरेका थिए, को सम्झना आलेख किताबको एक अंश । यो पुस्तक सोमबार मण्डला थिएटरबाट विमोचन गरिएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment