Comments Add Comment

प्रचण्डको सरकारमा गच्छदार र प्रेमबहादुरको मन्त्री पक्का !

सरकार गठनमा संविधानको मापदण्ड मिचिँदै

Bijay-Gachhadar

१३ साउन, काठमाडौं । मधेसी मोर्चाको शर्त विपरीत फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार अन्ततः प्रचण्ड नेतृत्वको नयाँ सरकारमा मन्त्री बन्ने पक्का भएको छ ।

प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्दै गर्दा मधेसी मोर्चाले कांग्रेस र माओवादी सामू नयाँ सरकारमा गच्छदारलाई मन्त्री बनाउन नपाउने शर्त राखेको थियो ।

गच्छदार ओली नेतृत्वको सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री थिए । प्रधानमन्त्री ओली विदेश गएका बेला वरिष्ठताका आधारमा गच्छदारले नै कार्यवाहक प्रधानमन्त्री चलाएका थिए ।

तर, सरकार ढल्ने निश्चित भएपछि फोरम लोकतान्त्रिकले नाटकीयरुपमा समर्थन फिर्ता लियो र अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गर्‍यो । अब गच्छदार फेरि प्रचण्डको नेतृृत्वमा बन्ने सरकारमा जान तयार भएको देखेपछि मधेसी मोर्चाले उसलाई रोक्नुपर्ने शर्त माओवादी र कांग्रेससँग राखेका थिए ।

उच्च स्रोतका अनुसार साउन ९ गते सिंहदरवारमा बसेको कांग्रेस र माओवादीसहितको बैठकमा मधेसी मोर्चाका नेताहरुले कस्ता-कस्ता शक्तिलाई सरकारमा ल्याउनुहुन्छ भन्ने प्रश्न गरेका थिए । उनीहरुले गच्छदारको नाम नै लिएर उनीहरु जस्ता शक्तिलाई नयाँ सरकारमा ल्याउन नहुने शर्त राखेका थिए । त्यस्तो भएमा सरकारलाई समर्थन गर्न नसकिने सम्मको चेतावनी मोर्चाका केही नेताले दिएका थिए ।

तर, गच्छदारको पक्षमा पासा पल्टियो

मधेसी मोर्चाको शर्तपछि कांग्रेस र माओवादी नेताहरु गच्छदारलाई नयाँ सरकारमा सहभागी नगराउन सकारात्मक देखिएका थिए । तर, गच्छदार अब फेरि मन्त्री बन्ने देखिएको छ ।

फोरम लोकतान्त्रिकको उच्च स्रोतले दिएको जानकारीअनुसार भावी प्रधानमन्त्री प्रचण्डले गच्छदारलाई पुनः भौतिक पूर्वाधार मन्त्री बनाउने संकेत दिएका छन् ।

मधेसी मोर्चाको समर्थन मात्रै लिएर पनि कांग्रेस र माओवादीलाई बुहमत पुग्ने स्थिति छ । तर, मधेसी मोर्चाले चाहँदा कुनै पनिबेला सरकार अल्पमतमा पर्न सक्ने भएपछि कांग्रेस र माओवादी नेताहरुले गच्छदारलाई पनि च्याप्ने मनस्थिति बनाएको स्रोतको विश्लेषण छ ।

मुसा प्रवृत्तिलाई प्रश्रय

स्रोतका अनुसार नयाँ सरकारमा ओली सरकार मन्त्री प्रेमबहादुर सिंह पनि मन्त्री बन्ने लगभग पक्का जस्तै भएको छ । सिंह ओली सरकारमा खानेपानी तथा सरसफाइ मन्त्री थिए ।

सरकार ढल्ने पक्का भएपछि अन्तिम समयमा राजीनामा दिएर सिंह अविश्वासको प्रस्तावको पक्षमा उभिए । स्रोतका अनुसार प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारमा मन्त्री पाउने सुनिश्चित भएपछि मात्रै सिंहले कित्ता परिर्वतन गरेका हुन् ।

सरकार गठनमा संविधानको मापदण्ड मिचिँदै

यसैवीच प्रचण्डको नेतृत्वमा गठन हुने मन्त्रिपरिषद संविधानले तोकेको भन्दा ठूलो हुने भएको छ । संविधानले २५ सदस्यीय मन्त्रिमण्डल बनाउने संख्या निश्चित गरेको छ ।

तर, प्रचण्ड र देउवा दुबै नेताहरु संक्रमणकालीन व्यवस्थाको बाहना बनाउँदै २५ सदस्यीय मन्त्रिमण्डल गर्न सम्भव नरहेको निश्कर्षमा पुगेको स्रोतले अनलाइनखबरलाई बतायो ।

विगतमा जम्बो मन्त्रिमण्डल बनाउने नेताका रुपमा देउवा चिनिन्छन् । यता प्रचण्डले पनि प्रेमबहादुर सिंहलगायत एक सीटे दललाई समेत मन्त्री पद बाँड्दै देउवाकै लाइनमा आफूलाई उभ्याएका कारण अबको मन्त्रिमण्डल संविधानले तोकेको संख्याभन्दा बढी हुने भएको हो ।

विगतमा केपी ओलीको सरकारले मन्त्रालय फुटाएकोमा कांग्रेस र माओवादीले समेत आपत्ति प्रकट गरेका थिए । तर, अब बन्ने सरकारले फुटेका मन्त्रालयलाई पनि नजोड्ने स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment