Comments Add Comment

सिंहदरबारमा ‘पावर ब्रोकर’ को भीड, मन्त्री र सेवाग्राही मर्कामा (भिडियोसहित)

मन्त्री भन्छन्- यहाँ दुई हजार 'होलटाइमर' रहेछन्

Singha Durbar (6)
कृषि राज्यमन्त्री राधिका तामाङको कार्यकक्ष बाहिर कुर्दै कार्यकर्ताहरू

१४ भदौ, काठमाडौं । सामान्य प्रशासनमन्त्री केशवकुमार बूढाथोकीले पद बहाली गरेकै दिन मन्त्रीका अगाडि नदेखिन सबैलाई कडा निर्देशन दिएका थिए । तर, उनै मन्त्रीले व्यवस्थापन गर्नुपर्ने सिंहदरबारभित्रको कर्मचारी प्रशासन संयन्त्र भने यतिबेला भद्रगोल बनेको छ ।

मन्त्री बूढाथोकीको निर्देशनलाई गिज्याउँदै सामान्य प्रशासन मन्त्रालयमै दिनमा अढाइ सयसम्म मानिसहरुको भीड लाग्ने गरेको छ । अन्य मन्त्रालयहरुको त कुरै नगरे हुन्छ । सिंहदरबार छिर्ने गेट र परिसरभित्रका खाली ठाउँहरु दलका कार्यकर्ताले गर्दा हाट बजारजस्तै बन्न पुगेको छ ।

सर्वसाधारण जनताका लागि परिचयपत्र नदेखाई सिंहदरबार छिर्न अनुमति छैन । प्रायः सबै मन्त्रालयहरु एउटै कम्पाण्डभित्र रहेको सिंहदरबार परिसर सेवामूलक सरकारीस्थल नभएर नीति निर्माण गर्ने थलो हो । तर, कांग्रेस र माओवादीको सरकार बनेसँगै सिंहदरबारभित्रका मन्त्रालयहरुमा सेवामूलक मालपोत कार्यालयमा जस्तै भीड लाग्न थालेको छ ।

Singha Durbar (5)
सामान्य प्रशासन मन्त्रालयमा नअटेपछि चाैरमै पलेटी मारेका प्रतिक्षार्थी

नयाँ मन्त्रीलाई भेट्न, बधाइ दिन वा फोटो खिच्न मानिसहरुको भीड लाग्ने गरेको हो । साथै आफ्नो प्रपोजल वा प्रोजेक्टमा पैसा पारिदिन, गाउँको विकासमा बजेट व्यवस्था गरिदिनदेखि कर्मचारी सरुवासम्मको माग लिएर मानिसहरु मन्त्रालय छिर्ने गरेका छन् । यसरी मन्त्रीका वरिपरि घेराबन्दी गर्नेहरुमा ‘पावर ब्रोकर’ हरु बढी सक्रिय बनेको मन्त्रीहरुसमेत बताउँछन् ।

सूचना तथा सञ्चारमन्त्री राम कार्कीले अनलाइनखबरसँगको कुराकानीमा भने- ‘सिंहदरबारभित्र दुई हजारजति होलटाइमरहरु रहेछन्, उनीहरुको धन्दा नै जुन दलको मन्त्री आए पनि दाइ नमस्कार भन्दै मन्त्रालयका काममा चियोचर्चो गर्ने अनि बिरामी वा असहायलाई बोकेर आर्थिक सहयोग माग्ने र कमिसन खाने हुँदोरहेछ ।’

पहिलोचोटि मन्त्री बनेका कार्कीले भने- ‘यो भीडभाडका कारण मन्त्रीलाई सोच्ने फुर्सद नै हुँदोरहेन छ ।’

Ajayshankar,-DR,-Ramkarki,-Hitraj-and-Pravakar
फाइल फोटो

यसअघि सिंहदरबारमा दुई बजेपछि मात्रै मन्त्रीसँग भेटघाटको समय मिलाइने गरेकोमा अहिले कार्यालय लाग्ने समयदेखि नै भीड लाग्न थालेको छ । काठमाडौंका मात्रै नभई विभिन्न जिल्लाबाट आएका कार्यकर्ताले मन्त्रीहरुलाई घेरा हाल्ने गरेका छन् ।

मन्त्री कार्की भन्छन्- ‘सिंहदरबारमा मान्छे छिराउनेबारे सुरक्षा निकायले पनि विचार गरिदिनुपर्‍यो । एउटा मान्छेले कतिजनालाई चिट काटेर बोलाउन पाउने भन्ने पनि तय हुनुपर्छ ।’

Radhika Tamang

कृषि राज्यमन्त्री राधिका तामाङ पनि आफूहरुलाई नसोधिकन मानिसहरु फुत्त आइदिँदा भीड लाग्ने गरेको बताउँछिन् ।

कांग्रेसको ‘कल्चर’ नै भीडभाड गर्ने

नेपाली कांग्रेसका नेताको घरमा बिहान-बिहान सधैं भीड लाग्ने गर्छ । कार्यकर्ता र नेताहरु विना काम एकाबिहानै नेताको पटाङ्गनिीमा भीड लाग्छन् र ‘दाइ जय नेपाल’ भन्दै अबेरसम्म गफ चुटेर बस्छन् ।

प्रकाशशरण महत परारष्ट्र मन्त्री बनेपछि दाइ जयनेपाल भन्नेहरुको भीड परराष्ट्रमा पनि देखिन थालेको छ । कर्मचारीले गेटमा सोधखोज गर्न छाडेका छन्

कांग्रेसको घरमा एकाबिहानै जतिधेरै जुत्ताचप्पल देखिन्छन्, ऊ त्यति नै लोकप्रिय हो भन्ने बुझाइ छ कांग्रेसजनमा । र, नेताका घरमा देखिने यो भीडभाडको संस्कार कांग्रेसका मन्त्रीहरुले सिंहदरबारमा समेत भित्र्याएका छन् ।

कमल थापा परराष्ट्रमन्त्री हुँदा मन्त्रालयमा भीड गर्न दिँदैनथे । मूलढोकामै मन्त्री थापाले इलेक्ट्रिक गेटमा कडाइ गरेका थिए । अहिले प्रकाशशरण महत परारष्ट्र मन्त्री बनेपछि दाइ जयनेपाल भन्नेहरुको भीड परराष्ट्रमा पनि देखिन थालेको छ । कर्मचारीले गेटमा सोधखोज गर्न छाडेका छन् ।

कांग्रेसको जस्तै माओवादीको मन्त्रालयमा पनि दाइ अभिवादन भन्दै भीड लाग्नेहरु बढेका छन् । उनीहरुले पनि कांग्रेसकै ‘कल्चर’को सिको गर्न थालेका छन् । नेताको घर वा क्वार्टरमा भीड लाग्ने गणेश प्रवृत्तिले यतिबेला सिंहदरबार आक्रान्त बनेको छ ।

अनावश्यक मानिसको भीडका कारण कतिपय सेवाग्राही समयमै काम सम्पनन गर्न नपाएर मर्कामा पर्ने गरेका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment