Comments Add Comment

दशैंमा ५५ हजार खसीबोका र च्याङ्ग्रा काठमाडौं भित्रिँदै

Khasi boka (15)
९ असोज, काठमाडौं । यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा झण्डै ५५ हजार खसीबोका र च्याङ्ग्रा भित्रिँदैछ । दशैंलाई लक्षित गरेर काठमाडौंमा खसी बोका भित्र्याउने क्रम अहिलेदेखि नै सुरु भइसकेको छ ।

दशैंका लागि सरकारी स्वामित्वको नेपाल खाद्य संस्थान र निजी क्षेत्रको चौपाया खरिदबिक्री संघले मात्रै झण्डै ५० हजार खसीबोका भित्र्याएर बेच्ने बताएका छन् । दशैंमा काठमाडौंमा झण्डै ३ हजार हजार च्याङ्ग्रा बेचिनेछ ।

कसले कति ल्याउँदै ? 

खाद्य संस्थानले विभिन्न जिल्लाबाट काठमाडौंमा ल्याएर १५ सय खसीबोका र त्यतिनै संख्यामा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । चौपाया खरिद बिक्री संघले दशैंका लागि ४५ हजार खसीबोका र १५ सय च्याङ्ग्रा ल्याउने योजनाअनुसार काम गरिरहेको छ ।

छिटपुट रुपमा नजिकका जिल्लाहरुबाट स्वतःस्फुर्त रुपमा पनि काठमाडौंमा हजारौं खसीबोका भित्रिने गरेका छन् । तर, यसवर्ष बसमा ट्राफिकले बसमा यात्रुबाहेक अन्य लोड राख्न नदिने गरी गरेको कडाइले भने समस्या पारेको छ ।

खाद्य संस्थानले लाहान, हेटौडा, नेपालगन्ज र सुर्खेत लगायतका क्षेत्रमा स्थानीय जातका १५ सय खसीबोका खरिद गर्दैछ । खाद्य संस्थानले घटस्थापनादेखि खसीबोका र च्याङ्ग्रा बेच्न सुरु गर्छ । दशैंका लागि आउने च्याङ्ग्रा मुस्ताङका हुनेछन् ।

बजारमा कृत्रिम अभाव सिर्जना गरी मासुको मूल्य बढाउन सक्रियहरुलाई निरुत्साहित गर्न दसैंमा सहुलियत मूल्यमा खसीबोका बिक्री गर्ने गरिएको संस्थानले जनाएको छ ।

गतवर्ष नाकाबन्दीका बीच पनि संस्थानले सात सय ५० खसीबोका र झण्डै ७ सय च्याङ्ग्रा बेचेको थियो । संस्थानले बजार मूल्यभन्दा केही सस्तो मूल्य कायम गरेर सर्वसाधारणलाई बिक्री गर्ने गरेको छ । यसैले बजारको भाऊ निर्धारण हुने भएकाले संस्थान मूल्य घटाएर बिक्री गर्ने योजनामा छ ।

भारतीय खसीकै भर 

दशैंका लागि विशेष गरी भारतका विभिन्न भूभागबाट खसीबोका ल्याइन्छ । उपत्यकामा दशैंमा मात्रै झण्डै ११ देखि १२ लाख किलो खसीबोकाको मासु खपत हुने तथ्यांक छ ।

नेपाल माछामसु व्यवसायी संघकाअनुसार देशभर खपत हुने खसीबोकाको ठूलो हिस्सा काठमाडौं उपत्यकामै हुन्छ ।

काठमाडौंमा समान्यतयाः दैनिक १ हजार २ सयसम्म खोसीबोकाको मासु बिक्री हुन्छ । तर, दशैंको समयमा समान्य अवस्थाको भन्दा झण्डै ४ गुणा बढी मासु खपत हुने गरेको संघका अध्यक्ष शिवरत्न शाहीले बताए ।

दशैंमा खपत हुनेमध्ये झण्डै ८० प्रतिशत खसीबोका भारतबाटै आयात हुने गरेको उनले बताए । वर्षमा झण्डै १२ अर्बको खसबीबोका खपत हुँदा १० अर्ब रुपैयाँ भारतीय बजारमा नै पुग्छ ।

‘यो वर्षमात्रै होइन, सँधै मुख्य रुपमा काठमाडौंमा भारतीय खसीबोका ल्याएर नै दशैं मनाइन्छ’ शाहीले भने,’पसलहरुले खपत गर्ने मासुको अधिकांश हिस्सा भारतीय बजारबाट आएका खसी नै हुन् ।’

जीउँदो खसीबोकाको खपतबारे एकीन तथ्यांक पाउन गाह्रो छ । तर, यो समयमा अन्य समयमा भन्दा तेब्बरसम्म मासु बिक्री हुन्छ । दशैंमा कुखुरा, हाँस, राँगा, बुंगुरलगायतको मासु पनि बिक्री हुन्छ । तर, मुख्य रुपमा दशैंको मासुमा खसीबोकालाई नै प्राथमितका दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment