Comments Add Comment

बैंकलाई दशैं लाग्यो, हप्तादिनमै १८ अर्ब निक्षेप थपियो

Bank११ असोज, काठमाडौं । वाणिज्य बैंकहरुलाई दशैं लागेको छ । दशैंको प्रभाव बैंकहरुको निक्षेपमा देखिएको छ । पछिल्लो एक हप्तामा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुमा १८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । एक हप्तामा बढेको निक्षेप वाणिज्य बैंकहरुको कूल निक्षेपको १ प्रतिशत हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत साता वाणिज्य बैंकहरुको कूल निक्षेप १८ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । त्यसअघिको हप्ता भने बैंकहरुको निक्षेप १७ खर्ब ८७ अर्ब रुपैयाँ थियो ।

तर, पछिल्लो हप्ता निक्षेपको तुलनामा कर्जा भने विस्तार हुन सकेको छैन । एक हप्तामा जम्मा ७ अर्ब रुपैयाँले मात्रै कर्जा बढेको छ । राष्ट्र बैंकका अनुसार हाल वाणिज्य बैंकहरुले १४ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

दशैं-तिहार र छठजस्ता चाडबाड नजिकिएकाले वैदेशिक रोजगारीमा रहेकाहरुले सामान्य अवस्थामाभन्दा बढी रेमिट्यान्स पठाएकाले त्यसको प्रभाव बैंकिङ क्षेत्रमा परेको हुनसक्ने बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले अनलाइनखबरलाई बताए । पौडेलका अनुसार सरकारी आयोजनाहरुको भुक्तानी बढीकाले पनि बैंकमा निक्षेप पढेको हो ।

इन्टरनेशनल मनी एक्सप्रेस -आइएमइ) का प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलका अनुसार सामान्य अवस्थामा भन्दा दशैं-तिहार र छठजस्ता चाडपर्वमा ५० प्रतिशतसम्म बढी रेमिटयान्स आउने गरेको छ ।

त्यसैगरी, बैंकहरुले निक्षेपमा दिने व्याजदर बढाएका कारण पनि बैंकप्रति सर्वसाधारणको आकर्षण बढेको हुनसक्ने बैंकहरहरु बताउँछन् । महिनादिन अघिसम्म निक्षेपमा ३/४ प्रतिशत व्याज दिने बैंकहरुले पछिल्ला केही हप्ता ६ प्रतिशतसम्म व्याज दिन थालेका छन् । राष्ट्र बैंकले गत साउन तेस्रो साता व्याजदर करिडोर कार्यान्वयनमा ल्याएपछि विस्तारै व्याजदर बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment