Comments Add Comment

महाअभियोगका प्रस्तावक सांसदलाई ‘सिध्याइदिने’ धम्की

शाही भन्छन्- यमराजले भने पनि प्रस्ताव फिर्ता लिन्न

mahendra-bahadur-shahi

७ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने माओवादी सांसद महेन्द्रबहादुर शाहीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।

आफूलाई अज्ञात नम्बरबाट टेलिफोन आएको बताउँदै शाहीले अनलाइनखबरसँग भने- ‘लोकमानविरुद्ध किन प्रस्ताव दर्ता गरिस्, प्रस्ताव फिर्ता नलिए तँलाई सिध्याइदिन्छौं भनेर धम्की दिइयो ।’

तर, यस्तो धम्की दिने व्यक्तिलाई आफूले लुकेर फोन नगर्, सक्छस् भने आफ्नो परिचयसहित आइज भन्ने जवाफ फर्काएको शाहीले अनलाइनखबरलाई बताए । माओवादी सांसद शाहीले भने- ‘म पूर्वजनमुक्ति सेना पनि हुँ, त्यस्ता धम्कीसँग डराउने कुरै छैन, बरु मर्न तयार छु, तर महाअभियोगको प्रस्ताव फिर्ता हुँदैन ।’

यमराजले नै भने पनि प्रस्ताव फिर्ता लिन्न

अहिलेसम्म अध्यक्षको बचाउ हामी (पूर्वकमाण्डर) हरुले नै गर्दै आएका छौं । बादल, विप्लव कसैले पनि अध्यक्षको बचाऊ गरेनन्, हामी नै हौं, हेडक्वार्टरको रक्षा गर्ने

सिंगै नेपाली जनता लोकमानमाथि कारवाही हुनुपर्ने पक्षमा रहेको अनूकुल बेलामा समेत माओवादी पार्टीले महाअभियोगका पक्षमा खुलेर निर्णय गर्न नसक्नु र धर्मराउन दुःखद पक्ष भएको शाहीले सुनाए । उनले आफ्नै दलमाथि प्रश्न गरे- ‘यस्तो बेलामा पनि पार्टीले निर्णय लिन सक्दैन भने कहिले निर्णय लिन्छ ?’

लोकमानविरुद्ध महाअभियोग प्रस्तावको प्रस्तावकका रुपमा आफूले प्रतिगमनलाई रोक्न भूमिका खेलेको र नेपाली जनताको आवाजलाई आत्मसाथ गरेको शाहीको दाबी छ । उनले अगाडि भने- ‘म जनताको पक्षमा उभिएको छु, पार्टीले कारवाही गरे भोग्न तयार छु, तर यो प्रस्ताव फिर्ता लिन्न । पार्टी अध्यक्ष प्रचण्डले त के, यमराजले नै भने पनि म यो प्रस्ताव फिर्ता लिन्न । बरु मर्न तयार छु ।’

प्रचण्डलाई सधैंको साथ

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरु सधैं पार्टी अध्यक्ष प्रचण्डको साथमा रहने गरेको सांसद शाहीले बताए । उनले भने- ‘अहिलेसम्म अध्यक्षको बचाउ हामी (पूर्वकमाण्डर) हरुले नै गर्दै आएका छौं । बादल, विप्लव कसैले पनि अध्यक्षको बचाऊ गरेनन्, हामी नै हौं, हेडक्वार्टरको रक्षा गर्ने ।’

लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव पार्टी नेतृत्वको रक्षाकै निम्ति चालिएको शाहीले बताए । अहिले लोकमानसिंह विरुद्ध उत्रिएका बेला पार्टी नेताहरुले खुट्टा कमाउन नहुने भन्दै शाहीले आफूले फिर्ता नलिएसम्म महाअभियोगको प्रस्ताव फिर्ता नहुने तर्क गरे ।

शाहीले अनलाइनखबरसँग विशेष कुरा गर्दै भने- ‘मैले फिर्ता नलिएसम्म यो प्रस्ताव फिर्ता हुँदैन, पार्टीले लिँदैमा पनि फिर्ता हुँदैन । म मरीगए यो प्रस्ताव फिर्ता लिन्न ।’

‘लोकमान रमाइलो गर्न विदेश गएका थिएनन्’

माओवादी सांसद शाहीले लोकमानसिंह कार्की ठूलो षड्यन्त्रको तानाबाना बुन्नकै लागि विदेश गएको दाबी गर्दै भने- ‘उनी घुमघाम र रमाइलो गर्नका लागि विदेश गएकै थिएनन्, भारत पुगेर उनले प्रचण्ड, ओली र शेरबहादुरसम्मलाई समात्ने अनि अस्थिरता सिर्जना गरेर संविधान असफल पार्ने योजना बनाएका थिए ।

महाअभियोगका प्रस्ताव शाहीले भने- ‘हामी र एमालेका युवा साथीहरु मिलेर लोकमानको योजनालाई असफल पारिदियौं, अब संविधानको कार्यान्वयन पनि हुन्छ, राष्ट्रिय सहमति पनि हुन्छ ।’

लोकमान भारतबाट र्फकनु र यता वनकालीमा भारतीय नेता आदित्यसहित ज्ञानेन्द्र सार्वजनिक भाषणमा उत्रनु संयोगमात्रै नभएको शाहीले बताए । तर, यी सबै षड्यन्त्रलाई आफूहरुले एकै धक्कामा चकनाचूर पारिदिएको उनले दाबी गरे ।

‘ब्यारेक हानेजस्तै भएको छ’

पूर्वलडाकू एवं सांसद शाहीले अनलाइनखबरसँग आफ्नो अनुभव सुनाउँदै भने- ‘विगतमा जिल्ला सदरमुकाम वा ठूलो ब्यारेकमा आक्रमण गर्दा देशैभरि यस्तै तरंग आउँथ्यो, महाअभियोगको प्रस्ताव दर्तापछि आएको तरंग देख्दा मलाई त्यस्तै महसुस भइरहेको छ ।

यीे हुन् महेन्द्र बहादुर

लोकमानसिंह कार्कीविरुद्ध रातारात व्यवस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्नुपूर्व माओवादी केन्द्रका यी युवा नेतालाई धेरैले चिनेका थिएनन् । तर, यतिबेला उनी सबैका लागि चासो र चर्चाका पात्र बनेका छन् ।

डा. गोविन्द केसीले सांसदहरुलाई निरीह र कायरको संज्ञा दिइरहेकै बेला आखिर कहाँबाट उदाए यी महेन्द्र बहादुर ? धेरै मानिसमा जिज्ञासा छ अहिले ।

माओवादीका युवा नेता शाही कालीकोट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनको जन्म ०३३ साल माघ १५ गते कालीकोटको नानीकोट गाविस- ८ मा भएको हो । विवाहित शाहीका दुई छोरा र एक छोरी छन् ।

विद्यालय पढ्दा पढ्दै ९/१० वर्षकै उमेरदेखि माओवादीमा लागेका शाही ०५२ सालदेखि नै भूमिगत भए ।  व्यवस्थापिका संसदले प्रकाशित गरेको सांसदहरूकाे परिचय पुस्तिकामा शाही ०४२ सालदेखि नै  माअाेवादीमा  लागेको उल्लेख छ ।

जनयुद्धमा लागेका कारण एसएलसीभन्दा माथि अध्ययन गर्ने समय नपाएका शाहीले जनयुद्धकालमा डिभिजन कमाण्डरसम्म बनेर युद्धको नेतृत्व गरे । दोस्रो संविधानसभामा प्रत्यक्ष चुनाव जितेर सांसद बनेका उनी बाहिर चर्चामा देखिने भन्दा पनि ‘रिजर्भ’मा बस्न बढी रुचाउँछन् । उनले थाइल्याड र चीनको भ्रमण गरेका छन् ।

धक्का दिँदै, मोबाइलतिर हेर्दै !

आइतबार साँझ माओवादी संसदीय दलको कार्यालयमा पुग्दा सुगठित शरीर भएका यी युवा सांसद सोफामा बसेर चुपचाप स्मार्ट फोन खेलाइरहेका थिए ।

मोबाइलमा लोकमानसम्बन्धी समाचार र सूचनाहरु पढिरहेका रहेछन् । संक्षिप्त कुराकानीका क्रममा शाहीले अनलाइनखबरसँग भने- ‘पहिले पहिले ब्यारेक हानेका बेला यस्तो सोसियल मिडिया थिएन, अहिले सामाजिक सञ्जालमा प्रतिक्रिया पढ्न पाउँदा असाध्यै रमाइलो महसुस भइरहेको छ ।’

लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावको सर्जक नेकपा एमाले हो कि माओवादी ? यो प्रश्नमा शाहीले भने ‘हामी कुरामा हैन, परिणाममूलक काममा विश्वास गर्छौं, हामीले पनि पहल लियौं र एमालेबाट भानुभक्त ढकालजीहरुको टीमले पनि राम्रो भूमिका खेल्यो । हामी आफैं यसको प्रस्तावक हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment