Comments Add Comment

रामेछापका भूकम्पपीडितको प्रश्न- इञ्जिनियरहरु गाउँमा लुट्न आएका हुन् कि घर बनाउन ?

यौन दुर्व्यवहारको आरोपमा एक पक्राउ, पीडितसँग पैसा मागेको गुनासो

Ramechhap-Earthquake

२३ मंसिर, रामेछाप । भूकम्प प्रभावित क्षेत्रमा खटिएका इञ्जिनियरहरुले सुविधा कम भयो भन्दै सरकारसँग गुनासो गरिरहेका बेला गाउँघरमा चाहीँ भूकम्पपीडितहरुले प्राविधिकको नियतमाथि नै प्रश्न उठाउन थालेका छन् ।

भूकम्प पीडितहरुको घर पुननिर्माणका क्रममा सरकारले गाउँमा खटाएका प्राविधिकहरुले नागरिकलाई सहयोग हैन, दुःख दिन थालेको गाउँलेको गुनासो छ ।

घर पास गर्न पैसा मागियो

गाविसमा खटिएका इञ्जिनियरहरुले निजी आवास निर्माणका क्रममा दुःख दिने गरेको गुनासो बेताली गाविसका स्थानीयवासीहरुले गरेका छन् । स्थानीयबासीहरुले नक्सा बनाउने, प्रमाणित गर्ने, सिफारिस गर्ने लगायतका कार्यमा इन्जिनियरले धेरै झण्झट दिने गरेको बताए ।

वडा नागरिक मञ्चका संयोजक समेत रहेका बेताली-८ का कृष्णप्रसाद घिमिरेले भने, ‘इन्जिनियरले सजिलो गर्लान् भनेको त हरेक विषयमा झण्झट मात्र दिन लागे ।’ उनले प्राविधिकहरु गाउँलेलाई सजिलो पार्नेको लागि पठाएको वा अझ अप्ठेरो पार्न पठाएको हो भनी प्रश्न गरे ।

बेताली गाविस -३ का पुण्यबहादुर बस्नेत प्राविधिकहरु कमाउ धन्दामा लागेको बताए । प्राविधिकहरुले घर पास गर्ने भए कति पैसा दिन्छौ भनी हाकाहाकी पैसा मागेको उनको आरोप छ । उनले भने, ‘इन्जिनियरको काम घर हेर्ने हो कि कमाउने हो ? इन्जिनियरलाई सरकारले तलव दिँदैन ? यहाँका इन्जिनियर पैशा पाए घर पास गरिदिने भन्दै हिँड्छन् ।’

ओभरसियरबाट महिलामाथि बलात्कारको प्रयास

उता पुननिर्माण प्राधिकरणबाट सहरी विकास डिभिजन कार्यालय रामेछाप मार्फत टोकरपुर गाविसमा खटिएका एकजना सबइञ्जिनियर (ओभरसियर) ले गाउँगाउँमा महिलामाथि यौनजन्य दुर्व्यवहार गरेको स्थानीयको गुनासो छ ।

सो गाविसकी एक २४ वर्षीया महिलालाई ती ओभरसियरले वलात्कारको प्रयास गरेको आरोपमा उनी पक्राउसमेत परेका छन् ।

सानो चार वर्षको काखेनानीसँग घरमा एक्लै वस्ने ती महिलामाथि गएको मंसिर १४ गते साँझ कोही नभएको मौकापारी उनले ती महिलालाई वलात्कार गर्ने प्रयास गरेको स्थानीयको आरोप छ ।

पीडित महिला भाग्न सफल भई आफन्तकोमा गएर बसेकी थिइन् । सो घटना उनले बताएपछि स्थानीयहरुले जम्मा भई सब ओभरसियरलाई समातेर मंसिर १९ गते इलाका प्रहरी कार्यालय टोकरपुरमा बुझाएको सामुदायिक मेलमिलाप केन्द्र टोकरपुरका संयोजक प्रेमबहादुर थापा मगरले जानकारी दिए ।

पक्राउ परेका ओभरसियरमाथि जिल्ला प्रहरी कार्यालय रामेछापमा सोमबार जवरजस्ती करणी उद्योग अन्तर्गतको मुद्दा दर्ता भएको छ ।

आरोपीलाई प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा लिएको छ ।

दुर्व्यवहारका घटना धेरै छन् तर सार्वजनिक हुँदैनन्

टोकरपुर गाविसका ओभरसियरले महिलामाथि ठाउँठाउँमा दुर्व्यवहार गरेको घटना जानकारीमा आएको स्थानीय जीतबहादुर थापा मगरले बताए । घटना धेरै भए पनि अन्याय सहेर पीडा सार्वजनिक हुन नसकेको उनले बताए ।

उनलाई प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेपछि एकपछि अर्काे घटना भएको पीडित महिलाहरुले बनाउन लागेको मगरले बताए । उनले भने,- ‘उसले घटना धेरै गराइसकेको रहेछ । तर, कसैले केही भन्न सकेका थिएनन् । अहिले उसलाई समातेपछि पो महिलाहरु आफूहरुलाई समेत दुव्र्यवहार गर्न खोजेको सुनाउन थालेका छन् ।

पैसा मागेको प्राविधिकले स्वीकारे

बेताली गाविसमा आयोजना गरिएको एक सार्वजनिक सुनुवाईमा सेवाग्राहीसँग रकम मागेको कुरा प्राधिकरणका प्राविधिकले स्वीकार गरे । पुनः निर्माण प्राधिकरणका इन्जिनियर सुरज शाहीले आफूले पैसा मागेको कुरा स्वीकार गर्दै ख्यालख्याल गरेर मागेको बताए ।

उनले भने ‘मापदण्ड पूरा नगरी बनाएका घर स्वीकृत गर्न गोजी भरी पैसा दिन्छौ भनेर जिस्क्याएको मात्र हो, तर पैसै मागेको भने हैन ।’

सेवाग्राहीसँग प्राविधिकले पैसा मागेको कुरा ख्यालख्याल नभई साँचासाँच्ची भएको बेताली गाविसमा रहेको जनजागृति उमावि वेतालीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पुण्यबहादुर वस्नेत बताउँछन् । ‘प्राविधिहरु खराव नियतका साथ आएका छन् । उनीहरुबाट भूकम्प पीडितले सहयोग हैन, थप अप्ठेरो खेप्नु परेको छ’, बस्नेतले भने ।

गाविस सचिलाई टेर्दैनन् प्राविधिक

पुननिर्माण प्राधिकरणले प्राविधिकहरुलाई गाविस सचिवको मातहतमा रहेर काम गर्ने गरी गाविसमा पठाएको छ । तर, उनीहरु गाविस सचिवलाई मान्न तयार छैनन् ।

नेपाल सरकारको खरिदार तहका गाविस सचिवको मातहतमा रहेर अधिकृत तहका आफूहरुले काम गर्न नसक्ने प्राविधिक इञ्जिनिरहरु बताउँछन् ।

त्यसैले न त उनीहरु गाविस सचिवलाई टेर्छन्, न त गाविस सचिवहरुसँग समन्वय नै दर्छन् । तर, उनीहरुले काम गरेको हाजिरी प्रमाणित भने गाविस सचिवले नै गरिदिनु पर्छ ।

गाविस सचिव हकहित मञ्च रामेछापका उपाध्यक्ष समेत रहेका गाविस सचिव पुण्यप्रसाद बराल भने, गाविस सचिवको मातहतमा नरहने हो भने उनीहरुको हाजिरी प्रमाणित पनि गाविस सचिवले गर्न सक्दैनन् ।

तर, प्राविधिकरु भने आफूहरु सहरी विकास डिभिजन मार्फतको कर्मचारी भएकाले गाविस सचिवसँग आफूहरुको कुनै सरोकार नरहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment