+
+
Shares
रिपोर्ट :

सुकुमवासी बस्तीको त्रास : न हट्ने मन छ, न बस्ने साहस

आफू सुरक्षित स्थानमा जाने भन्दै कतिपय निस्किरहेका छन् भने कतिपय भने आफूसँग कुनै विकल्प नरहेको बताइरहेका छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ वैशाख ११ गते २०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्ती हटाउन अल्टिमेटम दिएपछि स्थानीयहरू सामान सार्न थालिएका छन्।
  • स्थानीयहरूले बस्ती हटाउने निर्णयबारे स्पष्ट जानकारी नपाएको र चिन्ता व्यक्त गरेका छन्।
  • प्रधानमन्त्री शाहले सुकुमवासी र अतिक्रमणकारी छुट्याउने र वास्तविक सुकुमवासीलाइ जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाउने बताएका छन्।

११ वैशाख, काठमाडौं । कोही सामान पोको पारिरहेका छन् । कोही बोलेरोमा सामान लोड गरिरहेका छन् । कोही आफ्नै बलबुतामा सामान बोकेर निस्कँदैछन् ।

शुक्रबार बिहान थापाथलीमा रहेको सुकुमवासी बस्तीमा पुग्दा स्थानीयहरू अन्यौलग्रस्त र त्रसित देखिन्थे । सरकारले बस्तीबाट सामान निकाल्न निर्देशन जारी गरेदेखि उनीहरू शान्त छैनन् ।

बिहीबार बेलुकी नै सुकुमवासी बस्तीहरूमा सुरक्षाकर्मीले बस्ती छाड्न माइकिङ गरेका थिए । अघिल्लो रात प्रहरी टोली गएर बस्तीमा छापा मारेको भोलिपल्ट प्रहरीले शुक्रबार बेलुकी ७ बजेसम्म सामान सारिसक्न भनेको थियो ।

त्यसैको प्रभाव शुक्रबार बिहान स्पष्ट देखिन्थ्यो । आफ्नै सामान सार्ने दाउमा रहेका उनीहरूलाई अन्य मानिससँग बोल्ने मुड थिएन । बरु कसरी हुन्छ, भएका सम्पत्ति जोगाउनु नै उनीहरूको लागि ठूलो विषय थियो ।

‘भोलि यही भएकै सम्पत्ति पनि भत्काइदेला । पहिला महानगर प्रहरी आउँदा पो पुलिस (नेपाल प्रहरी) ले रोक्थ्यो । अहिले त उनीहरू नै आउने रे,’ सामान सार्दै गरेकी गीता लामाले शंका गरिन्, ‘अब कसैको केही लाग्दैन यहाँ । अब हाम्रो भाग्यमा यस्तै त रहेछ नि ।’

छाप्रोबाट सामान निकाल्दै गरेकी उनलाई कसैसँग बोल्न मन थिएन । आन्दोलन गर्ने भन्दै आएकाहरूसँग पनि रिस थियो । सबै आफ्नै स्वार्थका लागि आएको बुझाइ उनको थियो । मिडिया, सरकार र अभियन्ता सबैसँग आजित सुनिएकी उनी फोटो खिच्न र थप प्रतिक्रिया दिन मानिनन् ।

बरु आक्रोशित हुँदै थपिन्, ‘गएर भनिदिनुस्, सरकारलाई । हाम्रो आँसु पनि एकदिन लाग्छ ।’

यसरी सुकुमवाससीहरू आक्रोशित हुनुमा उनीहरूले नपाएको स्पष्टता थियो । सरकारले एकाएक बस्ती हटाउने गति बढाएको देख्दा उनीहरूको मनमा विभिन्न कुरा खेलिरहेका थिए । किन र के दिनका लागि सरकारले आफ्नै नागरिकका टहरामा डोजर हान्दै छ भन्ने कुराको भेउ पाएका थिएनन् ।

अझ बुधबार छापा मार्न आएका र बिहीबार माइकिङ गरेका प्रहरीले पनि स्पष्ट केही नभनेकोमा उनीहरू आक्रोशित थिए । ‘अशक्त र अपाङ्गतालाई प्राथमिकता दिएर सामान सार्नु, बस्ती छाड्नु । नत्र क्षतिको जिम्मा सरकारले लिँदैन भन्यो । एकाएक किन यसो गरेको हो बुझ्न सकिएन,’ सुकुमवासी बस्तीमा आफ्नो घरको दलिनमा टोलाइरहेका जंगबहादुर मगरले भने ।

मगरले भने त्यसबेलासम्म सामान सार्ने सुर कसेका थिएनन् । सबै सम्पति पोको पारेर तयारी अवस्थामा रहेको उनी शुक्रबार साँझतिर कतै सार्ने तरखरमा थिए । श्रीमती र छिमेकीसँग भलाकुसारी गरिरहेका उनले चिन्तित हुँदै थपे, ‘यत्रो समय बसेको मान्छे । छोड्नेबेला निकै नरमाइलो लाग्ने रहेछ ।’

यसरी कोही आफ्ना सामान कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा रहँदा केही भने आन्दोलित बनिरहेका थिए । जेनजी अगुवा अमित खनाल (ऊर्जा), मोनिका निरौला, लक्ष्मी घिमिरे लगायतका युवाहरूको साथ लिएर केहीले नाराबाजी गरिरहेका थिए ।

‘डोजर आतंक बन्द गर ।’

‘सुकुमवासी आवासको हक सुनश्चित गर ।’

‘निरंकुश सरकार चाहिँदैन ।’

‘शहर सुन्दर बनाउ, तर मान्छे विस्थापित नगर ।’

‘वास्तविक सुकुमवासी पहिचान गर ।’

‘योजनाविना हटाउने काम बन्द गर ।’

‘डोजर होइन, न्याय चाहिन्छ ।’

सुकुमवासी बस्तीमा यस्ता नाराहरू गुञ्जिएका थिए । प्रदर्शनकै क्रममा सरकारमा जानुअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने भन्दै दिएको अभिव्यक्ति सम्झिए । र, लामिछानेलाई अब छाती थाप्न बस्तीमा आउन आग्रह समेत गरे ।

सुकुमवासी बस्तीको गेटमा नाराबाजी भइरहँदा बस्तीमा आउनेहरूको भिड बढ्दो थियो । क्रमश: विभिन्न समूहमा व्यक्तिहरू थपिन थाले । मिडिया र अभियन्ताको संख्या बढ्दै गएपछि स्थानीयहरूको टिप्पणी थियो, ‘अब विभिन्न स्वार्थ समूह आउँछन् । यिनीहरूले राजनीति गर्छन्, क्षति त हाम्रै हुन्छ नि ।’

हुन पनि त्यहाँको कतिपय दृश्यले त्यही बताइरहेको थियो । विभन्न समूह–समूहमा रहेर स्थानीयका अन्तरवार्ता गर्नेहरू कतिपय असंवेदनशील र उनीहरूलाई ‘प्रोभोक’ गर्ने किसिमको थियो ।

विभन्न दलका कार्याकर्ता पनि त्यहाँ थिए । बस्तीका गल्लीहरूमा स्थानीय भन्दा अन्य अनुहार भेटिन थालेका थिए ।

तर, बस्तीका मानिसलाई भने बेग्लै तनाव थियो । उनीहरूलाई आफ्नो सामानको व्यवस्थापन नै ठूलो थियो । यसपटक सरकारसँग भिड्न नसकिने मोटामोटी आँकलन उनीहरूको थियो । तर, सरकारले कसरी उद्धार गर्छ र कहाँ लग्छ भन्नेबारे भने उनीहरू बेखबर हुँदा चिन्ता थप बढाएको थियो ।

कतिपयले हामी मिडियाकर्मीलाई नै सोधिरहेका थिए, ‘लजमा लग्छ भन्छन् । कहाँ छ त्यो ?’

कतिपयलाई लागेको छ– सरकारले दिने भनेको ठाउँमा आफ्नो सबै जहान पनि अट्दैनँ ।

सुकुमवासी बस्तीको गेटैमा नाराबाजी हेरिरहेकी गीता लामाले अनलाइनखबरसँग भनिन्, ‘अब बस्ती छाडेर जाँदा फेरि फर्कन नदेला, उता पनि राम्रो व्यवस्था छैन होला । न बस्ती छाडेर आफ्नै सुरले जाने ठाउँ छ, न यहाँ बस्ने साहस !’

यसरी सुकुमवासीहरू अन्यौलमा रहँदा शुक्रबार दिउँसो प्रहरीको गतिविधिले थप त्रसित बनायो । प्रहरीले थापाथलीको सुकुमवासी बस्ती नजिक सडक किनार क्षेत्रमा सीसीटीभी जडान कार्य थालेको थियो ।

यसबाट झन् सशंकित बनेका थिए, स्थानीय । उनीहरूलाई लागेको थियो – सरकारले जसरी पनि पेलेर पन्छाउने नीति लियो र त्यसकै लागि सबै निगरानी गर्न सीसीटीभी जोड्यो ।

यद्यपि, प्रहरीका अनुसार भने सुरक्षाका लागि सीसीटीभी जडान गरिएको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नियमित कार्यक्रम अन्तर्गत सीसीटीभी जडान भइरहेको जानकारी अनलाइनखबरलाई दिए ।

यसरी सुकुमवासी बस्ती अलमलमा रहँदा केही बस्तीबासी र जेनजी अगुवाहरू एकाएक सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालयमा आन्दोलन गर्न निस्किए । त्यहाँ गएर नाराबाजी र प्रदर्शन गर्ने उनीहरूको योजना थियो ।

सरकारले काठमाडौंको अतिक्रमित सुकुमवासी बस्ती हटाउन अल्टिमेटम दिएपछि त्यहाँ बसोबास गरिरहेकाहरूले रास्वपाको ध्यानाकर्षण गराएका थिए । सुकुमवासी संघर्ष समितिको तर्फबाट रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

उनीहरूले रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्यानाकर्षण पत्र बुझाए । ध्यानाकर्षण बुझाएर फर्किएका सुकुम्वासीका प्रतिनिधिले भने, ‘सरकारले सुकुमवासी बस्ती हटाउने भनेपछि यहाँ बस्तीमा बस्दै आएकाहरू वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालय घेराउमा गएका हौं ।’

उता केही प्रदर्शनकारी रास्वपा मुख्यालय पुग्दा यता नेता/कार्यकर्ता आउने क्रम जारी थियो । सोही क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राई थापाथलीस्थित सुकुमवासी बस्तीमा पुगे ।

सरकारले बिना विकल्प आफूहरूलाई हटाउन खोजेको भन्दै सुकुमवासीहरूले प्रदर्शन गरिरहेको समयमा थापाथली पुगेका सांसद राईले भने, ‘सुकुमवासीको पक्षमा हामी हुनेछौं । हाम्रो पार्टी हुनेछ । अरू पार्टीको जिम्मा लिन सकिन्नँ । म सधैं सुकुमवासीको हकका लागि बोलिरहन्छु ।’

default

राईले बोल्दै गर्दा पनि आफ्नो सामान पोको पार्ने र लाने क्रम चलिनै रहेको थियो । यसरी दिनभर अन्यौलग्रस्त र तनावमा रहेको सुकुमवासी बस्तीमा शनिबार डोजर लगाउने सरकारको योजना छ । त्यसैले शान्तिनगर, मनोहरासहितका बस्तीबाट स्थानीयले सामान सार्ने क्रम जारी राखेका छन् । आफू सुरक्षित स्थानमा जाने भन्दै कतिपय निस्किरहेका छन् भने कतिपय भने आफूसँग कुनै विकल्प नरहेको बताइरहेका छन् ।

सुकुमवासी बस्ती हटाउने सरकारको योजनाले समाज ध्रुवीकृत हुँदा प्रधानमन्त्री शाहले भने कसैले आत्तिनु नपर्ने बताएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री बालेनले एक स्टाटस लेख्दै भनेका छन्, ‘हामी सरकारमा छौँ अतिक्रमणकारी र सुकुमवासी छुट्याउने नै छौँ । देशभरका वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ । वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ । ढुक्क हुनुहोस् ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?