Comments Add Comment

सुजुकीको ट्रायल सेन्टर भाडामा लिन मापदण्डमै ‘सेटिङ’

लाइसेन्स कार्यालय खुले पनि ट्रायल सेन्टर छैनन्

suzuki-driveing-centre
२६ पुस, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सहज बनाउन भन्दै काठमाडौं उपत्यकाभित्र एकान्तकुनाबाहेक ठूलो भर्‍याङमा नयाँ कार्यालय खोलिसक्यो । आगामी २७ गतेदेखि सल्लाघारी र चाबहिलमा पनि लाइसेन्स कार्यालय पनि खुल्दैछन् । एकान्तकुनामा कामले भ्याइनभ्याई हुँदा खुलेको कार्यालय भने कामबिहीन भएको छ ।

ठूलो भर्‍याङमा खुलेको कार्यालयले नयाँ लाइसेन्स लिने र वर्ग थप गर्न चाहाने सेवाग्राहीलाई सेवा दिन सकेको छैन । अब नयाँ खुल्ने दुई कार्यालयले पनि यही नियति भोग्ने पक्का छ ।

नयाँ कार्यालयहरुमा लाइसेन्स नवीकरणको मात्रै काम हुनेछ । नयाँ लाइसेन्स जारी गर्न र बर्ग थप गर्न ३ वटै कार्यालयसँग ट्रायल सेन्टर छैनन् ।

ट्रायल सेन्टर नै नभएपछि नयाँ कार्यालयहरुले चाहेर पनि नयाँ लाइसेन्स वितरण गर्न सक्दैनन् । एउटा नयाँ कार्यालयले दिनमा ५ सय वटा लाइसेन्सका लागि आवेदन लिन सक्छन् ।

सुजुकीलाई भाडामा लिन चलखेल

तर, नयाँ कार्यालयका लागि ट्रायल सेन्टर निर्माण गर्न तत्काल सम्भव नहुने भन्दै विभाग यसप्रति गम्भीर बनेको छैन । विभागले नयाँ कार्यालयका लागि ट्रायल सेन्टर भाडामा लिन नखोजेको पनि होइन ।

व्यवसायी अरुण चौधरीको सुजुकी ड्राइभिङ सेन्टरलाई एकलौटी रुपमा १० वर्षका लागि भाडा दिन विभागका महानिर्देशकसहित लाइसेन्स कार्यालय एकान्तकुनाका प्रमुख लागिपरेका छन् । चलखेलकै कारण यो प्रक्रिया अलमलमा छ ।

विभागका महानिर्देशकमाथि टेण्डर आह्वान प्रक्रियामै अनियमितता र चलखेलको आरोप लागेको छ । ट्रायल सेन्टर भाडामा लिन बनाइएको मापदण्ड नै अहिले विवादित बनेको छ ।

मापदण्डमै सेटिङ

ट्रायल सेन्टर भाडामा लिने मापदण्ड यसअघि नै सुजुकी ट्रायल सेन्टर सञ्चालकसँग सेटिङ गरेर बनाइएको दावी विभागकै अधिकारीहरुको छ । एकान्तकुनास्थित सुजुकी ड्राइभिङ सेन्टरसँग मिलेर विभागका उच्च अधिकारीले नै उसैलाई मात्र ‘फिट’ हुने गरी मापदण्ड तयार गरेका थिए ।

मापदण्ड आफुको मात्रै पुग्ने भएकाले टेण्डर प्रक्रियामा सुजुकीमात्रै आएको थियो । तर, यो मापदण्ड निकै अब्यवहारिक र पूर्वनिर्धारित भएको भन्दै अन्य ट्रायल सेन्टर सञ्चालकले आलोचना गरेपछि प्रक्रिया शंकाको घेरामा परेको छ ।

विभागका एक उच्च अधिकारी भन्छन्-‘सुजुकीको ट्रायल सेन्टर भाडामा लिएबापत कमिसन खान यो सबै गरिएको थियो । मापदण्ड मै चलखेल गरेर अन्य ट्रायल सेन्टरलाई टेण्डरमा आउनै दिइएन ।’

यसमा विभागका महानिर्देशकदेखि लाइसेन्स कार्यालय एकान्तकुनाका प्रम्ख तेजनारायण यादबसम्मको संलग्नता रहेको दावी स्रोतको छ । सुजुकीका एजेन्टका रुपमा राजेन्द्र क्षेत्री सेटिङ मिलाउन लागि परेको विभागकै अधिकारीहरु बताउँछन् ।

मापदण्डमा पस्ने र निस्कने गेट छुट्टा-छुटै हुनुपर्ने, मुख्य सडकसँगैको सेन्टर हुनुपर्नेदेखि सुजुकीको ट्रायल सेन्टरसँग मेल खानेगरी पर्खालको उचाइ समेत राखेर टेण्डर गरिएको छ । त्यस्ता विभिन्न मापदण्ड काठमाडौंमा अन्य ट्रायलसँग मेल नै नखाने गरी तयार थियो ।

अब यो विवादमा परेपछि विभागले यसलाई सच्याएर नयाँ मापदण्ड बनाएर अर्को अर्को टेण्डार आह्वान गर्न विभागमाथि दबाव परेको छ । अहिले टेण्डर मूल्यांकनको क्रममा छ ।

तर, ट्रायल सेन्टर भाडामा लिनका लागि चलखेल भएको बाहिरिएपछि विभागका अधिकारीहरु टेण्डरको प्रक्रियालाई अघि बढाउन झस्किएका छन् ।

एकान्तकुनामा अनलाइन आवेदन लिन सुरु नगर्दासम्म दैनिक ५ हजार युवा नयाँ लाइसेन्सका लागि लाइनमा बस्थे । अहिले अनलाइन सिस्टमबाट दैनिक ५ सय भन्दा बढी आवेदन लिइएको छैन ।

तर, चारपांग्रेका लागि आवेदन बुझाउन पुगेका सबैले नयाँ लाइसेन्सको लागि प्रक्रिया थाल्न अझै ठूलो सास्ती भोग्नुपर्ने स्थिति कायमै छ । सेवाग्राहीले समस्या भोगिरहँदा खुलेका नयाँ कार्यालय पनि काम लागेका छैनन् ।

विभागका अधिकारीहरु मन्त्रीले काम गरेको देखाउन र रिबन काट्न मात्रै कार्यालय खोलिएको जस्तो भएको बताउँछन् । विभागका उच्च अधिकारी नयाँ कार्यालयका लागि ट्रायल सेन्टर मिलाउन पहिल्यै सेटिङ मिलाउन ब्यस्त भएको आरोप उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment