Comments Add Comment

रइसको प्रोमोसनमा हिँड्न नपाउँदा पाकिस्तानी अभिनेत्री दुःखी

mahira-khan1बलिउडमा यतिबेला शाहरुख खान अभिनित फिल्म ‘रइस’को खुबै चर्चा छ । सो फिल्मको टिम अहिले प्रोमोसनमा भिडिरहेको छ । तर फिल्मकी प्रमुख अभिनेत्री माहिरा खान भने ओझेलमा छिन् ।

माहिरा पाकिस्तानी अभिनेत्री हुन् । पाकिस्तानी कलाकारलाई खेलाएको फिल्म भनेर शिवसेनाले रइसको प्रदर्शनमा अवरोध गर्ने चेतावनी दिएको थियो । पछि माहिरालाई प्रमोसनमा सामेल नगर्ने भनेर शाहरुख खानले शिवसेनासँग कुरा मिलाएका थिए । त्यही भएर माहिरालाई फिल्मको प्रमोसनमा हिँडाइएको छैन ।

आफू अभिनित पहिलो हिन्दी फिल्मको प्रमोसनमा हिँड्न नपाएकोमा माहिरा निकै दुःखी छिन् । एक अन्तरवार्तामा उनले आफ्नो दुख पोख्दै भनिन्, ‘यो फिल्म मेरो लागि विशेष छ । जुन कलाकारलाई हेरेर म ठुली भएँ, उसैसँग काम गर्ने मौका पाएँ । आफ्नो देशभन्दा बाहिर गएर काम गरेँ । तर मलाई दुख छ कि म फिल्मको प्रमोसन गर्न सक्दिन ।’

माहिरा पाकिस्तानकी चर्चित अभिनेत्रीमा पर्छिन् । उनलाई पाकिस्तानकी माधुरी दिक्षित पनि भन्ने गरिन्छ । भारतीय टिभी दर्शकका लागि उनी नयाँ होइनन् । पाकिस्तानी टिभी सिरियल हमसफरमार्फत उनले लाखौं भारतीयहरुलाई फ्यान बनाएकी छिन् ।

रइसको विषयमा उनी अगाडि भन्छिन्, ‘यो फिल्ममा मैले आफ्नो ज्यान दिएकी छु । आशा गर्छु कि मानिसहरुले मन पराउनेछन् ।’

sharukh-and-mahira

करण जोहर निर्देशित फिल्म ए दिल है मुश्किलमा पाकिस्तानी अभिनेता फवाद खानको उपस्थितिलाई लिएर पनि विवाद भएको थियो । तर फिल्मको ट्रेलरमा उनलाई स्पेस नदिइनु र पोष्टरमा पनि नअटाएका कारणले ठूलो समस्या उब्जेन । तर माहिरा खान रइसको पोस्टरदेखि गीतसम्म छाएकी छिन् । दुई देशबीच सम्वन्ध बिगि्ररहेको बेलामा उनी पाकिस्तानबाट भारत आउन कठिन छ ।

माहिरा २०११ मा रिलिज भएको पाकिस्तानी फिल्म बोलमा देखिएकी थिइन् । भारतमा रिलिज भएका थोरै पाकिस्तानी फिल्ममा बोल पनि पर्छ । पछिल्लो वर्ष उनले फिल्म मन्टोमा काम गरिन् ।

माहिरा अचेल मिडियासँग खुलेर बोल्न पनि डराउँछिन् । आफूले पहिले बोलेका कुराहरुलाई लिएर भारतीयहरुले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेपछि उनी सचेत हुन थालेकी हुन् । उनी भन्छिन्, ‘दुई वर्षमा मैले यो सिकेकी छु कि सोचेर मात्रै बोल्नुपर्छ । पहिले म यति धेरै सोच्थिनँ । तर आजकाल बोल्न डर लाग्छ ।’ -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment