Comments Add Comment

केयू उपकुलपति माकाजुको पदभार ग्रहण कार्यक्रम प्राध्यापकहरुबाटै बहिस्कार

पूरा होलान् त प्रचण्डका पाँच सर्त ?

ramkantha-makaju-shrestha

९ माघ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डका पाँच सर्त पूरा गर्ने बाचासहित काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त भएका रामकण्ठ माकाजुको पदभार ग्रहण कार्यक्रम विश्वविद्यालयका प्राध्यापकहरुले नै बहिस्कार गरेका छन् ।

आइतबार बिहान साढे १० बजे माकाजुको पदभार ग्रहण कार्यक्रम थियो । तर, सो कार्यक्रममा रजिष्ट्रार, डिन र प्राध्यापकहरु कोही पनि सहभागी भएनन् ।

प्रधानमन्त्री एवम् कुलपति प्रचण्डले माकाजुलाई गत शुक्रबार दोस्रो कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेका थिए । उनी आइतबार धुलिखेल अस्पतालका डाइरेक्टर राजेन्द्र कोजु र प्रशासकीय अधिकृत दिपक दाहाललाई लिएर विश्वविविद्यालयमा पदभार ग्रहणका लागि पुगेका थिए ।

तर, ललितपुरको बालकुमारीस्थित काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा सातैजना डिन, प्रशासन प्रमुख, परीक्षा नियन्त्रक, प्रशासकीय अधिकृतहरु माकाजुलाई स्वीकार गर्ने कि नगर्ने भन्ने छलफलमा सहभागी थिए ।

यस्ता छन् प्रचण्डका पाँच सर्त

माकाजु यसअघि पनि काठमाडौं विश्वविद्यालयका उपकुलपति थिए । तर, उनको चार वर्षे कार्यकाल अख्तियारको दुरुपयोग गरेको लगायतका आरोपका कारण निकै विवादित भयो । त्यसैका कारण प्राध्यापकहरुले उनलाई पुनः नदोहोर्‍याउन दबाव दिएका थिए ।

तर, त्यही दबावका बीच प्रचण्डले शुक्रबार एकाएक चार वर्षे कार्यकालका माकाजुलाई नै नियुक्ति दिए । नियुक्ति पत्रमा हस्ताक्षर गर्नुअघि प्रचण्डले शिक्षामन्त्री एवम् सर्च कमिटी संयोजक धनिराम पौडेल, सदस्यहरु प्रा.डा. सुरेशराज शर्मा र दमननाथ ढुंगाना र माकाजुलाई समेत राखेर बालुवाटारमा बैठक बसालेका थिए । सो बैठकमा प्रचण्डले माकाजुसमक्ष पाँच सर्त राखेका थिए ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघलाई मान्यता दिनुपर्ने, नेपाल प्राध्यापक संघको सभापतिलाई सिनेटमा प्रतिनिधित्व गराउनुपर्ने, सेवा आयोग गठन गर्नुपर्ने, विद्यार्थी कल्याण परिषदलाई वैधानिकता दिनुपर्ने र जनार्दन लामिछानेलाई रजिष्ट्रार बनाउनुपर्ने प्रचण्डको सर्त थियो ।

माकाजुको नियुक्तिपत्र प्रसाईंले बुझे

बालुवाटार बैठकमा माकाजुले सहमति जनाएपछि प्रचण्डले नियुक्ति पत्रमा हस्ताक्षर त गरे तर, पत्र दिएनन् । बरु उनले दिउँसो दुई बजे प्रधानमन्त्री कार्यालयमा नियुक्तिपत्र लिन आउनू भन्ने निर्देशन दिए ।

यसो गर्नुको कारणबारे स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रचण्डले प्रधानमन्त्री कार्यालयमा बोलाएर सर्त पालनाको लागि पुनः बाचा खुवाउन चाहान्थे ।’

त्यसअघि नै माकाजु काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त भएका समाचारहरु मिडियामा आइसकेका थिए भने विश्वविद्यालय परिसरमा ‘पाँच करोडको पद’भन्ने चर्चा चलिरहेको थियो ।

प्रधानमन्त्रीको सचिवालय माकाजु नियुक्ति पत्र लिन आउने प्रतिक्षामा थियो । तर, माकाजुको नियुक्ति पत्र लिन पुगे झापास्थित बी एण्ड सी अस्पतालका दुर्गा प्रसाईं । प्रसाईं प्रचण्डका विश्वासपात्र मानिन्छन् भने बी एण्ड सी अस्पतालमा माओवादीको लगानी रहेको चर्चा छ ।

नियुक्तिपत्र सम्बन्धित व्यक्तिले नै बुझ्नुपर्नेमा प्रधानमन्त्रीको सचिवालयले माकाजुको नियुक्तिपत्र प्रधानमन्त्रीको सचिवालय सदस्यसमेत रहेका प्रचण्डका छोरा प्रकाश दाहालसँग निकट सम्बन्ध रहेका प्रसाईंको हातमा थमाएर पठायो । प्रधानमन्त्रीका पाँच सर्त पूरा गर्नुपर्ने बाचा बन्धनबाट जोगिन माकाजुले आफ्नो विश्वासपात्र व्यक्तिलाई सिंहदरवार पठाएको स्रोतले बतायो ।

माकाजुको नियुक्तिमा शिक्षामन्त्री नै असन्तुष्ट

सरकारले काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो । शिक्षामन्त्री एवम् सर्च कमिटी संयोजक धनिराम पौडेल जनार्दन लामिछानेलाई उपकुलपति बनाउनुपर्ने पक्षमा थिए । त्यसैले सर्च कमिटी सदस्यद्वय शर्मा र ढुंगानाले माकाजुको नाममात्र सरकारलाई सिफारिस गर्न दबाव दिइरहेका बेला पौडेलले लामिछानेको नाम समेत राखेर सिफारिस गरेका थिए ।

गत शुक्रबार बालुवाटारमा प्रचण्डले माकाजुलाई उपकुलपति बनाउने निर्णय सुनाएपछि मन्त्री पौडेल बैठक नै छाडेर हिँडेको स्रोतले बतायो ।

त्यसअघि प्राध्यापकहरुको छाता संस्था नेपाल प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले पनि माकाजुको सट्टा लामिछानेलाई उपकुलपति बनाउन माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

किन रोकियो लामिछानेलाई ?

काठमाडौं विश्वविद्यालय स्थापना भएको २५ वर्ष भयो, लामिछाने २४ वर्षदेखि त्यहाँ सेवारत छन् । बायो टेक्नोलोजी बिभागको प्रमुख रहेका उनी नाष्टको प्राज्ञसमेत हुन् । एसियाली राष्ट्रको विकासका लागि भन्दै चीनले ल्याएको ‘वान बेल्ट वान रोड’ रणनीतिमा चीनले विज्ञको रुपमा लामिछानेलाई पनि राखेको छ । यस रणनीतिमा विज्ञको रुपमा चीनले छनोट गरेको उनी एकमात्र नेपाली हुन् ।

janardan-lamichhane

चिनियाँ राष्ट्रपति सि जिनपिङले सन् २०१३ मा सार्वजनिक गरेको ‘वान बेल्ट वान रोड’ रणनीतिभित्र ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र ‘२१ औं शताब्दिको सामुदि्रक सिल्क रोड’ गरी दुई अवधारणा छन् ।

तर, लामिछानेलाई निक उपकुलपति हुनबाट रोकियो भन्ने कुराको खुलासा प्रधानमन्त्री प्रचण्ड स्वयमले पार्टीका आन्तरिक छलफलमा बताउने गरेका छन् । पार्टीको एक आन्तरिक छलफलमा प्रचण्डले ‘छिमेकीको दबाव’का कारण लामिछानेलाई उपकुलपति बनाउन नसकिएको बताएका थिए ।

छलफलमा सहभागीमा माओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘काठमाडौं विश्वविद्यालयको उपकुलपति बनाइए विश्वविद्यालय नै तहस नहस हुने भन्दै सर्च कमिटीका सदस्यहरुले बताउने गरेका थिए तर, एक दिन त प्रधानमन्त्रीले मलाई छिमेकी मुलुकको दबाव आयो पो भन्नुभो ।’

लामिछाने चीनको सबैभन्दा ठूलो सरकारी अनुसन्धान केन्द्र चाइनिज एकेडेमी अफ साइन्सेज (सी.ए.स)का डाइरेक्टरसँग निकट मानिन्छन् । सो अनुसन्धानको डाइरेक्टर चिनियाँ राष्ट्रपतिका सल्लाहकार हुन्छ । लामिछानेसँग ति डाइरेक्टर अनुसन्धान केन्द्रमा कुनै समय सँगै काम गरेका थिए ।

लामिछाने चिनियाँ राष्ट्रपतिका सल्लाहकारमार्फत् चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने नेपाल सरकारको प्रयासमा थप बल पुर्‍याएको उनी निकटस्थ स्रोतले बतायो । लामिछाने निकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘६ महिनाको बीचमा लामिछाने दुईपटक चीन गए । चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने प्रयासमा थप बल पुर्‍याउनु थियो । छिमेकीको दबाव आएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति यहीँनेर सान्दर्भिक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment