Comments Add Comment

सामुदायिक विद्यालयमा कम्प्युटर: विद्यार्थीले छुन पनि पाउँदैनन् !

students-thinking-about-computer

१४ माघ, झापा । झापाका अधिकांश सामुदायिक विद्यालयले कम्प्युटर शिक्षा सुरु गरेको भए पनि व्यवहारिक हुन सकेको छैन । केही अपवाद बाहेक प्रायः विद्यालयमा यो फगत देखावटीमा सीमित छ ।

जिल्लाका कतिपय शिक्षकले नै कम्प्युटर शिक्षालाई ‘विद्यार्थी बढाउने मेलो’ को रुपमा टिप्पणी गरेका छन् । ऐच्छिक विषयको रुपमा कम्प्युटर शिक्षा पढाइ हुने गरे पनि कतिपय विद्यालयमा कम्प्युटर नै छैन ।

प्रयोगशाला भएका विद्यालयमा दक्ष जनशक्ति छैनन् । कम्प्युटर भएका विद्यालयमा पनि कार्यालय प्रायोजनका लागि मात्र छ । सीमित सामुदायिक विद्यालयमा मात्र विद्यार्थीले कम्प्युटर ‘छुन’ पाउँछन् ।

किताबमा देखाउँदै, पढाउँदै

जनता मावि शरणामतीमा कक्षा ३ मा अध्ययनरत समर्पण प्याकुरेलले आफूहरु कहिल्यै कम्प्युटर ल्याबमा प्रवेश नगरेको सुनाए । ‘हामीलाई सरले किताबमा भएको कुरा देखाउँदै पठाउनु हुन्छ’, उनले भने, ‘देख्न भने पाएका छैनौँ ।’

यस विद्यालयमा कक्षा १, २, ३, ९, १०, ११ र १२ मा कम्प्युटर शिक्षा सुरु गरिएको भए पनि कक्षा ११ र १२ पढ्नेले मात्र कम्प्युटर चलाउन पाउँछन् । अन्य विद्यार्थीले भने छुन समेत नपाउने गरेको एक अभिभावकले गुनासो पोखे ।

भएका कम्प्युटर प्रशासनिक काममा

जिल्ला शिक्षा कार्यालय झापाले दिएको जानकारीअनुसार अहिले झापामा ३ सय ६५ सामुदायिक विद्यालय छन् । त्यसमध्ये करिब १ सय ५० विद्यालयमा कम्प्युटर शिक्षा पढाइ हुन्छ । तीमध्ये सीमित विद्यालयमा मात्र कम्प्युटर छ । कतिवटा विद्यालयमा कम्प्युटर छ भन्ने तथ्याङ्क जिल्ला शिक्षा कार्यालयसँग पनि छैन ।

‘कम्प्युटर शिक्षा पढाइ हुने विद्यालयमा कम्प्युटर हुनुपर्ने हो’, जिल्ला शिक्षा कार्यालय झापाका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले अनलाइनखबरसँग भने, ‘समयको मागअनुसार कम्प्युटर शिक्षा सुरु भएको हो ।’

विष्टले भने झैँ कम्प्युटर शिक्षा लागू गरिएका अधिकांश विद्यालयहरुमा कम्प्युटर त छन् । तर, अधिकांश ठाउँमा विद्यार्थीहरुका लागि नभई प्रशासनिक कामका लागि मात्र प्रयोग हुने गरेको छ ।

छैनन् दक्ष जनशक्ति

अधिकांश सामुदायिक विद्यालयले स्थानीय शिक्षासेवी, चन्दादाता, अक्षयकोष लगायतको सहयोगमा कम्प्युटर राखेका छन् । तर, त्यसलाई सञ्चालन गर्ने जनशक्ति छैन । कम्प्युटर शिक्षा सुरु भएको विद्यालयमा कम्प्युटरका लागि छुट्टै दरबन्दी छैन ।

‘छुट्टै शिक्षा दरबन्दी त छैन’, विष्टले भने, ‘कतिपय ठाउँमा स्थानीय स्रोतबाट शिक्षक राखिएको छ ।’

अधिकांश विद्यालयमा भने कम्प्युटर सम्बन्धी सामान्य ज्ञान भएका शिक्षकले नै कम्प्युटर पढाइरहेका छन् । जसले गर्दा सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा झारा टार्ने मेलोमा सीमित भएको छ ।

केही अपवाद 

यसका केही विद्यालय भने अपवाद पनि छन् । हिमालय माध्यमिक विद्यालय दमकमा कम्प्युटर ल्याब नै छ । त्यहाँ ६५ वटा कम्प्युटर राखिएका छन् । कक्षा ९, १०, ११ र १२ मा कम्प्युटर शिक्षा पठाइ हुने जिल्लाकै एक मात्र सामुदायिक विद्यालय हो यो ।

‘कक्षा ११ र १२ मा कम्प्युटर शिक्षा पढाइ हुने भए पनि शिक्षा कार्यालयले सहयोग गर्‍यो’, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शङ्कर बस्नेत भन्छन्, ‘यसरी १० वटा कम्प्युटर जोड्यौँ ।’

अन्य कम्प्युटरहरु भने स्थानीय स्रोतबाट जुटाइएको उनले सुनाए । ‘पूर्वविद्यार्थीहरुले पनि सहयोग गर्नु भयो’, उनले भने, ‘साथै, कम्प्युटर पढ्दै गरेका विद्यार्थीहरुबाट पनि न्यून शुल्क उठाएर कम्प्युटर खरिद गरिएको हो ।’

त्यस्तै, आदर्श माद्यमिक विद्यालय मेचीनगरमा पनि विद्यार्थीका लागि छुट्टै ल्याब बनाइएको छ । ‘हाम्रो कम्प्युटर ल्याबमा १५ वटा कम्प्युटर छन्’, उनले थपे, ‘पालैपालो विद्यार्थीले चलाउँछन् ।’

झापाका अन्य केही सीमित विद्यालयमा कम्प्युटर ल्याब छन् । अधिकांश विद्यालयमा भने नाम मात्रको कम्प्युटर शिक्षा छ । न त त्यहाँ कम्प्युटर शिक्षाका लागि दक्ष शिक्षक छन् न त प्रयोगशाला नै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment