Comments Add Comment

राष्ट्रकविको ९८ वर्षीय प्रेमः चखेवाको जोडीजस्तै !

माधव घिमिरे भन्छन्- अहिले हामीलाई एक-अर्को नभई चल्दैन

राजधानीको कपुरधारास्थित राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवास पुग्दा माथिल्लो तलामा केही चालचुल सुनियो । राष्ट्रकवि र उनकी जीवनसंगिनी महाकाली घिमिरे शीशादार कोठामा पारिलो घाम तापेर सुन्तलाको केस्रा छोडाउँदै, गफिँदै रहेछन् ।

(यो दम्पतीले विगत ६८ वर्षदेखि यसैगरी ‘सुन्तलाको केस्रा’ छोडाउँदै आएको छ ।)

हामीलाई भुइँतलाको बैठक कक्षमा पर्खन भनियो ।

एकछिनमा काठको भर्‍याङ ठमठम बजाउँदै एउटा गह्रुंगो पाइला तल ओर्लियो । नभन्दै उनै राष्ट्रकवि आफ्नो सदाबहार हँसमुख मुहारसहित प्रस्तुत भए ।

‘हामी हजुरको दाम्पत्य प्रेमको विषयमा कुरा गर्न आएका,’ अभिवादन गरेपछि हामीले आफ्नो कुरा राख्यौं ।

उनी मुस्काए ।

‘त्यसो भए त उनलाई पनि मञ्जुर गराउनुपर्‍यो नि ! माथि गएर मञ्जुर गराएर ल्याउनुस्,’ राष्ट्रकविले हामीलाई नै जिम्मेवारी बोकाए ।

माथि उक्लिँदा भान्सामा अलमल गरिरहेकी थिइन् कविपत्नी । उद्देश्य प्रष्ट्याएपछि गफिन तुरुन्तै राजी भइन् र तल ओर्लिइन् ।

सोफामा दायाँ पारेर राष्ट्रकविले धर्मपत्नीलाई साथमा बसाए ।

कुराकानी नथाल्दै उनले चिन्ता व्यक्त गरे, ‘उनलाई अलग्गै राखेर सोधेदेखि त निसंकोच भन्ने थिइन् । अब सँगसँगै राख्दा अनकनाउने हुन् कि !’

विषय प्रेमको जो थियो, कविज्यूलाई प्रेमको कुरामा पत्नी नखुल्लिन् कि भन्ने लागेछ ।

महाकालीले कविज्यूको शंका दूर गरिन्, ‘सँगै बसेर कुरा गर्दा मलाई केही फरक पर्दैन । हामी कुनै झगडा परेर बसेको भए पो त !’

‘ए, पर्दैन ? खप्पिस भइसकिछन् बोल्न’, कविज्यूले जिस्काउँदै पत्नीको तारिफ गरिदिए, ‘अन्तर्वार्ता मभन्दा यिनी राम्रो दिन्छिन् । मलाई त जतिसक्दो धेरै बोलूँ भन्ने हुन्छ । यिनी चाहिँ थपक्क अड्कलेर बोल्छिन् । ठीक छ । ल सुरु गरौं ।’

***

राष्ट्रकविले ‘बैशाख’ कवितामा प्रकृतिसँग जोड्दै प्रेमबारे मीठो चित्रण गरेका छन्-

‘आई कहिल्यै नसकिने चैत-बैशाख मेरा
लाई कहिल्यै नसकिने प्रीति नौलाख मेरा’

कवितामा प्रकृति, प्रेमको बयान गरेर नथाक्ने राष्ट्रकविको अन्तरवार्ता गर्नु तर प्रेमको परिभाषा नउधिन्नु स्वभाविक हुन्थेन ।

सोधियो, प्रेम के हो ?

उनले प्रेमलाई दुईवटा भागमा बाँडे । कामनाबाट सुरु भएको प्रेम र आध्यात्मिक भावनाबाट निःसृत प्रेम ।

‘एउटा उमेरमा वासनाबाट प्रेम सुरु भए पनि त्यो वासनालाई नाघेर जाने प्रेम अटुट बन्छ,’ उनी भन्छन्, ‘उमेर ढल्किएपछि कामना रित्तिँदै गए पनि प्रेम झन् गाढा हुन्छ ।’

‘श्रीमती माइत गई भने घरमा पुरुष नरमाइलो मानेर बस्छ । त्यो प्रेम नभई के हो ?’ उनले आफ्नो अनुभूतिजन्य प्रश्न तेस्र्याए ।

कविज्यूको अनुभवले भन्छ, प्रेम भन्ने जिनिस झिकिदिँदा हर चिज खल्लो र बेकामे बन्छ । प्रेम स्वच्छ भयो भने भगवानको भक्तिकै तहमा पुग्छ र त्यसबेला प्रेम र भक्ति छुट्याउन नै मुश्किल पर्छ । निकै अद्भूत र दिव्य चिज हो प्रेम ।

‘प्रेमका दुई यात्रीमध्ये एउटा चाँडै बितेर गयो र अर्को एक्लै भयो भने पनि प्रेम मर्दैन,’ यहाँ पनि उनको व्यक्तिगत अनुभूति छचल्कियो ।

‘वासनालाई उमेरले बोक्न छोडेपछि प्रेमको मिलनबिन्दु के हुन्छ ? बुढेसकालमा प्रेम केको सहारामा बाँच्छ ?’ एकै आशयका दुई प्रश्न सोधियो ।

राष्ट्रकविको यात्राले भन्छ, ‘उमेर ढल्किएपछि प्रेमका अरु रुप प्रकट हुन्छन् । यो उमेरमा सँगसँगै बस्दा मात्रै पनि रोमाञ्च अनुभव हुन्छ । तीर्थयात्रा जाँदा पनि हनिमुन गए बराबर हुन्छ ।’

***

राष्ट्रकवि घिमिरेले महाकालीलाई २००५ सालमा दुलही बनाएर भित्र्याएका हुन् । पहिलो पत्नी गौरी बितेपछि उनी राष्ट्रकविको वियोगको घाउ पुर्ने मलम बनेर आइन् ।

त्यसयताको ६८ वर्ष यो जोडी अनवरत् रुपमा एक-अर्काको सुख-दुःखमा घाम-छायासरि गाँसिएका छन् । ०१९ सालदेखि अहिलेको कपुरधाराको निवास नै यो जोडीको स्वर्ग हो । यो स्वर्गमा आठ सन्तान खेले, हुर्किए । अहिले तेस्रो पुस्ताको खेल्ने, रमाउने ठाउँ बनेको छ । प्रेमको व्यापकता यसरी फैलिएको छ, एक-अर्काको अनुपस्थितिमा पनि उनीहरु परिवारमा रमाइरहेका हुन्छन् ।

राष्ट्रकवि ९८ वर्ष पुगिसके भने जीवनसाथी ८३ वर्षमा हिँडिरहेकी छिन् । वयोवृद्ध उमेरमा दाम्पत्य प्रेमको किस्सा खोतल्दा आफूहरुको सहयात्रालाई उनले परेवा जोडीसँग तुलना गरे । ‘दुइटा परेवा र परेवी एकै ठाउँमा बस्छन्, एकैचोटि चारा टिप्न जान्छन्, तिनलाई प्रेम भनेको केही थाहै छैन । त्यस्तै हो’, पत्नीको पिठिउँमा प्रेमले स्पर्श गर्दै सोधे, ‘कि कसो ?’

मायाको थप व्याख्या गर्ने आफ्नो पालोमा मायालु हजुरआमाले भनिन्, ‘उमेरमा आफ्नो मर्यादामा बसेर प्रेम गरियो । अहिले चाहिँ आवश्यकताको प्रेम छ । हामीलाई एक-अर्का नभईकन चल्दैन ।’

यसैले उनको मायाको परिभाषा पनि त्यस्तै छ, माया भन्नु एक-अर्काको आधार र भर हो ।

त्यसो त उनीहरुको पारिवारिक संरचना संयुक्त परिवारको ढाँचामा छ । छोराहरु सगोलमै बस्छन् । परिवारमा हाँसीखुसी छ । तर, हरेक घरको कहानी उनीहरुको घरमा पनि छ । छोरा-बुहारीहरु काममा र केटाकेटी पढ्न जान्छन् । दिनभरि दुई जना एक-अर्काको दर्पण बन्छन् ।

‘यस्तो अवस्थामा हामीले एक-अर्कालाई नहेरेर हुन्छ ?’ उनले भनिन् ।

भनिन्छ, कुनै पनि दम्पती जीवनमा दुई पटक प्रेमको उत्कर्षमा पुग्छन् । पहिलो, बिहे गरेर बच्चा हुनु अगाडिको समयमा । दोस्रो, छोराछोरी हुर्किएर आफ्नो पेशा-व्यवसायमा व्यस्त भएपछि ।

घिमिरे २००५ सालमा लमजुङको गाउँशहर भन्ने ठाउँमा स्कूलका हेडमास्टर थिए । त्यही बेला महाकालीलाई दुराडाँडाबाट बिहे गरेर स्कूल नजिकैको डेरामा भित्र्याएका थिए । जुन बेला घिमिरे २८ वर्षका तन्नेरी थिए भने पत्नी भर्खर १३ वर्षकी किशोरी थिइन् ।

पतिको छिन्नभिन्न जीवन सम्हाल्नु र पहिलो पत्नीले नासोका रुपमा छोडेका दुई छोरीको हेरचाह गर्नु उनको प्राथमिक दायित्व थियो । तर, उनी आफैं भर्खरकी थिइन्, जेठी छोरीसँग टालाटुली पुतली खेल्थिन् ।

समय क्रममा उनले लेखपढ बाहेक घर-व्यवहारमा कुनै वास्ता नगर्ने श्रीमानको जीवनमा आफूलाई समाहित गरिन् । पूरा समर्पण भावले घर धानिन् ।

एउटा कविसँग दाम्पत्य जीवनमा रहँदा उनलाई कस्तो महसुस हुँदो रहेछ ?

कविपत्नीले यसलाई उदाहरणसहित बताइन्, ‘कुनै किसानले धान राम्ररी फलायो भने उसकी श्रीमतीलाई सबैभन्दा बेसी खुशी लाग्छ । उहाँले मीठा कविता लेख्दा मलाई पनि त्यस्तै खुसी लाग्छ ।’

महाकालीलाई जीवनमा सबैभन्दा खुसी पनि श्रीमानले राष्ट्रकवि पदवी पाउँदा लागेको रहेछ ।

***

कुराकानी गरिरहँदा कविज्यूले सुरुमा भने जस्तै अवस्था देखियो, पत्नी तौलेर बोल्छिन् भने उनी आफू लगातार बोलिरहँदा पनि थाक्दैनन् ।

प्रेम जस्तो मीठो कुरामा झन् उनी अनवरत बोलिरहने मूडमा देखिए ।

समय ढल्किए पनि सम्झनाको ऐनामा राष्ट्रकविले प्रेमको पालुवा उस्तै देखेका रहेछन् । ‘यो बेलामा मलाई एउटा कुरा लाग्छ’ भन्दै उनले रसिक प्रसंग जोडे, ‘पहिले बिहे गर्दा श्रीमान् र श्रीमतीले एक-अर्काको अनुहार जस्तो देखेको हुन्छ, जीवनभर त्यही रहन्छ । त्यो क्रमशः बिर्सेर गए पनि आवाज चाहिँ त्यही रहन्छ । हामी लोग्नेमान्छेको आवाज बदलियो भने पनि महिलाहरुको उही मीठो आवाज र उही रमाइलो व्यवहार रहिराख्छ ।’

यस्तो सांसारिक यथार्थ बताइरहँदा महाकाली मुसुमुसु हाँसिन् ।

उनले राष्ट्रकविको कम्पन मिसिएको सुललित आवाज मात्र मीठो लाग्छ भनिनन् । सबै आनीबानी र हाउभाउ राम्रो लाग्दो रहेछ । त्यसमा पनि मनमा लागेका कुरा खुलस्त भन्ने बानी मन पर्ने बताइन्, ‘बाहिर कतै कार्यक्रममा गएर आएपछि आज मैले यस्तो भाषण गरेँ, यस्तो भयो भनेर हामीलाई सप्पै सुनाउनुहुन्छ ।’

राष्ट्रकविलाई भने पत्नीले आफ्नो मनको कुरा कसरी बुझेको होला भनेर अचम्म लाग्ने गर्छ । जुन कुरा उनी सोचिरहेका हुन्छन्, त्यो कुरा मुखले भन्न नपाई पत्नीले पूरा गरिसकेकी हुन्छिन् ।

भोक लागिरहेको हुन्छ, अब खाना खाने हैन भनेर भान्साबाट बोलावट आइसक्छ । राति लेख्न भनेर ११ बजेतिर घोत्लिरहेका हुन्छन्, गाह्रो हुन्छ, सुत्नुस् भन्ने चिन्तित स्वर सुनिन्छ ।

‘जुन कुरा म आफ्नो निम्ति आफैंले विचार गर्दिनँ, मेरो निम्ति उनले विचार गरिराखेकी हुन्छिन्’, उनले दंग पर्दै सुनाए ।

***

यो जोडी विगत वर्षमा घुमफिर गर्न विभिन्न ठाउँमा निस्किरहन्थ्यो । दुई वर्ष अगाडिसम्म हरेक बिहान म्हैपी चौकतिर टहलिन्थ्यो ।

पछिल्लो समय भने सुगर र प्रेसरले दुवैलाई गलाएको छ । घरको आँगन नै अहिले जिउ तन्काउने मैदान बनेको छ ।

उमेरको हाँगो नुहेको छ । रमाइलो गर्ने तौरतरिका पनि फेरिएका छन् । पहिले मन चंगा हुन तीर्थयात्राको बाटो थियो, अहिले आपसी बातचितमै मिठास मिल्छ । बातचित गर्दा दुःख पनि सम्झिन्छन्, दुःखलाई टारेर पाएको सुखको पनि चर्चा हुन्छ ।

भिडियो 

राष्ट्रकविले मसिना जस्ता लाग्ने गहन कुरा गरे, ‘जीवनमा त्यस्ता दुःख पाइया थियो, तर त्यो दुःख उठाएर पनि आखिर घर बनाइयो, आनन्द भो हगि भनेर आफ्नो कुरा गरिन्छ ।’

हुन पनि उनी लमजुङको मास्टरी छाडेर २००९ सालतिर काठमाडौं आए । एक वर्षपछि पत्नी आइन् । त्यस क्रममा धेरै दुःख खेपे । तलबको भरमा आठ सन्तानलाई कसरी शिक्षादीक्षा दिए, व्यक्त गरिनसक्नुका कथा छन् ।

०१४ सालमा नेपाल एकेडेमीमा प्रवेश गरेपछि भने घिमिरेको जीवनमा केही उज्यालो छाएको हो । त्यसै क्रममा ०१९ सालतिर अहिले बसेको घरका चार दिवार ठड्याएका हुन् ।

चराको भाले र पोथी मिलेर चारा चर्न गए जस्तै सामान्य तर रमाइलो जिन्दगी छ यो जोडीको । यो रमाइलो भोगिरहँदा राष्ट्रकविलाई एक जना मात्र हुँदा त के बाँच्ने जस्तो लाग्दो रहेछ । जोडी हुँदा त एउटा फूलकै बारेमा पनि कथा बनेर समय बितेको पत्तो हुँदैन ।

दुवै जना कतै टहलिँदा कविज्यू फूल देखेपछि भन्छन्, ‘कति राम्रो फूल रै’छ ।’ पत्नी थप्छिन्, ‘ओहो, राम्रो रै’छ, यो त हामीकहाँ लगेर सार्ने हो ।’

आफूहरुलाई ‘मिलेर बस है’ भनेर कुनै शक्तिले नै पठाए जस्तो लाग्छ राष्ट्रकविलाई । ‘पति-पत्नीको रुपमा सँगै बसेपछि ठ्याक्क एक-अर्कालाई बुझ्ने मनोविज्ञान पनि बन्दो रहेछ’, उनले भने ।

सादापन रुचाउने राष्ट्रकविको पत्नी पनि सधैं सादगीमै रमाइन् । रहरलाग्दो उमेरमा पनि गहना र लुगा जोर्ने मोहमा परिनन् । तैपनि उनलाई कविज्यूले हरेक चिज पुर्‍याइदिएकै महसुस हुन्छ । सोच मिलिरहेकै लाग्छ ।

यस्तो सन्तोकी जीवनसंगिनी पाएर होला, राष्ट्रकवि निकै अनुगृहित भइरहन्छन् । आफ्नो घर-संसार सम्हालिएको र साहित्यिक संसारमा पनि सफलता पाएको भन्दै उनी यसको जस पत्नीलाई नै दिन्छन् । उनी भन्छन्, ‘महिलाहरुमा समर्पणको भावना नै महान् कुरा हो । पुरुषको सफलतामा हरेक पाइलामा साथ दिन्छन् । तर, पुरुषहरु त्यसो गर्न सक्दैनन्, अहंकारी हुन्छन् ।’

***

कहिले दार्शनिक व्याख्यामा देखिने राष्ट्रकवि बेलाबेला रसिक मूडमा प्रवेश गर्छन् ।

प्रेम र सौन्दर्य सायद आपसमा जोडिने विषय हुन् । यसैले उनले नेपाली महिलाहरुको सौन्दर्यको चर्चा गर्दै लवाइदेखि हेराइसम्मको बयान गर्न भ्याए ।

‘नेपाली महिलाको सौन्दर्य निकै जीवन्त हुन्छ । अरु चाहिँ कृत्रिम लाग्छन्, रङरोगन पनि जबर्जस्ती पोतिएको जस्तो । हेराइ पनि टर्रो किसिमको,’ कविता जस्तै शब्द खेलाए ।

नेपाली महिलाहरुको नरमपना र लाज लागेर अनुहार पाकेको स्वरुप जति प्राकृतिक लाग्छ, कडा स्वभाव पनि उनलाई उत्तिकै स्वाभाविक लाग्दो रहेछ ।

‘ए फलानाका बा, किन यस्तो गर्‍या, यसो गर्नुपथ्र्यो भनेर अर्डर पनि गर्न सक्छन्’, जिउ मर्काउँदै भने ।

राष्ट्रकविले राष्ट्रको डाँडा-पाखा र जनजीवन छामेका छन् । त्यस अनुसार पहाडका मान्छेको मनमा भरिएको प्रेम पनि देखेका छन् । ‘उनीहरुलाई प्रेम गर्‍या छ भनेर सोध्यो भने के गर्‍या रे भनेर उल्टै सोध्छन् । प्रेम भनेकै बुझेका छैनन् । तर, यसको मतलब उनीहरुमा प्रेम कम छैन ।’

यसको अर्को मतलब हो, प्रेमको हिसाब नगरी प्रेम गर्नु नै वास्तविक प्रेम हो ।

***

फुर्सदमा सँगै बस्दा उनीहरुबीच घरायसी कामबारे त्यति कुरा हुँदैन । महाकाली घरका सानातिना कुरा सुनाएर पतिलाई तनाव दिन्न चाहँदिनन् । धेरैजसो राष्ट्रकविको लेखाइकै कुरा हुन्छन् ।

राष्ट्रकविको कविता र गीतहरुको पहिलो जाँचकी पत्नी नै हुन् । खासगरी प्रेमको कविता र गीत पहिले पत्नीलाई सुनाएपछि मात्र उनी बाहिर सार्वजनिक गर्छन् ।

‘मैले लेखेका कुरा यिनले राम्ररी बुझिन् भने अरु मान्छेले पनि यो बुझ्छन् भन्ने ढुक्क लाग्छ’, पत्नीलाई कविता सुनाउनुको गाँठी कुरा खोले ।

महाकालीलाई राष्ट्रकविका सिर्जना अक्सर राम्रा लाग्छन् । बुझिने बुझिहालियो, नबुझिनेमा उनी कष्ट गर्दिनन् । पतिका फुटकर रचना निरन्तर हेर्दै, सुन्दै आए पनि सिंगो पुस्तक छिचोलेको चाहिँ ‘गौरी’ शोककाव्य मात्रै हो । यसो हुनुको कारण लेखपढको समस्या नै हो ।

‘मैले क, ख मात्र पढेको छु । पढाएको उहाँले नै हो । मेरा गुरु, श्रीमान् जे भने पनि उहाँ नै हो’, सरल लयमा भनिन् ।

यसलाई उनी सकारात्मक रुपमा अथ्र्याउँछिन्, ‘उहाँ विद्वान् र म सामान्य पढ्न जान्ने भए पनि हामी मिलेर बसेका छौं, यो एउटा नमुना पनि हो ।’

हिजो-आजको समयमा श्रीमान्-श्रीमती दुवै पढेलेखेको र जागिरे भएकोले घर चलाउन सजिलो हुने उनले समाजमा देखेकी छिन् । तर, उनले एक्लै जागिरमा खटिँदा श्रीमानले धेरै सहनुपरेको सम्भिmइन् ।

‘एक जनाको कमाइले आठ वटा छोराछोरीलाई पढाउने, बिहादान गर्नुपर्दा समस्या भयो’, गहिरो भावमा भनिन् ।

राष्ट्रकविले पत्नीको तारिफ गरिहाले, ‘देख्नुभो ? यिनको महत्ता त्यही हो ।’

एक-अर्काको गुण तौलिएरै उनीहरुको सम्बन्धको तराजु सन्तुलित बनेको प्रमाण हरेक रुपमा देखिँदै थियो ।

***

सम्बन्धमा गुलियो मात्र हुँदैन, तीतो-टर्रो पनि कतै हुन्छ । यो पाटो बिना प्रेमको रङ अपुरो पनि हुन्छ ।

यदि भित्ताको कान हुन्छ भने राष्ट्रकविको घरका भित्ताले पनि सुनेका छन्, यो जोडीले बेला-बेला झर्कोफर्को गरेको । रिसाएर स्वरको लय बिगारेको ।

कविपत्नीले सायद लुकाउन खोजिन्, ‘उहाँ रिसाएको त थाहा छैन । रिस आउँदो हो कहिलेकाहीँ, देख्या भने छैन ।’

तर, राष्ट्रकविलाई पत्नीको सेन्सरसिप चित्त बुझेनछ, बेलीविस्तारमा आफैं कस्सिए, ‘रिस त किन नउठ्ने ? तर, झोक्किने कुरा हो, एकैछिन मात्र । रिसाएर त जीवन चल्दैन ।’

सम्बन्धमा ठाकठुक हुनु स्वाभाविक भएको प्रसंग जोडिहाले, ‘झोक्किनु पनि पर्छ । एकसाथ राखिएका भाँडाकुँडा ठोक्किन्छन् । हामी देवीदेउता त होइनौं नि Û’
कविपत्नीलाई अन्तर्वार्ता भनेर गफमा घन्टौं मस्त हुने कविज्यूको बेहोशी ताल देखेर झोक चल्दो रै’छ ।

‘तल बैठकमा आएर कुरा गर्न थालेपछि खान र आराम गर्न पनि बिर्सिने गरेपछि अति हुन्छ’ उनले भनिन्, ‘रिस त उठ्दैन, यस्तो के गरेको चाहिँ भन्छु ।’

झन्डै सात दशकको सहयात्रामा महाकाली विगतका केही कुरा पनि सम्झिन्नन् । सम्झन लायकका क्षण नभएर हैन, जीवनमा सबै कुरा सहज लागेर ।

‘केही झैझगडा भएको भए पो मलाई यतिबेला यस्तो गर्नुभो, उतिबेला उस्तो भयो भन्ने हुन्थ्यो । केही छैन’, उनले सन्तोषको स्वर सुसेलिन् ।

राष्ट्रकविको मुहारमा अझ उज्यालो पोतियो । यो रङ प्रेमको गाढापन नभए के थियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment