Comments Add Comment

हाकिम सा’ब, जागिर पाउन हामीले जवानी दिनुपर्ने ?

गत वर्ष स्नातक पास गरेकी चिनजानकै एक बहिनीले ६ महिनाअघि एउटा प्राइभेट कम्पनीमा प्रशासन सहायकको काम पाइन् । जागिर नपाएर हैरान भएकी बहिनी काम गर्न थालेको दिनमा निकै खुसी थिइन् । आफन्त र साथीभाइलाई लड्डुसमेत बाँडेकी थिइन् ।

‘म पनि आत्मनिर्भर बन्ने भएँ, अब बाआमासँग पैसा माग्नु पर्दैन’, बहिनीको खुसी खासमा त्यहाँनेर लुकेको थियो ।

त्यसपछिका दिनमा फोनमा बेलाबेला उनीसँग कुरा भइरहे पनि भेट हुने संयोग मिलेको थिएन । अस्ति अफिसबाट र्फकदै थिएँ, उनैले वानेश्वर संसद् भवनको अगाडि बोलाइन् ।

भेट हुनासाथै सोधेँ, ‘काम कस्तो चल्दै छ बहिनी ? प्रशासनको काम कत्तिको सिक्यौ ?’
सधैं उज्यालो देखिने बहिनीको मुहार त्यसदिन फुङ्ग उडेको थियो । सोचेँ, दिनभरिको कामको थकानले गलेकी होली ।

बोझिलो लबजमा बहिनी बोलिन्, ‘दिदी, अब यस्तो जागिर गर्दिनँ । हिजोदेखि बन्द भो काम ।’

जागिर खाएपछि उत्साही देखिएकी बहिनीको त्यो जाँगर कति चाँडै मरेछ भनेर अचम्म लाग्यो ।

‘प्राइभेट अफिसमा कामको चाप अलि बढी नै हुन्छ, कहाँ हरेश खाएकी बहिनी’, उसलाई हौस्याउन खोजेँ ।

तर, बहिनीको कहानी अर्कै रहेछ । उनले आफ्नो बह पोखिन्- ‘काम गर्ने मन नभएको होइन, काम नगरेको पनि होइन । तर, हाकिम कस्तो रै’छ दिदी…’ उनको बोली अड्कियो ।

‘के भयो भन न’, जान्न खोजेँ । बहिनीको अँध्यारो मुहार झन् ओइलायो ।

एक साता अगाडिदेखि हाकिमले उनीप्रति नराम्रो व्यवहार देखाउन थालेका रहेछन् । अफिसमा कार्यरत बहिनीसहितका पाँच जना महिला कर्मचारीलाई सुरुको समयमा उनले खुब फुक्र्याएछन्, ‘हेर, तिमीहरु सबै मेरा बहिनी र छोरीहरु जस्ता छौ । म तिमीहरुको बोस मात्रै होइन, अभिभावक पनि हो । ढुक्कसँग काम गर, ६ महिना पुगेपछि पक्रिया पुर्‍याएर स्थायी वा करारको व्यवस्था मिलाउँछु ।’ अरु चार जना पुराना स्टाफ भए पनि बहिनी भने नयाँ कर्मचारी थिइन् ।

बहिनीको स्वभाव अलि हक्की खालकै थियो । कतिपटक त गाडीमा आफूलाई जिस्काउने केटालाई थप्पड समेत हानेकी थिइन् । छोरी आँटिली छे भन्दै बा-आमा पनि तारिफ गर्छन् । यस्ती हक्की स्वभावकी बहिनी जागिर खाएको ६ महिनामै हाकिमबाट प्रताडित हुन पुगिछन् ।

उनले आफ्नो कहानी सुनाउन थालिन्, ‘काम गरेको ६ महिना पुगेको अस्तिको दिन हाकिमले आफ्नो कोठामा बोलाए । ६ महिनामा स्थायी वा करारको पत्र दिउँला भनेर मौखिम वचन दिएका हाकिमल पक्कै केही शुभ खवरको लागि बोलाए भन्दै म हतारिँदै हाकिमको कोठामा छिरेँ । मलाई त हाकिमले शिरदेखि पाउसम्म एकोहोरो हेरिरहे । कोठाको ढोक लक गरे ।

सरले के कामले बोलाउनुभएको भनेर सानो स्वरमा जिज्ञासा राखेँ । ल बस भन्दै उनले अगाडिको तीन वटा कुर्सी खाली हुँदाहुदै मलाई कुनाको कुर्सीमा बसाए । आफू बसिरहेको कुर्सीबाट जुरुक्क उठेर सँगै कुर्सी टाँसेर बसे ।

असहज महसुस भएर म उठ्न खोजेँ । तर, हाकिमले हातमा समाएर त्यहीको कुर्सीमा राखे । त्यो दिन हाकिमले देखाएको हर्कतले मेरो होसहवाश नै उड्यो । किन टाढा सरेकी भन्दै हाकिम झनै मसँग टाँसिन खोजे । मैले हातले हाकिमको हात पन्छाउन खोजे पनि उनी घरि मेरो कपाल मुसार्थे, घरी गाला सुम्सुम्याउँथे ।

त्यसै क्रममा हाकिमले भने, ‘तिम्ले काम गरेको पनि ६ महिना पुग्यो, अब तिम्लाई म स्थायी गराउँछु । स्थायी भएपछि तिम्रो तलबबाट १० प्रतिशत सञ्चयकोषमा पनि जम्मा हुन थाल्छ । तलब पनि बढाइदिन्छु ।’

यति भन्दै झन् टाँसिन खोजे । म उठेर कोठाबाट निस्किन लाग्दा हाकिमले झन् चेपारो घसे, ‘कहाँ जान लागेकी, अझै कुरा सकिएकै छैन । अरु स्टाफहरु फिल्डमा गैसके । आज अफिसमा तिमी र म मात्र हो, किन डराएकी लाटी ?’

मेरो दिमागले काम गर्न छाड्यो, मैले उनीसँग आग्रह गरेँ, ‘मेरो हात छोड्नुस् सर । बिन्ती छ मलाई यस्तो व्यवहार नगर्नुस् । हिजो तिमीहरु मेरी छोरी र बहिनी हौ भन्ने अनि आज यस्तो व्यवहार गर्ने ? तपाईका छोरीलाई अरुले यस्तै व्यवहार गर्‍यो भने तपाईंलाई कस्तो लाग्छ ?’ यति भन्दा पनि हाकिम मप्रति दयालु बनेनन् ।

उनले घरमा छोरी र दिदीबहिनीहरु भए पनि तिमी जस्ता छैनन् नि भन्दै निर्लज्जता देखाए । गर्धनमा राखेको हात निकालेनन् । केही सीप नलागेपछि मैले दाँतले उसको हात टोकिदिएर बाहिर निस्किएँ । नरकबाट मुक्ति पाएँ दिदी अब म त्यो अफिसमा फर्केर कहिल्यै जान्नँ ।’

पाँच महिनाको तलब पाएकी उनले पछिल्लो महिना २५ दिन काम गरेकेा तलब नलिईकन रुँदै अफिस छाडिन् ।

‘प्राइभेट अफिसमा कहिल्यै जागिर खान्नँ दिदी म अब लोकसेवा पढेर कानुन अधिकृत बन्छु । सरकारी अफिसमा यस्तो हर्कत गरेको भए त्यो हाकिमको जागिर जान्थ्यो, तर उसकै अफिस पर्‍यो, कसले जागिर खाइदिने ? कानुन अधिकृत भएपछि यस्ता हाकिमलाई ठेगान लगाउने धोको छ मेरो त’, बहिनीले आँटिलो कुरा गरिन् ।

‘हिंसा गर्नेभन्दा हिंसा सहने अपराध हो भन्ने थाहा छ, महिलालाई घुरेर हेर्दा त यौन हिंसाको बात लाग्छ भने त्यो हािकमले ममाथि कस्तो व्यवहार गरेेको छ । त्यसको हिसाबकिताव गर्ने धोको छ’ उनी भन्दै थिइन् ।

उनको अफिसका बाँकी चार जना केटीलाई हाकिमले आफ्नो खेलौना जस्तै बनाएको रहेछ । उपत्यका बाहिर फिल्डमा काम छ भन्दै पालैपालो लिएर जाने रहेछ । यी बहिनीलाई पनि त्यस्तै केटी ठानेछ उसले । तर, बहिनी त आत्मनिर्भरसँगै आत्मसम्मानमा जिउने सोचकी थिइन् । उनी भन्दै थिइन्, ‘बरु भोकै बस्छु, यस्तो जागिर खानु छैन ।’

बहिनीको कुराले भित्रभित्रै पिरोल्यो । आफ्ना छोरी तथा दिदीबहिनीको इज्जत चाहनेले अर्काका छोरीचेलीमाथि किन यति हदसम्मको घृणित व्यवहार गर्छन् होला ? इज्जत तिनका आफन्तको हकमा मात्र लागू हुने हो ?

बहिनीले सरकारी जागिरमा त्यस्ता मान्छे नहोलान् भन्ने सोचे पनि त्यहाँ पनि कहाँ कम छन् र !

उनलाई सम्झाउन खोजेँ, ‘मान्छेको प्रवृत्ति हो बहिनी, सरकारी र प्राइभेट संस्था भन्ने कुरा होइन । बेलाबेलामा कत्रा उच्चपदस्थ सरकारी कर्मचारीका युवती काण्ड बाहिर आउँछन् ।’

हाकिमको खेलौना भएर प्रमोसन र पुरस्कार चाहने केही महिला कर्मचारीका कारण सिङ्गो कार्यक्षेत्र नै बदनाम हुने गरेको छ ।

बाटोमा मकै पोल्ोर र नाङ्लोमा बदाम बेचेर जीविका चलाउने इमानदार महिलाको यहाँ कुनै इज्जत गरिँदैन । तर, आफ्नो इज्जत बेचेर रवाफ देखाउँदै हिँड्ने महिलाहरुको सबैले वाहवाही गर्छन् ।

आज यो बहिनी हाकिमले भनेको कुरा मानिदिएको भए स्थायी हुने थिइन्, तलब बढ्ने थियो । हाकिमले फिल्डको नाममा कारमा चढाएर विभिन्न ठाउँमा घुमाउन लगेको मूल्य उनले बेचेर अस्मिता बेचेर तिर्नुपथ्र्यो । तर, बहिनीको आत्माले स्विकारेन र यति कुरा बाहिर आयो । सबै युवतीहरु हाकिमसँग मस्ती गर्ने खालका हुँदैनन् भनेर उनी एक उदाहरण बनिन् ।

त्यसो त सबै युवती इज्जतदार पनि हुँदैनन् । कुनै अमूक कार्यालय र कम्पनीमा पैसाको नाममा बिक्ने ती सीमित समूहले बाँकी महिला कर्मचारी पनि खोटा नै हुन्छन् भन्ने छाप पारेका छन् ।

उनीहरुले आफनो इज्जत त बेच्छन् नै, अरुको इज्जतको पनि ख्याल राख्दैनन् । पैसावालको साथ पाएपछि घरपरिवार, आफन्त र छरछिमेकको केही वास्ता हुँदैन । लोग्नेमान्छेलाई पनि बाहिर कोही रुपवती देखेपछि सात फन्को घुमाएर भित्र्याएकी श्रीमतीप्रति बेइमानी गर्दै छु भन्ने कुराको हेक्का रहँदैन ।

केही समयअघिको एउटा घटनाले अझै पनि मन पोलिरहन्छ । एउटा निकै नाम चलेको अडिट र्फमका हाकिमलाई नयाँ नियुक्त भएकी महिला कर्मचारीले गालामा चप्पलको डाम हिर्काएपछि घटना सार्वजनिक भएको थियो ।

१२/१५ जना महिला काम गर्ने उक्त र्फमका हाकिमले महिलामाथि चरम शोषण गर्दै आएका थिए । ती युवतीले थप्पड हानेपछि बल्ल अरु महिला कर्मचारी एकजुट भएर हाकिममाथि खनिएका थिए ।

इज्जत बेचेर खानेहरुलाई त भनेर लाग्ने कुनै शब्द पनि छैन । तर, आफ्नो आचरणमा बसेर श्रमको कमाइ खानेहरुमाथि गिद्दे नजर लगाउनेहरुलाई तह लगाउन अलि कडा स्वभावकै हुनुपर्ने रहेछ भन्ने अनुभव मेरो पनि हो । सुरुदेखि नै कडा स्वभाव देखाउने हो भने हत्तपत्त कसैले नराम्रो आशय राख्ने हिम्मत गर्दैन । तर, सोझो देखिने मान्छेलाई अनेक कोणबाट एक्ल्याउने र स्वार्थ सिद्ध गर्ने प्रवृत्ति देखिन्छ ।

जहाँसुकैको कार्यालय र संघसंस्थाका हाकिम र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुलाई मेरो आग्रह छ, तपाईंको अफिसमा जागिर खान आउने सबै युवती जवानी बेच्न आएका हुँदैनन्, महिनाभरि श्रम गरेर त्यो वापतको वेतन लिन आएका हुन् । त्यो कमाइले उनीहरु आफू र परिवारको गुजारा चलाउँछन् ।

कतिपय तपाईंहरुका स्वार्थ अनुकूल चल्ने खालका पनि होलान् । तर, इज्जतमा बसेर पसिनाको कमाइ खानेमाथि गिद्दे नजर नलगाउनुस् । कम्तीमा कसैमाथि घिनलाग्दो सोच राख्नुअघि आफ्ना छोरीचेलीमाथि कसैले यस्तो सोचे कस्तो लाग्छ भनेर सोच्नुस् । ता कि यी बहिनी जस्तो एक

महिनाको तलब छोडेर इज्जत जोगाउन अरु युवतीहरु बाध्य हुनु नपरोस् ।

हाकिम सा’ब, अलिकति कुर्सीको मर्यादा पनि ख्याल गर्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment