Comments Add Comment

संविधान संशोधनका कुनै पनि बुँदा पारित हुन नदिने एमालेको घोषणा

टीकापुरबाट नेताले भने- मधेसी र थारुलाई झुक्याइँदैछ, होसियार रहनुस्

२ चैत, टीकापुर । सरकारले सीमांकन हेरफेर बाहेक अन्य तीन बुँदामा संविधान संशोधन विधेयक पारित गर्ने पहल थालेलगत्तै प्रमुख विपक्षी नेकपा एमालेले कुनै पनि हालतमा पारित हुन नदिने घोषणा गरेको छ ।

भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषय पनि मधेसमा मधेसी र थारुलाई नै कमजोर बनाउने गरी आएको एमालेको आरोप छ ।

मेची महाकाली राष्ट्रिय अभियानका क्रममा बर्दियाको राजापुर र कैलालीको टीकापुरमा भएका आमसभालाई सम्बोधन गर्दै एमालेका शीर्षस्थ नेताले सरकारले ल्याएको संविधान संशोधनका कुनै पनि प्रस्ताव मधेसी र थारु समुदायको हितमा नभएको दाबी गरे ।

टीकापुरको सभालाई सम्बोधन गर्दै एमाले बरिष्ठ नेता झलनाथ खनालले भने- तपाई थारु र मधेसीहरुलाई संविधान संसोधनको जालमा पार्ने खेल भइरहेको छ । तर, एमालेले सीमांकनमात्र होइन अंगीकृत नागरिकता, हिन्दी भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्व असन्तुलित गर्ने कुनै पनि प्रस्ताव पारित हुन दिँदैन ।

एमाले उपाध्यक्ष भीम रावलले पनि संविधान संशोधनबाट मधेसी र थारुको अधिकार खोसिने भएकाले भ्रममा नपर्न थारु समुदायलाई अपिल गरे । राजापुरको सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले पहाडी र थारु समुदायलाई अलग गरेर प्रदेश विभाजन गर्न खोजिएकाले त्यसको प्रतिवाद गर्न थारुलाई आग्रह गरे ।

एमाले पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीले सीमांकन हेरफेर गर्न नसकेपछि सरकार मधेसी र थारुलाई अल्पमतमा पार्ने गरि अंगीकृत नागरिकता खुकुलो बनाउने र हिन्दी भाषालाई प्रदेशहरुमा कामकाजको भाषा बनाउने राष्ट्रहित विपरीतको खेलमा लागेको आरोप लगाए ।

टीकापुरको सभालाई सम्बोधन गर्दै एमाले नेता हनुमान चौधरीले कैलालीका थारुलाई दुई नम्बर प्रदेशमा चुनाव हारेका मधेसी नेताहरुले आएर उत्तेजित बनाएको भन्दै अब भ्रममा नपर्ने बताए । उनले संविधान संशोधनबाट थारुका कुनै पनि माग सम्बोधन नहुने भन्दै कैलाली जिल्ला बिभाजनको षडयन्त्रप्रति सजग रहन आह्वान गरे ।

एमालेको अभियान बुधवार गुलरियाबाट विभिन्न थारु बस्ती हुँदै राजापुरमा पुगेको थियो । राजापुरको सभापछि ७ नम्बर प्रदेश गरेको अभियान टोलीलाई प्रदेश संयोजक भीम रावलले कर्णाली पुलमा स्वागत गरे । टीकापुरको सभापछि एमालेको अर्को सभा महेन्द्र राजमार्गको लम्कीमा भएको छ ।

बर्दिया र कैलालीका बिभिन्न स्थानमा परम्परागत पोशाकमा सजिएका थारु समुदायले एमाले नेताहरुको स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment