Comments Add Comment

साझा पार्टी र विवेकशील नेपालीका नाममा

पुराना पार्टीबाट आशा गर्ने दिन सकियो

२०४७ सालको संविधानपछि अनि माओवादी जनयुद्धको समापन भएर संविधान आउनुअघि नेपाली राजनीतिका दुर्इ कालखण्डमा निकै राजनीतिक प्रयोग र घटना परिघटना भए ।

ती समयमा मूलत: भइरहेका पार्टीहरूले आफ्नो पुरै समय र ऊर्जा शक्ति प्राप्त गर्न र शक्तिमा टिकिरहन कुसंस्कृत राजनीतिको अभ्यास गरे । खराब राजनीतिक संस्कार र परिपाटी, अस्थिरता अनि कम्जोर व्यवस्थापनले गर्दा जनतामा सेवा पुर्‍याउने र देशको विकास गर्ने कुरा सधैँ पछि पर्‍यो । युवाहरू निराश भए, विदेशिए; देशमा बस्ने जनताको जीवन मूल्यबृद्धि, कम्जोर नियम कानून र सुशासनले गर्दा झन् खस्कियो । त्यसमाथि महाभूकम्प अनि नाकाबन्दीपछि त अहिलेका पार्टी, नेता र सरकारको असक्षमता झन् धेरै उजागर भयो ।

त्यही समयमा केही विवेक भएका युवाहरू आफैं विकल्प बन्नु पर्ने रहेछ भनेर संगठित पनि भए । समाजका बेथितिहरूबाट चिमोटिएर केही सक्षम व्यक्तिहरू हुँदाखाँदाको आफ्नो पेशा छोडेर राजनीतिमा होमिए । संविधानसभाबाट संविधान जारी भइसकेको अवस्था र स्थानीय निकायको चुनाव हुने लगभग पक्का हुन लागेको अवस्थामा नयाँ उदाएका केही व्यक्ति र पार्टीको यहाँ चर्चा हुन जरुरी छ ।

जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व को विकास गरेर शान्त समृद्ध नेपाल बनाउन लागिपरेका विवेकशील नेपाली युवाहरूको दल विवेकशील नेपाली र पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताका लागि भर्खरै बनेको साझा पार्टीको शीघ्र संगठनविस्तार र महत्वाकांक्षी योजनालाई सबैले ध्यान दिनुपर्छ जस्तो लाग्छ ।

रवीन्द्र मिश्रज्यूको पार्टी शिशु अवस्थामै भएकाले त्यति धेरै काम हेर्न पाइएको छैन । तर, उहाँको विश्लेषण, नेपाललाई फेर्न अब राजनीति नै सुसंस्कृत हुनुपर्छ भन्ने ठम्याइ र एकै पुस्ताभित्र नेपालको रुपान्तरण गर्ने लक्ष्य बिबेकशील नेपाली पार्टीको जस्तै छ । उज्वल थापाले नेतृत्व गरिरहनुभएको विवेकशील पार्टीले त कुरा वा नामले मात्र होइन, कामले पनि पारदर्शिता, उद्यमशीलताको प्रवर्द्धन गर्ने कार्यक्रमहरू र भूकम्पताका शीघ्र कुशल व्यवस्थापनको नमुना देखाएर आफूलाई सक्षम प्रमाणित गरिसकेको छ ।

सन्तोष लामिछाने

उज्वल थापा र रवीन्द्र मिश्रहरूको राजनीतिक संस्कार बोलीले मात्र होइन, व्यवहारले पनि राम्रो हुने छनक, साझा पार्टीको घोषणापश्चात् उज्वल थापाले खुसी व्यक्त गरेकोबाट थाहा हुन्छ ।

विवेकशील पार्टीले धुर्मुस-सुन्तलीलाई पनि सघाएको उदाहरण छ । अब यहाँ पुराना पार्टीको कर्तुत हेर्ने हो भने, स्थानीय चुनावमा नयाँ दलहरुलाई विभेद गरेर चुनाब चिन्ह नै एउटै नदिने अन्यायपूर्ण कानून बनाइएको छ । यस्तो ऐनले पुराना पार्टीको चरम भ्रष्ट सोच, असक्षमता, निषेधको राजनीति र नयाँ र सक्षम पुस्तादेखिको डर लाई राम्ररी झल्काएको छ ।

अबको नेपालमा तिनै पुराना दल, तिनका नेतालाई दिइने भोटले नेपाल आमाको मुहार फेर्छ भनेर आशा गर्नु मरेको कुकुरले एक दिन काशी लान्छ भनेर आश गर्नु जस्तै हो ।

बाबुराम भट्टराईज्यूको नयाँ शक्ति पार्टीको  ‘विकास’ को नारा पनि राम्रै छ । तर, उहाँको पार्टीमा पुरानै मान्छे र पुरानै पद्दति धेरै गनाएको महसुस हुन्छ । तर, मधेसलार्इ पनि समेटेर एउटा सुसंस्कृत शक्ति निर्माण गरेर अघि बढ्न सके ‘नयाँ शक्ति’ पार्टीको पनि केही योगदान रहला ।

मननीय कुरा चाहिँ के छ भने विवेकशील, साझा र नयाँ तीन वटै पार्टीको यही कालमा सम्बृद्ध नेपाल बनाउने लक्ष्य छ । यी तीन पार्टीले मूल मुद्दाहरूमा कार्यगत एकता गरेको हेर्न धेरै नेपालीको मन होला  । तर, बिल्कुल फरक पृष्ठभूमिबाट जन्मेका यी पार्टीको एकता नै होस् जस्तो चाहिँ मलाई लाग्दैन । प्रतिस्पर्धा राम्रो रामो बीच होस् र अन्त्यमा सबैभन्दा राम्रोले उछिनोस् ।

सुसंस्कृत राजनीतिको जग बसाल्दै, तराई-पहाड-हिमाल सबैतिर यी नयाँ पार्टीले सफलता प्राप्त गर्दै जाऊन् । शक्ति प्राप्त पनि गरुन् तर सेवा पनि प्रदान गर्न सफल होउन् । कुरो मात्र हो कि काम पनि गरेर देखाउने हो, त्यो परीक्षण गर्न पनि अब नयाँ पार्टीहरूबाटै आशा गर्नुपर्ने देखिन्छ ।

पुराना पार्टीबाट आशा गर्ने दिन चाहिँ सकिएको जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment