Comments Add Comment

अनौपचारिक अर्थतन्त्र ५० प्रतिशत रहेछ, प्रणालीमा ल्याउने चुनौती छ : अर्थमन्त्री


११ बैशाख, काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले अनौपचारिक अर्थतन्त्रको आकार ५० प्रतिशत रहेको र त्यसलाई प्रणालीमा ल्याउन समस्या रहेको उल्लेख गरेका छन् ।

‘हाम्रो देशको अर्थतन्त्र भनेको त म र राजन खनाल जी (अर्थमन्त्रालय र राजस्व बिभाग) मात्र रहेछौं, आधा त बाहिर नै रहेछ,’ अथमन्त्री महराले संकेतिक रुपमा भने । उनले पुन बिस्तार गर्दै अनौपचारिक अर्थतन्त्र आधा जस्तै रहेकोले त्यसलाई प्रणालीमा ल्याउने चुनौती रहेको स्पष्ट पारेका छन् । उनले आफु त्यसमा लागि परेको जानकारी राजस्व परामर्श समितिले सोमबार आयोजना गरेको एक कार्यक्रममा दिएका छन् ।

मन्त्री महराले आफु ‘ब्रेक थ्रु’ गर्ने मान्छे भएको र अर्थतन्त्रमा समेत ब्रेक थ्रु गर्ने आफ्नो उदेश्य भएकोले यसको लागि तरिका सिकाईदिन पनि व्यवसायीहरुलाई आग्रह गरे ।

यस पटकको बजेट क्रम भंग गर्ने खालको नै आउने दाबी पनि मन्त्री महराको रहेको छ ।

‘अहिले स्थानीयको चुनाव हुदैछ, कार्तिक मंसिर ताका प्रादेशिक तहको र माघमा केन्द्र तह निर्वाचन हुने भएकोले अहिले बजेट ल्याउदा त्यसैपनि पहिलेको परम्परागत शैली क्रम भंग गर्ने खालको नै हुनेछ,’ मन्त्री महराले भने ।

पहिलो पटक व्यवसायीहरुको  एउटै सुझाव प्रतिवेदन

बिभिन्न संगठनमा आवद्ध व्यवसायीहरुले पहिलो पटक बजेट निर्माणको लागि एउटै प्रतिवेदन पेश गरेका छन् ।

‘यहा भन्न कत्तिको मिल्छ तर बल्ल बल्ल वहाहरुलाई सहमत गराएर पहिलोपटक सबै व्यवसायी संघबाट साझा एजेण्डाको रुपमा एउटै प्रतिवेदनमा सुझाव लिन सकिएको छ,’ राजसव सचिव राजन खनालले भने । खनालले औद्योगिक क्षेत्रमा यसअघि दिइएका बिभिन्न सविधामा पुनरबिचार गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् ।

उनले प्रशासनिक सुधारले मात्रै आर्थिक वृद्धि गर्न नसकिने देखिएकोले सरकारले आर्थिक नीतिहरुमा पनि सुधार गरिरहेको स्पष्ट पारे । राष्ट्रिय योजना आयोजका सदस्य डा. स्वर्णिम बाग्लेले सरकारले भौतिक पुर्वाधार निर्माण र नीतिगत पुनरसंरचनाले नै आर्थिक वृद्धि हुने भएकोले यसमा लाग्नु पर्ने औल्याए ।

व्यवसायीहरुले बिभिन्न करमा सहुलियत, बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना, सरकारी खर्चमा वृद्धि गर्नुपर्ने, बैंकको ब्याजदर स्थिर राख्नु पर्ने लगायतका बिभिन्न सुझाव सरकारलाई दिएका छन् । त्यस्तै, एक पटक सम्पत्तीको स्वघोषणा गर्ने व्यवस्था गर्न, व्यवसायिक समुदायको लागि अलग्गै पासपोर्टको व्यवस्था गर्न पनि व्यवसायीहरुले सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment