Comments Add Comment

विजयनजिक पुग्दा विद्यासुन्दरको नयाँ रेकर्ड: आफ्नो वडाबाट पाए दुई तिहाई बढी मत

१० हजार मत गन्न बाँकी हुँदा शाक्यलाई १८ हजारको अग्रता

१३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य आफ्नो अग्रतालाई अझ फराकिलो पार्दै विजयनजिक पुगेका छन् ।

पछिल्लो मतगणनाको परिणाम अनुसार, शाक्य कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा करिब १८ हजार मतले अगाडि छन् ।

काठमाडौं महानगरपालिकाको १० हजार मत गन्न बाँकी रहँदा एमाले उम्मेदवार शाक्य भारी मतले विजयी हुने निश्चित भएको हो ।

तेस्रो स्थानमा पछ्याइरहेकी विवेकशील नेपाली दलकी रन्जु दर्शनाको मत २२ हजार ३०७ पुगेको छ । त्यस्तै साझा पार्टीका किशोर थापाले १७ हजार ४७३ मत पुर्याएका छन् भने माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले ७३३५ मत पाएका छन् ।

१ लाख ८६ हजार ८३२ मत गनिसक्दा एमालेका शाक्यले ६१ हजार ४२८ मत पाएका छन् भने कांग्रेसका जोशीले ४३ हजार ४६१ मत पाएका छन् ।

यसैबीच शाक्यले अहिलेसम्मकै रेकर्ड तोड्दै आफ्नो वडाबाट दुई तिहाई भन्दा बढी मत प्राप्त गरेका छन् । शाक्यको २१ नम्बर वडाबाट कुल ३८ सय मत मध्ये उनले ३२ सय ८७ मत प्राप्त गरेका छन् । यो कुल मतको करीव ८७ प्रतिशत हो ।
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गीको जित सुनिश्चित भइसकेको छ । १० हजार मत गन्न बाँकी हुँदा उनले एमाले समर्थित राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठलाई २२ हजार भन्दा बढी मतान्तरले पछि पारेकी छन् ।

खड्गीले ५५ हजार ८४५ मत प्राप्त गरेकी छन् भने राजारामले ३३ हजार ९९ मत पाएका छन् । तेस्रो स्थानमा साझा पार्टीकी निरुपमा यादवले १० हजार ९४५ मत पाएकी छन् भने माओवादी उम्मेदवार सुशीला पौडेलको ९६७२ मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment