Comments Add Comment

४० जना अन्तर्राष्ट्रिय स्वयंसेवी लाप्राक नमूना बस्ती बनाउन खटिदै

त्रिलोक गुरूङले दिए ५ सय सेट सुरक्षा सामाग्री


काठमाडौं । गैरआवासीय नेपाली संघले निर्माण गरिरहेको गोर्खाको लाप्राक नमूना बस्ती निर्माणमा सहयोग गर्न झण्डै २० देशका ४० जना अन्तर्राष्ट्रिय स्वयंसेवी खटिने भएका छन् ।

इन्जिनियरिङ विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको यो स्वयंसेवी समूह करिव एक महिना लाप्राकमै बसेर निर्माण कार्यमा खटिने छ ।

गैरआवासीय नेपाली संघको आह्वानमा एनआरएनए थाइल्याण्डको पहलमा ‘इन्टरनेशनल एसोसिएसन फर द एक्सचेन्ज अफ स्टुडेन्ट फर टेक्निकल एक्सपिरियन्स’ नामक संस्थामार्फत यी स्वयंसेवी एकैपटक नेपाल आइपुगेका हुन् ।

टोलीमा अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, फिनल्याण्ड, गि्रस, भारत, इरान, आयरल्याण्ड, लेबनान, नर्वे, पोल्याण्ड, स्लोभाकिया, स्पेन, स्वीडेन, स्वीटजरल्याण्ड, नेदरल्याण्ड, टर्की र युकेका इन्जिनियरिङ विद्यार्थीहरुको सहभागीता छ ।

बुधबार स्वयंसेवकलाई काठमाडौंमा स्वागत गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अन्तर्राष्ट्रिय स्वयंसेवीको योगदानले भूकम्पपीडित लाप्राकबासीको जीवन परिवर्तन हुने बताए ।

लाप्राक परियोजनामा अहिलेसम्म भएको प्रगतिबारे जानकारी दिँदै अध्यक्ष घलेले स्वयंसेवीको सहभागीताले निर्माणकार्य सहज हुने बताए । स्वयंसेवी परिचालनका लागि अग्रसरता लिएकोमा उनले एनआरएन थाइल्याण्डलाई धन्यबाद दिए ।

सो अवसरमा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्वयंसेवी अभियानका लागि धन्यवाद दिँदै भूकम्पपीडितलाई छिटो पुनःस्थापित हुन यसले ठूलो सहयोग गर्ने बताए ।

स्वयंसेवीहरुलाई लाप्राकमा खाने बस्ने सुविधा गैरआवासीय नेपाली संघले प्रदान गर्ने छ । संघले लाप्राकमा ५७३ घर सहितको एकीकृत नमूना बस्ती निर्माण गरिरहेको छ । स्वयंसेवीहरु बिहीबार नै लाप्राक प्रस्थान गर्नेछन् ।

साइटमा खटिनुअघि गैरआवासीय नेपाली संघले बुधबार काठमाण्डौमा स्वयंसेवीहरुलाई अभिमुखीकरण तालिम दिएको छ । लाप्राकको भौगोलिक अबस्था, मौसम, कार्यस्थलमा अपनाउनुपर्ने सुरक्षा बिधि आदिबारे जानकारी दिइयो ।

सोही अबसरमा गैरआवासीय नेपाली संघका सल्लाहकार त्रिलोक गुरुङले निर्माण स्वयंसेवीले प्रयोग गर्ने पाँच सय सेट सुरक्षा उपकरणहरु एनआरएनएलाई हस्तान्तरण गरेका छन् । जसमा पंजा, चस्मा लगायतका सुरक्षा उपकरणहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment