Comments Add Comment

‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ सरकारले नै जोड्ने, २ सय चोकमा ट्राफिक लाइट

सांकेतिक तस्वीर

८ असार, काठमाडौं । सरकार आफैंले काठमाडौंको मुख्य चोकहरूमा ‘इन्टालिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ जडान गर्ने भएको छ । एशियाली विकास बैंक (एडीबी)को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित काठमाडौं दिगो शहरी यातायात आयोजनाको म्याद सकिँदासम्म पूर्व योजनाअनुरुप ट्राफिक लाइट जडान नहुने भएपछि सरकार आफैंले ट्राफिक लाइट जोड्ने निर्णय गरेको हो ।

यो आयोजना असार १६ गते फेजआउट हुँदैछ । एडीबीको ५१ प्रतिशत अनुदान र २१ प्रतिशत ऋणमा ‘इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टम’ जडान गर्ने भनिएको थियो ।

यसका लागि सरकारले ३३ करोड रकम छुट्याएको थियो । आयोजना जडान यो रकम पनि खर्च नभई फ्रिज हुने पक्का भएपछि सरकारले नै लाइट जोड्न तयारी थालेको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बताए ।

काठमाडौंमा झण्डै २ सय स्थानमा ट्राफिक लाइट राख्नुपर्ने अवस्था रहेको उनले बताए । अब यसअघिको तयारीअनुसार ३५ वटा चोकहरुमा इन्टालिजेन्ट ट्राफिक सिग्नल सिस्टम जोडेर बाँकीमा पनि जोड्ने प्रक्रिया अघि बढाइने उनले बताए ।

‘थप कति स्थानमा त्यसता लाइट जोड्न सकिन्छ र जोड्नुपर्नेछ भन्नेबारे अध्ययन गर्छौं’ सिग्देलले भने,’बाँकी स्थानमा पनि समान्य प्रविधिका लाइट जोड्नेछौं । अब प्रक्रिया सुरु भइहाल्छ ।’

काठमाडौं दिगो शहरी यातायात आयोजनाले लाइट जोड्न अहिलेसम्म तीन पटकसम्म टेन्डर आह्वान गरिसकेको थियो । तर, सबै टेण्डरहरु सरकारको लागतअनुमानभन्दा बढी भएपछि रज्ञ भएका थिए ।

अन्तिम पटकको टेन्डरमा ८ वटा आवदेन परेका थिए । तीमध्ये रसुवा कन्स्ट्रक्सन कम्पनी प्राविधिक मूल्यांकनमा छनौट भयो । तर, वित्तीय रुपमा विश्लेषण गर्दा भने ओभर इस्टिमेटका कारण आयोजनाले यसलाई निर्माणको जिम्मा दिइहाल्न सक्ने अवस्था भएन ।

यो आयोजना ३ अर्ब ७ करोड ७७ लाखको हो । जमसध्ये २ अर्ब ५ करोड रकम बराबरको रकम एडीबीले अनुदान तथा ऋणको माध्यमबाट प्रदान गर्न लागेको थियो ।

काठमाडौंको ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यले यो आयोजनाको स्थापना गरिएको थियो । सन् २०११ सालमा आयोजना स्थापना भएसँगै सडकमा आधुनिक खालको ट्राफिक लाइट जडान गर्ने प्रस्ताव आएको थियो । ३ पटको टेण्डरमा पनि योग्य ठेकेदार कम्पनीको आवेदन नै परेन ।

ट्राफिक लाइट मात्रै होइन, यसको स्थापनापूर्व आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणको काम पनि बाँकी नै छ ।

के हो इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टम ?

अहिले राजधानीका अधिकांश ट्राफिक लाइट बिग्रेका छन् । चोकचोकमा ट्राफिक प्रहरीले सवारीको व्यवस्थापन गर्नुपरिरहेको छ । त्यही भएर इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टमको कुरा आएको हो ।

यस्तो सिस्टम युरोपका ठूला शहरमा प्रयोगमा आइसकेको छ । यसमा जेब्रा क्रसिङ नजिकै पोलमा राखिएको ‘पुस बटन’ पैदल यात्रुले दबाउन सक्छन् ।

बटन दबाएको केहीबेरमा नै सडकमा हिँडेका गाडीलाई ट्राफिक लाइटले रोकिन निर्देशन दिन्छ । तत्कालै कन्ट्रोल युनिटले पैदलयात्रीलाई बाटो काट्न अनुमति दिने गरी हरियो बत्ति बाल्छ । अनि पैदलयात्रुले सहजै बाटो काट्न सक्छन् ।


लाइटहरुको व्यवस्थापनका लागि ट्राफिक प्रहरीको केन्द्रमा छुट्टै कन्ट्रोल युनिट स्थापना गरिएको हुन्छ ।

कन्ट्रोल रुममा बसेर विभिन्न चोकमा सीसी क्यामाराको सहयोगमा लाइटमार्फत नै सवारी र पैदलयात्रुको व्यवस्थापन गर्न सकिन्छ ।

लाइट राख्ने पूर्वाधारका लागि काठमाडौंका विभिन्न चोकहरुमा त्रिकोणात्मक नयाँ ट्राफिक आइल्याण्डहरु बनाइएका छन् ।

तर त्रिपुरेश्वरमा भने आइल्याण्डको निर्माण अहिलेसम्म हुन सकेको छैन ।

माइतीघरदेखि तीनकुनेसम्म, जयनेपालदेखि थापाथली हुँदै जाउलाखेलसम्म, नारायणगोपाल चोकदेखि त्रिपुरेश्वरसम्म र राजदरबार दक्षिणढोकादेखि कमलपोखरी हुँदै भद्रकालीसम्म ३५ वटा चोकहरुमा ट्राफिक लाइट जडान गर्ने योजना छ ।
अब सरकारले नै यसका लागि रकम खर्चिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment