Comments Add Comment

डोटीको चुनावः प्रदेश राजधानीको एजेण्डा बोक्न नसकेको पूरानो ‘क्षेत्रीय राजधानी’

साबिक सुदूरपश्चिममाञ्चल विकास क्षेत्रको राजधानी डोटी अहिले पनि ७ नम्बर प्रदेशको राजधानी बन्ने प्रयासमा छ । धनगढीलाई सम्भावित राजधानी भनिएका बेला डोटीमा प्रदेश राजधानी बनाउने विषय चुनावी एजेण्डा बने पनि त्यसले प्राथमिकता भने पाएको देखिँदैन ।

९ वटा स्थानीय रहेको डोटीमा दुई नगरपालिका छन् । दिपायल सिलगढी र शिखर दुई नगरपालिका रहेको डोटीमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीचमै हुने देखिन्छ । डोटीको सिलगढी नगरपालिका जिल्लाको सबैभन्दा पूरोन नगर हो । शिखर भने नयाँ नगरपालिका बनेको हो । सिलगढीमा माओवादी दलित उम्मेदवार दिएर प्रतिस्पर्धामा देखिए पनि शिखरमा द्धिपक्षीयनै प्रतिस्पर्धा हुनेछ ।

दिपालय सिलगढीमा त्रिपक्षीय प्रतिस्पर्धा

२०३९ सालमा नगर पञ्जायतको रुपमा स्थापना भएको जिल्ला सदरमुकामको दिपायल सिलगढी नगरपालिका कांग्रेस र एमालेका उम्मेदवार तीब्र प्रतिस्पर्धामा छन् ।

साबिकको नगरपालिकामा लडागडा गाबिस र कलेना गाबिस पुरै र बगलेक गाबिस र खातीवाडा गाबिसका केही वडाहरु मिलाएर बिस्तार गरिएको सिलगढी नगरपालिकामा माओवादी केन्द्र पनि प्रतिस्पर्धामा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमले मेयरमा मात्र उम्मेदवार दिएका छन् भने दलित पार्टीले उपाध्यक्ष पदमा मात्रै उम्मेदवारी दर्ता गराएको छ । चुनावी चहल पहल हेर्दा दुई ठुला दलहरु कांग्रेस र एमालेकै बिचमा प्रतिस्पर्धा देखिएको छ । माओवादी केन्द्रले पनि जितको दावी गर्दै आएको छ ।

बिगतको विरासत यस्तो छ

सिलगढीको बिगत हेर्ने हो भने २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसले जित हात पारेको थियो । २०५४ सालमा एमालेले बहुमत वडासहित मेयर उपमेयर जितेको थियो । नगरमा गाभिएका साबिकका कलेना र लडागडा गाबिसहरु ०५४ को निर्वाचनमा एमालेले जित हात पारेका क्षेत्र हुन् ।

यो नगरपालिका डोटी निर्वाचन क्षेत्र नं. १ मा पर्दछ । संसदीय निर्वाचनको अभ्यास हेर्दा ०४८, ०५१ र ०५६ तीनवटै निर्वाचनमा यस क्षेत्रबाट कांग्रेस बिजयी भएको थियो । ०६४ को संबिधानसभाको निर्वाचनमा एमालेले र ०७० को मा फेरि कांग्रेसले यो क्षेत्रवाट बिजयी हात पारेको थियो ।

एमालेले दियो महिला मेयर उम्मेवार

१४ हजार नौ सय ७६ मतदाता रहेको यस नगरपालिकाको प्रमुख पदमा एक मात्र महिला प्रतिस्पर्धी छन् । एमाले जिल्ला कमिटी उपसचिव मञ्जु मलासी एक्ली महिला उम्मेदवार हुन् । नगरमा महिला मतदाता संख्या आठ हजार दुई सय १२ रहेको छ ।

मलासी २०७० को संबिधानसभा निर्वाचनमा एमालेको समानुपातिक उम्मेदवारको सूचीमा पनि परिकी थिइन तर, एमालेले उनलाई सभासद बनाएन । २०५४ सालमा एमालेले जित हात पारेको, गाभिएका अन्य क्षेत्रहरुमा पनि एमालेको संगठन राम्रो भएकाले आफू बिजय हुने मलासीको दाबी छ । एमालेले उपप्रमुखमा शिराज खड्कालाई उम्मेदवार बनाएको छ ।

कांग्रेसका बाजी युवामा लोकप्रिय

नेपाली कांग्रेस क्षेत्रीय सभापति बाजीसिंह खड्का (बिजय) पनि कमजोर उम्मेदवार होइनन् । बिद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय खड्का २०५१ सालमा स्वबियु चुनावमा डोटी क्याम्पसका सभापतिका उम्मेद्वार हुन् ।

कांग्रेस नगर कमिटी सभापति हुँदै क्षेत्रीय सभापति रहेका खड्का नगरपालिकाको सर्वदलीय संयन्त्रमा पनि पार्टीको तर्फवाट प्रतिनिधित्व गरिरहेका छन् । उनी युवामाझ लोकपि्रय छन् । आफु नगरको विकासका लागि लामो समयदेखि सक्रिय रहेकाले जनताले आफुलाई रुचाउने खड्काको दाबी छ । उपमेयरमा प्रशिस महरा उम्मेदवार छिन् ।

माओवादीका मेयर-उपमेयर दुवै दलित समुदायबाट

माओवादी केन्द्रले भने दिपायल सिलगढी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा दलितलाई उम्मेदवार बनाएर ठूला दललाई चुनौती दिएको छ । सामाजिक क्षेत्रमा लामो सयमसम्म बिताएका माओवादी केन्द्रका मेयर उम्मेदवार प्रेमबहादुर नेपाली हाल पार्टीका जिल्ला सचिवालय सदस्य हुन् ।

सालिन व्यक्तित्व भएका नेपालीलाई राजनीतिक कार्यकर्ता भन्दा सामाजिक कार्यकर्ताको रुपमा चिन्ने गरिन्छ । व्यक्तित्व राम्रो भएपनि पार्टी संगठन कमजोर भएका कारण उनले धेरै मेहनत गरिरहेका छन् ।

उनले कांग्रेस र एमाले दुवै दलमा आवद्ध दलित समुदायका मत तान्न सक्ने अनुमान छ । दलित र बिपन्न समुदायका मतका साथसाथै पार्टी संगठनका मत पाएर जित्ने माओवादी केन्द्रको दाकी छ । माओवादी केन्द्रले तुलसी सोवलाई उपमेयरमा उठाएको छ ।

नयाँ नगरपालिकाः नयाँ र पूराना उम्मेदवार

डोटीमा नयाँ जन्मिएको शिखर नगरपालिकामा कांग्रेस र एमाले कडा प्रतिस्पर्धामा छन् । साबिकका नौ गाबिस गाभेर बनाइएको यस नगरपालिकामा ११ वडा रहेका छन ।

मतदाता संख्या, वडा संख्या र भुगोलका हिसावले जिल्लाकै ठुलो नगरपालिकाको नेतृत्वमा पुग्न कांग्रेस एमालेबीच तिब्र प्रतिस्पर्धा चलेको छ । बिगतको प्रशासकीय विभाजनको आधारमा यो नगरपालिका साबिकका दुई निर्वाचन क्षेत्रमा विभाजन भएको छ ।

२०५४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले साबिकका पाँच गाउँ विकास समिति र एमालेले चार गाउँ विकास समिति जितेको थियो । २०४९ सालको निर्वाचनमा भने सवै गाविसहरुमा कांग्रेसले नै जितेको थियो ।

१७ हजार एक सय ७६ मतदाता रहेको यस नगरपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रले अध्यक्ष उपाध्यक्षसहित ११ वटै वडाका वडाध्यक्षहरुमा उम्मेदवारी दिएका छन् ।

कांग्रेस र एमालेले वडा सदस्यका सवै पदहरुमा उम्मेदवारी दिएको देखिन्छ भने माओवादी केन्द्रले केही पदहरुमा छोडेको छ । यस्तै राप्रपा र राष्ट्रिय जनमोर्चाले पनि मेयर पदमा उम्मेदवारी दिएका छन । कांग्रेसमा टिकटका दावेदार राजप्रसाद जोशीले बागी उम्मेदवारी दर्ता गरेका छन् ।

कस्ता छन् मेयरका उम्मेदवार ?

कांग्रेसबाट मेयर पदका उम्मेदवार सिताराम जोशी २०४९ सालमा साबिकको मुड्भरा गाबिसका अध्यक्ष हुन् । उनी २०५४ सालमा आफ्नो वडाबाट वडाध्यक्षमा जितेका थिए ।

हाल क्षेत्रीयसभापति समेत रहेका जोशी पूराना नेता हुन् । राजनीतिक अनुभवका आधारमा जोशीलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ । पूर्वमन्त्री तथा कांग्रेस नेता भक्तबहादुर बलायर, सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिरवहादुर बलायर र २०७० निर्वाचनमा एमालेका उम्मेद्वार प्रेमबहादुर आलेका प्रतिस्पर्धी योगेन्द्र शाहीको गृह नगर पनि शिखर भएका कारण यहाँ कांग्रेसलाई बलियो रुपमा हेरिएको छ । कांग्रेस जिल्ला सचिव नारायण जोशी पनि शिखरकै बासिन्दा हुन् ।

एमालेका उम्मेदवार शेरवहादुर मल्ल पनि कमजोर छैनन् । २०४९ सालदेखि बिद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेका मल्ल युवा संघ नेपालको जिल्ला नेतृत्व सम्हालिसकेका व्यक्ति हुन् ।

उनले पार्टीको अञ्चलमा बिभिन्न बिभागमा पनि सक्रिय भूमिकामा रहेका काम गरेका थिए । एमाले सल्लाहकार नवराज जोशी, समानुपातिक सांसद गौरी ओली र जिल्ला सचिव रामवहादुर ऐरको गृहनगर भएकाले यस नगरपालिकाको चुनावी प्रतिस्पर्धा अझ रोचक मानिएको छ ।

माओवादी केन्द्रका उम्मेदवार रमेश जोशी ‘शैपाल’ भूमिगत जीवन बिताएका नेता हुन् । तर, यहाँ माओवादीको संगठन कमजोर छ । यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं डोटी जिल्ला अध्यक्ष समेत रहेका अर्का उम्मेदवार बेणीमाधव जोशीको व्यक्तित्व राम्रो भएपनि संगठन कमजोर भएका कारण उनको उम्मेदवारी औपचारिक मात्रै हुने देखिन्छ । राप्रपाले लालवहादुर शाहीलाई उम्मेदवार बनाएको भएपनि उनको पनि त्यति प्रभाव देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment