Comments Add Comment

मतगणना ७ दिनभित्र सक्नुपर्ने, भरतपुर प्रकरण दोहोरिन नदिन आयोग सचेत

१४ असार, काठमाडौं । निर्वाचन आयोगले अधिकांश स्थानीय तहको मत परिणाम तीन दिनभित्रै आइसक्ने बताएको छ । साथै धेरै मतदाता भएका स्थानीय तहलाई समेत ७ दिनभित्र परिणाम सार्वजनिक गरिसक्न भनेको छ ।

तीनवटा प्रदेश १, ५ र ७ नम्बर का ३३४ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज मतदान भइरहेको छ । मतदान सकिएपछि स्थानीय तहको केन्द्रमा मतपेटिका ल्याइनेछ र मतदान अधिकृतले राजनीतिक सहमतिमा गणना सुरु गर्न सक्नेछन् ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अनलाइनखबरसँग भने, ‘धेरै समूहहरु बनाउने र गणनाका लागि तालिम दिएर राख्नु भनिएको छ ।’ उनका अनुसार थोरै मतदाता भएका गाउँपालिकाहरुमा तीन दिनभित्र र धेरै मतदाता भएका स्थानीय तहहरुमा सात दिनभित्र मत परिणाम घोषणा गरिसक्न भनिएको छ ।

मतगणनामा सुरक्षा कडाइ

निर्वाचन आयोगले मतगणनाका क्रममा भरतपुर प्रकरण दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा पार्न भनेको छ । ‘निर्वाचन आयोगले राजनीतिक दलका कार्यकर्ता अनुशासित हुनुहुन्छ भन्ने ठान्छ’ प्रवक्ता शर्माले भने ।

पहिलो चरणको चुनाव भएको स्थानीय तहमध्ये भरतपुर महानगरपालिका १९ नम्बर वडाको मतपत्र च्यातिएको थियो । यो विवादले ठूलै रुप लियो । निर्वाचन आयोगले मत पत्र त्यातिएको वडामा पुनःमतदान गर्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको छ । यो विषय अझै सर्वोच्चमा विचाराधीन छ र यसबारे २३ गते पेशी तोकिएको छ ।

आयोगले भरतपुर प्रकरण दोहोरिन नदिन सचेत रहन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment