Comments Add Comment

कम्युनिष्ट र पागललाई एकै ठान्ने नरबहादुरको निधन

सिक्किमका भण्डारी, जसले नेपाली भाषालाई भारतीय संविधानमा प्रवेश गराए

२ साउन, काठमाडौं । सिक्किमका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको आइतबार निधन भएको छ । उनको निधनबाट भारतमा रहेका नेपाली भाषीहरुले एउटा इतिहास गुमाएका छन् । ४३ वर्षदेखि मेरुदण्डको समस्याले ग्रसित भण्डारीको आइतबार अपरान्ह ४ बजे नयाँ दिल्लीको प्राइमस सुपर स्पेसियालिटी हस्पिटलमा निधन भएको हो । उनी ७३ वर्षका थिए ।

भण्डारी सन् १९७९ देखि १९९४ सम्म १५ वर्ष सिक्किमको मुख्यमन्त्री भए । उनी राजनीतिमा मात्र नभएर नेपाली भाषा-साहित्यको प्रवर्द्धनमा पनि सक्रिय थिए ।

भण्डारीले नेपालमा जगदम्बाश्री पुरस्कारसमेत प्राप्त गरेका छन् । नेपाल बाहिर नेपाली भाषा र साहित्यको समुन्नतिमा व्यक्तिगत र संस्थागत योगदान दिएवापत् २०४७ सालमा उनलाई सो पुरस्कार दिइएको थियो ।

राजनीतिक यात्रा

भण्डारी सिक्किमका बरिष्ठ नेता हुन् । एउटा सामान्य किसान परिवारमा ५ अक्टोबर १९४० मा पश्चिम सिक्कमको मलबाँसे बस्ती, सोरेङमा उनको जन्म भएको थियो । उनी परिवारको कान्छो छोरा थिए । भण्डारीले प्रारम्भिक शिक्षा नाम्ची र सोरेङ स्कूल तथा दार्जिलिङबाट स्नातकसम्मको अध्ययन गरेका थिए ।

अध्ययन सकेपछि ११ वर्षसम्म उनले सिक्किम सरकारका विभिन्न स्कुलमा शिक्षकका रुपमा काम गरे । १९७३ मा उनले सरकारी नोकरी त्यागे र राजनीतिमा प्रवेश गरे । जतिवेला सिक्किम भारतमा विलय हुनै लागेको थियो ।

भण्डारी भारत-बेलायत-सिक्किमबीचको त्रिपक्षीय सम्झौताको पक्षमा थिएनन् । सिक्किमको स्वतन्त्र अस्तित्व जोगाउन उनी १९७४ मा आन्दोलनमा उत्रिँदा प्रहरीको लाठीबाट गम्भीर घाइते भए । १० अक्टोबर १९७४ को राति आठ बजेदेखि ११ अक्टोबर दिउँसो दुईबजेसम्म उनी लासजस्तो भएर नालीमा लडेका थिए । उनलाई एक जना शिक्षकले देखेर अस्पताल पुर्‍याएका थिए । थुप्रै लाठी बज्रिएको उनको ढाडमा हड्डी भाँच्चिएको थियो । यसले भण्डारीलाई जीवनभर सतायो र अन्ततः मृत्यूको कारण पनि त्यही बन्न पुग्यो ।

भण्डारीले सिक्किम जनता पार्टी खोलेर सन् १९८९ को सिक्किम विधानसभा चुनावमा भाग लिए । र, चुनाव जितेर पहिलो सरकार गठन गरे ।

यसैगरी उनले सन् १९८४ र १९८९ मा पनि सिक्किम संग्राम परिषदबाट विजय हासिल गरेर १५ वर्ष अर्थात दुई कार्यकाल सरकार चलाए ।

भण्डारीको राजनीतिक यात्रा त्यही दिनदेखि ओरालो लाग्यो, जतिबेला उनकै पार्टीका नेता पवन चाम्लिङले विद्रोह गरेर नयाँ पार्टी बनाए र चुनाव जितेर मुख्यमन्त्री बने ।

पवन चाम्लिङको उदयपछि भण्डारीले विपक्षी नेताको भूमिका निर्वाह गर्दै आएका थिए । तर, उनको पार्टी दशकौंसम्म कमजोर बन्दै गयो । र, भण्डारी राजनीतिमा लगभग असफलजस्तै बने ।

यसवीचमा भण्डारी पाँचपल्ट विधानसभामा निर्वाचित भए भने लोकसभा सांसद पनि रहे । उनी लामो समयसम्म सिक्किम संग्राम परिषद पार्टीका अध्यक्ष थिए ।

सिक्किममा भण्डारीका योगदान

भण्डारी एक कुशल प्रशासकका रुपमासमेत चिनिन्थे । उनले आफ्नो १५ वर्षको कार्यकालमा जातीय सदभावना कायम गरे । भारतमा नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउनमा उनको ठूलो हात छ । उनकै प्रमुख पहलमा भारतको संविधानको आठौं अनुसुचीमा नेपाली भाषालाई उल्लेख गरिएको थियो ।

भण्डारीले लोकसभा सदस्य रहेकी श्रीमती दिलकुमारी भण्डारीमार्फत नेपाली भाषासम्वन्धी विधेयकलाई संसदमा पेस गराएका थिए ।

सिक्किमका कुनाकाप्चासम्म उनले सडक, बिजुली, स्कुल, पानी, स्वास्थ्य केन्द्र, खाद्य भण्डार, पुलहरु पुर्‍याए । उनका पालामा कर्मचारीतन्त्रमा ठूलो अनुशासन थियो र उनी एक शक्तिशाली मुख्यमन्त्री मानिन्थे ।

भण्डारी कम्युनिष्टहरुलाई कत्ति पनि मन पराउँदैनथिए । ‘स्याल बहुलायो भने फ्याउरो बन्छ, मान्छे बहुलायो भने कम्युनिष्ट बन्छ’ भन्ने उनको मान्यता एक समय सिक्किममा निकै चर्चित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment