Comments Add Comment

बार्सिलोना, मोरक्कोका मजदुर र कोलम्बियाका ‘किङ’

युरोपका ठूला देशभन्दा सानो स्वीट्जरल्याण्ड नै शान्त

३ भदौ, काठमाडौं । शुक्रबार सखारै बार्सिलोनामा आतंककारी हमलासम्बन्धी समाचार सुन्दा गतसाता आफैंले पैदल हिँडेको राम्बलास सडकको सम्झना आयो । अनलाइनखबर सहकर्मी बसन्तजीले यो सडकको विशेषताबारे बाटो हिँड्दाहिँड्दै केही कुराहरू बताउनुभएको थियो ।

राम्बलास सडक, जहाँ एकजना मोरक्कोका युवाले जथाभावी गाडी कुदाएर १३ जनाको हत्या गर्नुका साथै ५० भन्दा बढीलाई घाइते बनाए । यो घटनाका बारेमा कुरा गर्नुभन्दा राम्बलास सडककै कुरो गरौं-

राम्बलास सडक काठमाडौंको नयाँ बानेश्वरको जस्तै फराकिलो छ, तर त्यहाँ गाडी चलाउन पाइँदैन, पैदल हिँड्न मात्रै पाइन्छ

राम्बलास सडक काठमाडौंको नयाँ बानेश्वरको जस्तै फराकिलो छ, तर त्यहाँ गाडी चलाउन पाइँदैन, मानिसहरु पैदल हिँड्न मात्रै पाइन्छ । गाडीहरु चाहिँ छेउमा रहेको साँधुरो सडकमा मात्र गुड्न पाउँछन् । (हेर्नुहोस् माथिको तस्वीर)

स्पेनको सुन्दर पर्यटकीय शहर बार्सिलोनाको यो सडक पर्यटकहरु हिँड्नकै लागि बनाइएको हो । फराकिलो सडकमा पानीको बहावजसरी मानिसहरु बगरिरहेका देखिन्छन् । यस्तो लाग्छ कि त्यहाँ कुनै ठूलो मेला लागिरहेको छ ।

राम्बलास सडकमा यसरी सलह जसरी हिँड्ने मानिसहरु स्पेनिस कम र विदेशी पर्यटकहरु बढी हुँदा रहेछन् । दुबै साइडमा रहेका अग्ला रुखले यात्रुहरुलाई शीतलता प्रदान गरेको हुन्छ भने बाटामा विभिन्न सामानहरु बेच्न राखिएका हुन्छन् । बार्सिलोनाका खेलाडीको लोगोअंकित टिसर्टदेखि विभिन्न रुपमा माग्न बसेका चटकेहरुसमेत देख्न पाइन्छ त्यहाँ । र, यो सडकको विशेषता नै यो हो कि मानिहरुको सधैं भीड लाग्छ ।

कोलम्बसको अग्लो मूर्ति हुँदै कातोलोनियाको सामुद्रिक किरानातर्फ आवत जावत गर्ने यो सडक बार्सिलोनाको अलग्गै पहिचान बोकेको मुख्य सडक हो । सामुद्रिक किनारामा रम्न जानेहरुका लागि यो महत्वपूर्ण स्थल हो ।

राम्बलास सडकलाई देखाउँदै बसन्तजीले भन्नुभयो- हाम्रो काठमाडौमा चाहिँ यसको ठीक उल्टो दृश्य देख्न पाइन्छ । त्यहाँ गाडी हिँड्ने बाटो फराकिलो हुन्छ र मानिस हिँड्ने पेटीचाहिँ साँघुरा हुन्छन् । तर, यहाँ हेर्नोस् त पैदल यात्रुका लागि विशाल सडक बनाइएको छ र गाडी चलाउनेहरु सानो बाटोबाट हिँड्छन् । काठमाडौंको पर्यटकीय स्थलमा पनि यसैगरी मान्छेमात्रै हिँड्ने तर गाडी नचल्ने ठाउँ बनाउने पाए राम्रो हुन्थ्यो भन्ने बसन्तजीको मनसाय देखिन्थ्यो ।

आखिर त्यही पर्यटकीय सडकमा मोरक्कोका युवाले गाडी कुदाएर उपद्रो मच्चाए, जुन घटनाले बार्सिलोनालाई पर्यटकीय मौसममा ठूलो घाटा लगाएको छ । अरु बेला पनि पर्यटकको घुइँचो लागिरहने बार्सिलोनामा अगस्त महिनामा धुम्न पुग्ने विदेशीको विशेष घुइँचो लाग्नेगर्दोरहेछ । त्यहाँको सामुदि्रक किनारामा के राति, के दिउँसो, अर्धनग्न युवायुवतीहरुको भीड उस्तै हुँदोरहेछ ।

पछिल्लो आतंकवादी हमलाले पक्कै पनि बार्सिलोनाको पर्यटन व्यवसायलाई बिच्काएको हुनुपर्छ ।

स्पेनको दुःख अर्थात् मोरक्को

बार्सिलोनाको आतंकवादी हमलामा मोरक्कोका नागरिकको संलग्नताको खबर सुन्दाखेरि यसले अफ्रिकाबाट यरोपतिर छिर्ने एउटा साँघुरो सामुद्रिक घाँटीको सम्झना आउँछ । स्पेन युरोपेली मुलुक हो भने मोरक्को अफ्रिकी मुलुक हो, जसलाई ८ करिब किलोमिटरको साँघुरो समुद्रले जोडेको छ । स्पेनको दुःखमध्येको एउटा यही समुद्र हो । अफ्रिका  हुँदै युरोपतिर छिर्न चाहने अवैध शरणार्थी वा आप्रवासीहरुले मोरक्को भएर स्पेन प्रवेश गर्ने गरेको भन्दै स्पेनिसहरुमा चिन्ता रहेछ ।

कतिपय शरणार्थीहरुले पौडेरै भए पनि मोरक्कोबाट स्पेन छिर्ने गरेको मानिसहरूले बताए । आखिर बार्सिलोनाको आतंककारी हमलामा पनि मोरक्कोकै युवकको संग्लनताले अब स्पेनले यो सामुद्रिक बाटोतर्फ पक्कै पनि कडाइपूर्वक नजर लगाउने अनुमान लगाउन सकिन्छ ।
तर, आतंवादी हमलामा मोरक्कोकै नागरिकको संलग्नता एउटा संयोगमात्रै हुन सक्छ । वा यही बाहनामा मोरक्कोबाट स्पेन छिर्नेमाथि कडाइ गर्नु स्पेनका लागि फलामको च्युराजस्तै हुन सक्छ ।

किनभने मोरक्को हुँदै स्पेनमा अफ्रिकी नागरिकहरु यति धेरै प्रवेश गरेका छन् कि कतिपय त स्पेनिसले आफैं बोलाएर लगेका छन् ।
बार्सिलोनामा ओलम्पिकका लागि चार वर्ष लगाएर पहाड सम्याउने बेलामा स्पेनले सबैभन्दा बढी तिनै मोरक्कोका मजदुर प्रयोग गरेको थियो । ती मजदुरमध्ये अधिकांश स्पेनमै सेटल भए।

अर्कोतर्फ अफ्रिकी मूलको कुनै एक व्यक्तिको आतंककारीसँगको संलग्नताकै आधारमा उक्त समुदायप्रति नै नकारात्मक धारणा र नीति बनाउने हो भने त्यसले स्पेनमा शान्ति हैन, थप द्वन्द्वको बिऊ रोपिदिन सक्छ ।

तथापि युरोपको फ्रान्ससम्म फैलिइसकेको आतंकवादी हमलाको समस्या र यसको प्रवेशमार्गबारे पक्कै पनि अब स्पेनको टाउको दुख्नेछ र यो घटनापछि दुख्नु स्वाभाविकै पनि हो ।

कोलम्बियाको ‘राजा’ हुँ भन्दै सडकमा तामासा

बार्सिलोनामा मस्त सुतिरहेका बेला गल्लीमा ठूलो होहल्ला सुनियो । मानिसहरुले ठूलै झगडा गरेको जस्तो लागेपछि उठेर बरण्डाबाट हेर्दा केही युवा सहरै थर्कने गरी बाझाबाझ गरिरहेका भेटिए । उनीहरु एक अर्कालाई घुर्चंदै कुटाकुट गर्ने प्रयासमा थिए ।

उनीहरुको आवाज छेउछाउको घरमा पुगेर यसरी ठोकिन्थ्यो कि, सिंगै शहर उचालिएजस्तो लाग्थ्यो । अर्को घरकी एकजना बूढीआमैले झ्यालबाट उनीहरुलाई गाली गरिन् । तर, हल्ला रोकिएन ।

यो पंक्तिकारलाई के भ्रम थियो भने युरोपको शान्ति सुरक्षा अत्यन्तै बलियो छ, नेपालको जस्तो कमजोर होइन । त्यहाँ त सानो घटना हुनासाथ प्रहरी आइहाल्छ र कसैलाई कारबाही गरिहाल्छ । तर, त्यहाँ त्यस्तो पाइएन । प्रहरीको कुनै उपस्थिति देखिएन ।

बिहान यो पंक्तिकारले स्पेनिस भाषा बुझ्ने साथीहरुलाई सोध्दा थाहा भयो कि बार्सिलोनाको सडकमा होहल्ला गर्ने तिनीहरु दक्षिण अमेरिकी नागरिक रहेछन् । झगडा गर्ने क्रममा एउटाले भन्दोरहेछ- ‘म कोलम्बियाको राजाको सन्तान हुँ बुझिस् ? म राजाको सन्तान हुँ ।’

भलै स्पेनको गल्लीमा जाँड खाएर आफूलाई कोलम्बियाको राजाको सन्तान भन्नेहरुको पीडा सानो छैन । दक्षिण अमेरिकीहरुले लामो समयसम्म स्पेनको साम्राज्यवादी शासन भोगेका थिए । यही कारणले दक्षिण अमेरिकाको मुख्य भाषा नै स्पेनिस भाषा बन्न पुगेको छ । दक्षिण अमेरिकामा अंग्रेजीभन्दा स्पेनिस भाषा बढी चलन चल्तीमा छ । र, दक्षिण अमेरिकी देशका नागरिकहरु स्पेनका गल्लीसम्म झगडा गर्न पुगेका छन् ।

सडकमा ठूलो हल्ला हुँदा र छिमेकीहरुलाई डिस्टर्ब हुँदा पनि प्रहरी किन आएन ? यो त नेपालकै जस्तो भएन र ? यो पंक्तिकारको जिज्ञासामा साथीहरुले भने- ‘प्रहरीलाई नोटिस गर्दा सूचना दाताको डिटेल खोजिनीति गर्न थाल्छ, त्यसैले मानिसहरुले यस्तो कुरामा खासै चासो दिन चाहँदैनन् ।’

आखिर दक्षिण अमेरिकी नागरिकले एक साता अघि बार्सिलोनाको गल्लीमा देखाएको तमासा र पछिल्लो साता मोरक्कोको नागरिकले मच्चाएको हिंसात्मक घटना दुबै स्पेनिसहरुको शान्ति र अमन चयनका चुनौती हुन् ।

बार्सिलोनामा नेपाली पसल !

सात समुद्रपारिको स्पेनका विषयमा चर्चा गरेर नेपाललाई के फाइदा ? यस्तो प्रश्न उठ्न सक्छ । तर, युरोपको कुनै पनि देशमा आतंकवादी हमला हुँदा त्यसमा नेपालीहरु पनि पर्न सक्ने सम्भावना रहन्छ । किनभने नेपालीहरु जतात्यतै पाइन्छन् ।

बार्सिलोनाजस्तो युरोपको चर्चित सहरमा नेपालीहरुले किराना पसल, फलफूल पसल र गिफ्ट आइटमका पसलहरु सञ्चालन गरेका रहेछन्

स्पेनमा करिब ४ हजार नेपालीहरु रहेको अनुमान छ । बार्सिलोनाजस्तो युरोपको चर्चित सहरमा नेपालीहरुले किराना पसल, फलफूल पसल र गिफ्ट आइटमका पसलहरु सञ्चालन गरेका रहेछन् । कोही अरुको पसलमा काम गर्छन् त कसैले आफैं पसल सञ्चालन गरिरहेको  भेटियो । यो अवस्थामा स्पेन वा अरु कुनै देशहरु, जहाँ नेपालीहरु कार्यरत छन्, त्यस देशको शान्ति सुरक्षाको अवस्थाबारे नेपालीहरुले जानकारी पाउनु स्वाभाविकमात्रै होइन, कतिपयका लागि आवश्यक पनि हुन सक्छ ।

युरोपको सुरक्षा चुनौती

युरोप प्रवेश गर्दैगर्दा जर्मनीको फ्रयाङ्कफर्ट विमानस्थलमा अध्यागमन प्रहरीले एकैछिन शंकापूर्वक सोधखोज गर्‍यो । कहाँ जाने, के कार्यक्रम छ ? कहिले फर्कने ? साथमा कति डलर बोकेको छ ? आदि इत्यादि ।

चुस्स दाह्री पालेको दुब्लो पातलो मानिस देख्दा जर्मनहरुलाई लाग्यो होला, कुनै आइएस त युरोपतिर छिरिरहेको छैन ? कुनै शरणार्थी पो हो कि ? वा कुनै तेस्रो देशको गरीब केटाे हुनै कार्यक्रमको बाहना गरेर अवैधानिक रुपमा लुक्नका लागि पो युरोपतिर पसिरहेको हो कि ?

विचरा युरोपियनहरुले आफ्नो सुरक्षा व्यवस्था जतिसुकै कडा बनाए पनि आतंकवादको सिकञ्जाबाट दिनहुँजसो प्रताडीत बनिरहनुपरेको छ । बार्सिलोनाको पछिल्लो घटना यसैको दृष्टान्त हो । फ्रान्स जस्तो  विगतकाे साम्राज्य अहिले धुरूधरू रोइरहेकाे छ ।

भौतिकरुपमा जति सम्पन्न भए पनि युरोपमा नागरिकहरुको सुरक्षाको प्रश्न राष्ट्रिय समस्या बन्न पुगेको छ । त्यहाँका कतिपय देशले आन्तरिक समस्या समाधान गरे पनि बाह्य एवं आप्रवासनले निम्त्याएको समस्या निकै जटिल छ

इराक र त्यसपछि सिरियामा थोपरिएको युद्धसँगै युरोपमा शरणार्थीहरुको समस्या विकराल बन्दै गइरहेको छ । अरबको क्राइसिसले सिर्जना गरेको विस्थापनको समस्या दोस्रो विश्वयुद्धकै भन्दा ठूलो र भयावह छ । र, यसको सबैभन्दा बढी मारचाँहि टर्की र उसको आसपासका देशहरुले भोगिरहेका छन् । बरू नेपालमा अहिलेसम्म त्यस्तो समस्या छैन ।

अन्ततः भौतिकरुपमा जति सम्पन्न भए पनि युरोपमा नागरिकहरुको सुरक्षाको प्रश्न राष्ट्रिय समस्या बन्न पुगेको छ । त्यहाँका कतिपय देशले आन्तरिक समस्या समाधान गरे पनि बाह्य एवं आप्रवासनले निम्त्याएको समस्या निकै जटिल छ ।

युरोपको एउटा देशबाट छिरिसकेपछि भिसा नलिई सबैतिर घुम्न पाइने ईयुको छातालाई संसारको राम्रो उदाहरण दाबी गरिँदै आएका बेला यसमाथि प्रश्न उठ्ने ठाउँ पनि देखिन थालेको छ । यस्तो नभएको भए बेलायत ईयुबाट शायदै अलग हुने थियो ।

नेपाललार्इ स्वीट्जरल्याण्ड कहिले बनाउने ?

युरोपका विभिन्न देशहरुमा हामी विविधता देख्न सक्छौं । त्यहाँको शान्ति सुरक्षाको स्थितिमा पनि एकरुपता देखिएन । एक जमानाका सामाज्य मानिने स्पेन र फ्रान्सले आन्तरिक र बाह्य दुबै समस्याहरु झेलिरहेका छन् । तर, जर्मनी, फ्रान्स र इटालीको वीचमा चेप्टिएर रहेको नेपाल भन्दा तीन गुणा सानो स्वीटजरल्याण्डले आफूलाई निकै शान्त र व्यवस्थित गरेको देखियो ।

फ्रयाङ्कफर्टमा आयोजित एनआएनको युरोप क्षेत्रीय बैठकमा प्रवासी नेपालीहरुले भनिरहेका थिए, दलाल मार्फत नेपालीहरु चेक रिपब्लिकन छिर्छन्, त्यहाँबाट पोर्चुगल जान्छन् र स्पेन लगायत युरोपमा विभिन्न देशमा जान्छन्, यसलाई नेपाली दूताबास र नेपाल सरकारले रोक्नुपर्‍यो ।

नेपाल भन्दा करिब ३ गुणा सानो, भूपरिवेष्ठित एवं बहुभाषिक  संघीय देश स्वीटजरल्याण्डमा २६ वटा काउन्टी छन् । नेपालमा जस्तो भाषिक विवादमा उनीहरू अल्मलिएको देखिएन

एनआरएनका सदस्यहरुले यसरी युरोपमा नेपालीहरुको अवैधानिक प्रवेशबारे चिन्ता गरिरहँदा स्वीटजरल्याण्डमा भने असाध्यै थोरैमात्र नेपालीहरु रहेको पत्तो थाहा पाइयो । यही भएर हुनुपर्छ, स्वीटजरल्याण्डको एनआएन पनि अन्तरविरोध र विवादविहीन देखियो ।

नेपाल भन्दा करिब ३ गुणा सानो, भूपरिवेष्ठित एवं बहुभाषिक  संघीय देश स्वीटजरल्याण्डमा २६ वटा काउण्टी (प्रान्त) हरु छन् । फ्रान्ससँग जोडिएको भागमा फ्रेञ्च भाषा चल्दोरहेछ भने जर्मनी र इटालीको सीमानामा पनि तिनै ठूला देशकै देशका भाषाको बोलवाला रहेछ । हरेक प्रान्तमा स्थानीय भाषालाई मान्यता दिइएको रहेछ । नेपालमा जस्तो भाषिक विवादमा उनीहरू अल्मलिएको देखिएन । मन्त्री र सांसदहरु पनि सर्वसाधारण नागरिकजस्तै जीवन यापन गर्दारहेछन् ।

स्वीटजरल्याण्डमा अहिलेसम्म फ्रान्समा जस्तो अशान्ति भएको सुनिएको छ, न त उसले स्पेनले जस्तो आर्थिक संकट नै व्यहोरेको छ । हाम्रा देशका नेताहरूले पनि नेपाललार्इ स्वीट्जरल्याण्ड जस्तै बनाउने भनेकाे धेरै भइसकेको छ ।

आखिर युरोपमा ठूला देशहरुले घेरिएको ठाउँमा रहेको एउटा सानो देशको सार्वभौममिकता र समृद्धि सम्भव छ भने नेपालमा यो किन सम्भव नहोला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment