Comments Add Comment

उपेन्द्र यादवले घुँडा टेकेको जेपी गुप्ताको आरोप

१२ भदौ, काठमाडौं । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेसका मुद्दामा उपेन्द्र यादवले चार दलसँग घुँडा टेकेको आरोप लगाउनुभएको छ ।

पूर्वमन्त्री गुप्ताको नेतृत्वमा बिराटनगरदेखि बारासम्म सञ्चालित ‘मधेस सम्वाद अभियान’का क्रममा गुप्ताले यादवमाथि यस्तो आरोप लगाउनुभएको हो । मधेस सम्वाद अभियान गत साउन ३० गते झापाको विर्तामोडबाट शुरु भएर भदौ ९ गते बाराको सदरमुकाम कलैयामा आमसभा गरी सम्पन्न भएको अभियानका प्रवक्ता राकेश रोशनले बताउनुभयो ।

अभियानका क्रममा अभियानका संयोजक गुप्ताले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र उपेन्द्र यादवको मोर्चाले राज्य सत्ताको सामुन्ने घुँडा टेकेको अवस्थामा हुने संविधान सभाको निर्वाचनले परिवर्तनको पक्षमा काम गर्न नसक्ने बताउनुभएको थियो । तर, आफू चुनाव बहिस्कारको पक्षमा नरहेको गुप्ताले बताउनुभयो ।

मधेसका सबै मोर्चाहरू केही सीमित मधेसी नेताहरूको चुनावी हतियार र निहीत स्वार्थ पूरा गर्ने प्रपञ्चको माध्यम मात्र बनाइएको गुप्ताको आरोप छ । ‘उपेन्द्र यादवहरूले आन्दोलनका नाममा आफ्नो शक्तिको भरमा यौटा सिन्का पनि नभाचेर मोहन वैद्यसँगको बैशाखी टेकेर प्रचारको लाभ लिन र विगत मधेस आन्दोलनको ब्याज खान खोजेका छन् ।’

गुप्ताले अभियानका क्रममा भन्नुभयो-‘उपेन्द्रजीले गरेको सम्झौतामा समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण गरिनु पर्ने माग अहिले कहाँ छ ? के चार दलले गरेको ११ सूत्रीय सम्झौता र अन्तरिम संविधानको २५ वटा संशोधनबाट उत्पन्न विकृति उपेन्द्रजीले गरेको सम्झौताबाट सच्चियो त ?’

अभियानमा संयोजक जयप्रकाश गुप्ताका साथै आत्मारामप्रसाद साह, आर.डी. आजाद, महेन्द्रभूषण साह, देवेन्द्र सिंह, घनश्याम चौधरी, इनामूल अंसारी, सनातन मण्डल, सलीम अन्सारी, दिनेश गुप्ता र राकेश देवको सहभागिता थियो । त्यसैगरी सीता चौधरी, कृष्णबहादुर यादव, धनानन्द यादव, राकेश रोशन गुप्ता, इन्द्र कुमार मधेशानन्द, प्रदीप हाथी, संजीव सिंह, भूषण सिंह, बालेश्वर कर्ण, राजेन्द्र साह, प्रभु जयसवाल, ललित मल्लिक, शिवनाथ पटेल, पप्पू सिंह, वृजकिशोर चौधरी, विन्दाराय यादव, विनोद मिश्रा र प्रमोद सिंह पनि अभियानमा लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment