Comments Add Comment

नेपालको लक्ष्य घरेलु मैदानमा उपाधि जित्ने

१४ भदौ, काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने साफ च्याम्पियनसिप फुटबलमा नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग भिड्दैछ । नेपाल र बंगलादेशबीचको उद्घाटन खेल साँझ साढे ६ बजेपछि दशरथ रंगशालामा हुनेछ । साफका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ । स्ट्राइकरमा यू-१६ का विमल घर्तिमगर पनि छन् ।

Saff-championship-2013नेपाली टोलीका कप्तान सागर थापाले उद्घाटन खेल सबैभन्दा महत्वपूर्ण रहेकाले पहिलो खेल जित्दै उपाधिको दाबेदारका रुपमा प्रस्तुत हुने वताए  । ‘बंगलादेशसंग हामी अहिलेसम्म आत्तिएर खेल्ने अनि पुरानो गल्ती दोहोर्‍याउने गर्छौं’, शुक्रबार भएको प्री म्याच कन्फेरेन्समा कप्तान थापाले भने-‘तर, यसपालि ती सबै कमी कमजोरीहरु सच्याएर खेल्छौँ । जितका लागि कडा मेहेनतका साथ मैदान उत्रिन्छौ’।’

नेपालका प्रमुख प्रशिक्षक ज्याक स्टेफानोस्कीले प्रतियोगिताका लागि तयारी राम्रो रहेको भन्दै घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने बताए । घरेलु मैदान र समर्थकको हौसलासंगै उपाधि उचाल्न चाहेको भन्दै उनले भने-‘टोलीमा सबै खेलाडी फिट छन् । केही नयाँ अनुहारका पनि छन् । टिम वर्क राम्रो छ । त्यसैले हामीले प्रतिद्वन्द्वीलाई कडा चुनौति दिनेछौं ।’

बंगलादेशका प्रशिक्षक लोडेविक्रक डी क्रुफले उपाधिका लागि आफूहरु दाबेदार नभएको वताए । तर, आफ्नो टोलीले प्रतियोगितामा राम्रो खेल पस्कने उनले बताए । उनले उपाधिको दावेदार नेपाल, भारत र अफगानिस्तान भएको बताए । पहिलो खेलमै घरेलु टोली नेपालको सामना गर्ने भएकाले पनि आफुहरुमाथि केही दबाव परेको उनले बताए ।

भारतमा २ वर्षअघि भएको प्रतियोगितामा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । २००३ मा साफको उपाधि जितेको बंगलादेश अघिल्लो संकरणमा भने समूह चरणबाटै बाहिरिएको थियो ।

कसले के भने ?

पत्रकार सम्मेलनमा डिफेण्डिङ च्याम्पियन भारतका प्रशिक्षक विम कोभरम्यान्सले आफूहरुले उपाधि रक्षा गर्न तयार रहेको बताए । उनले भने-‘हामी सातौँ साफ च्याम्पियनसिपको विजेता हौँ । त्यसैले पनि हामीलाई उपाधि उचाल्नै पर्ने दबाव छ ।’ उनले सवै खेल जित्दै फाइनलमा स्थान बनाउने लक्ष्य रहेको वताए । कप्तान सुनिल क्षेत्रीले पनि उपाधि उचाल्नु नै टोलीको पहिलो लक्ष्य रहेको बताए । उनले भने-‘घरेलु मैदानबाहिर प्रतियोगिता खेल्न आएकाले हामीलाई केही दबाब छ र हुन्छ नै । तर, हामी उपाधि भिडन्तका लागि तयार छौँ ।’

अफागानिस्तानका प्रशिक्षक यसुफ कार्गरले आफूहरु उपाधि उचाल्ने अभिलाषाका साथ नेपाल आएको वताए । उनले भने-‘खेलाडीहरुबीच राम्रो टिम वर्क छ । सबै फममै छन् । उपविजेता पनि भएकाले हामीमाथि उपाधि उचाल्ने दबाब छ ।’

भुटानका प्रशिक्षक काजुनोरी ओहाराले सेमिफाइन पुग्ने मूख्य लक्ष्य रहेको बताए । राम्रो खेल पस्केर अप्रत्यासिक नजिता दिलाउने भन्दै उनले भने-‘प्रतियोगिताका लागि तयारी त्यत्ति राम्रो गर्न पाएनौँ । दुई हप्तामात्रै तयारी गरेर आएका छौं । तैपनि अप्रत्यासिक नजिता निकाल्ने प्रयास गर्छौँ ।’

श्रीलंकाका प्रशिक्षक एसी रोर्वेटोले आफूहरु प्रतियोगिताका लागि तयार रहेको वताए । आफ्नो समूहमा सबै टोली बलियो भएकाले सवै प्रतिद्वन्दीलाई सहज रुपमा नलिने उनले बताए । उनले भने-‘सवै टोली उत्तिकै बलिया छन् । तर हामी कडा चुनौती दिनेछौँ । ‘

पाकिस्तानका प्रशिक्षक साहजेद अनुवारले तयारी सन्तोषजनक रहेको वताए । उनले प्रतिद्वन्दी जहिलेपनि गाह्रो हुने भएकाले कोही टोलीलाई पनि हल्का रुपमा नलिने वताए । माल्दिभ्सका प्रमुख प्रशिक्षक बेलाले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने वताए । उनले भने-‘हामी राम्रो टिम हौँ । तर, बलियो टिम भने होइनौँ । तैपनि खेलाडीले प्रतिस्पर्धात्मक खेल पस्कनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment