Comments Add Comment

कांग्रेसले गर्‍यो एमाओवादी भन्दा एमालेको बढी आलोचना, एमालेलाई अपत्यारिलो पाटीको संज्ञा

१६ भदौ, काठमाण्डौं । कांग्रेसले एमाओवादीभन्दा एमालेप्रति बढ्ता आक्रामक नीति अपनाएको छ । व्यावहारिक रूपमा एमालेसँग नजिक र एमाओवादीसँग टाढा देखिँदै आए पनि उसको नीतिमा ठीक उल्टो छ ।

उपसभापति रामचन्द्र पौडेलले प्रस्तुत गरी केन्द्रीय समितिले बिहीबार पारित गरेको राजनीतिक प्रस्तावमा कांग्रेस एमाओवादीका तुलनामा एमालेप्रति बढी अनुदार भएको देखिन्छ ।

कांग्रेसले एमालेलाई नीतिगत रूपमा अस्पष्ट, द्विविधापूर्ण, ढुलमुले मात्र होइन, अपत्यारिलो पार्टी भनेको छ । ‘एमाले प्रत्येक निर्णयको बीचमा उभिन्छ, यता पनि निर्णय हुन दिँदैन, उता पनि निर्णय हुन दिँदैन । राष्ट्रलाई अनिर्णयको बन्दी बनाउँछ,’ प्रस्तावको एमालेप्रतिको दृष्टिकोण शीर्षकमा भनिएको छ, ‘कहिले उग्रवामपन्थी नारा दिने, कहिले घोर दक्षिणपन्थी व्यवहार देखाउने गरेकाले ऊ सैद्धान्तिक असुन्तलनको अवस्थामा छ ।’

कांग्रेसले एमाओवादीलाई भने दार्शनिक र सैद्धान्तिक परिचय हराउँदै गएको पार्टीको विशेषण दिएको छ । संविधान नबनी संविधानसभा असफल हुनुमा एमाओवादीलाई कारण ठानेको छ ।

 उता एमालेले राज्य र प्रशासन सञ्चालनमा चरम पूर्वाग्रही एवं पक्षपाती र राजनीतिमा अवसरवादी चरित्र बोकेको प्रस्तावमा उल्लेख छ । जब कि एमाओवादीका शीर्ष नेताहरू पुष्पकमल दाहाल र बाबुराम भट्टराई नेतृत्वका सरकारका कामकारबाहीप्रति पार्टीभित्र तीव्र आलोचना हुने गरे पनि प्रस्तावले छोएको छैन ।

संविधानसभामा राज्य पुनर्संरचना समितिमा एमालेका सदस्यले १४ प्रदेशको पक्षमा मतदान गरेर पछि त्यसको विरोध गर्दै दोधारे र असन्तुलित चरित्र प्रदर्शन गरेको भन्दै कांग्रेसले उसलाई दोधारे र असन्तुलित चरित्र बोकेको पार्टी भनेको छ । ‘एमालेले संसद्बाट सरकार बनाउने लोकतान्त्रिक अभ्यासमा सहमति बेगरको प्रधानमन्त्री बन्नै हुँदैन भन्दै १७ पटक मतदानमा भाग नलिने र संसद्लाई समेत अनिर्णयको बन्दी बनाउने कार्य गर्‍यो,’ प्रस्तावमा भनिएको छ, ‘आफू दुई तिहाइ मतको सरकारका पक्षमा रहेको, बहुमतले सरकार बनाउने अभ्यासमा नलाग्ने जिकिर लियो । तर आफ्नो सरकार बन्ने सम्भावना देखिनासाथ तत्काल सामान्य बहुमतको सरकार बनाउन तयार भयो । बारम्बार गरिूदै आएका यस्ता व्यवहारले एमालेको द्वैध चरित्रलाई प्रस्टसाथ देखाएको छ ।’ त्यतिबेला कांग्रेसबाट उम्मेदवार भएका पौडेललाई सहयोग नगरी एमाले तटस्थ बसेको थियो ।

 कांग्रेसले एमाओवादीको भने सैद्धान्तिक धरातलमा बढ्ता आलोचना गरेको छ । ‘एमाओवादीले आफ्नो अधिनायकवादी महत्त्वाकांक्षा पूर्ति गर्न जनयुद्ध सुरु गरेको र त्यसले राजनीतिक अपराधीकरण र अपराधको राजनीतीकरण गरेर मुलुकलाई भ्रष्टीकरण र विकृतिको गर्तमा पुर्‍यायो,’ उसको आरोप छ, ‘बाह्र बुँदे सहमति हुँदै हेटौंडा महाधिवेशनमा पुगेर एमाओवादी पुँजीवादी क्रान्तिमा सवार भएको छ । उसले यसअघि सत्र हजारको जीवन हरण गरेको, हजारौं मानिसका घरबार बर्बाद पारेको छ ।’ उसले हजारौं शरीर र सम्पत्तिको क्षति, राष्ट्र विकासको संरचनाहरूको ध्वंस र नेपालको विकासलाई बीसांै वर्ष पछि धकेलेको भन्दै कांग्रेसले आलोचना गरेको कान्तिपुर दैनिकमा खबर छ ।

 कांग्रेसले एमाओवादीबाट विभाजित नेकपा- माओवादीलाई उग्रवामपन्थी चिन्तन बोकेको पार्टीका रूपमा लिएको छ । संविधानसभा निर्वाचन हुन नदिने अडान राखेको यो पार्टीले फेरि देशलाई द्वन्द्वतर्फ लैजाने खतरा बढाएको उल्लेख गर्दै प्रस्तावमा भनिएको छ, ‘संघीयता र संविधानसभाको चर्कोभन्दा चर्को नारा लगाउने तर देश संविधानसभा चुनावमा अग्रसर हुँदा चुनावै हुन दिन्न भन्ने यो समूहको द्वैध चरित्रले थप समस्या सिर्जना गरेको छ । यसले प्रतिगमन र प्रतिक्रियावादीलाई सहयोग पुर्‍याउने काम गरेको छ ।’

मधेस केन्दि्रत दलहरू भाषणमा मधेसी जनताको मुक्तिको कुरा गरी त्यसैको भर्‍याङ चढेर सत्तालिप्साबाट केन्दि्रत रहेको देखाइएको छ । ‘पार्टी विभाजन नै पद र पैसाका लागि भएका यी दलहरू कुनै पनि सैद्धान्तिक, धरातल, आदर्श, मूल्य र मान्यताको राजनीतिमा उभिन सकेका छैन्, व्यक्तिगत पद र प्रतिष्ठाका लागि स्थापना हुने, विभाजन हुने, पुनः एकीकरण हुने प्रक्रिया देखा परेको छ,’ कांग्रेसले भनेको छ, ‘यी दलका नेताहरू यत्रो संख्यामा मन्त्री बनेर शासन चलाउूदा पनि मधेसले कुनै प्रगति, उपलब्धि प्राप्त गर्न सकेन । मधेसका मुद्दा सम्बोधन हुन सकेनन् । यी दलहरूबाट कुनै निश्चित सैद्धान्तिक दृष्टिकोण र त्यसअनुरूपको व्यवहारको विश्वास गर्न सकिँदैन ।’

राप्रपालाई तुलनात्मक रूपमा लोकतान्त्रिकउन्मुख दलका रूपमा कांग्रेसले लिएको छ । ‘पञ्चायत पृष्ठभूमिका व्यक्तिहरूको बाहुल्य भएको यो दल पूर्णरूपले लोकतान्त्रिक पद्धतिमा आउन थप समय लाग्ने देखिन्छ,’ उसको बुझाइ छ । राप्रपा नेपालले भने परिवर्तनलाई आत्मसात गर्न नसकेको भनेको छ । अन्य साना दलहरूलाई भने विस्तारै- विस्तारै लोकतान्त्रिक प्रणालीमा प्रतिबद्ध र अभ्यस्त हुँदै गएको उसको ठम्याइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment