नायिका रेखा थापाको वुधबार अर्थात भदौ ५ गते जन्मदिन परेको छ । काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गर्दै नायिका थापाले आफू अब ठूली भएको बताएकी छिन् । कहिले पत्रकार कुटेर त कहिले झगडा गरेर चर्चामा आएकी रेखाले ३० बर्ष पुग्दा बल्ल आफूमा बुद्धी आएको बताइन् ।उनले भनिन्, ‘मैले जानेर या नजानेर यस अघि केही गल्ती गरेको भए म सबै पत्रकारहरुसँग माफी माग्न चाहन्छु ।’ रेखाले आफू २९ बर्षसम्म रहदा बच्चा भएको भन्दै ३० बर्षमा प्रवेश गरेसँगै आफूमा निक्कै परिवर्तन आएको बताइन् ।
उनले पत्रकारहरुसँग भनिन्, ‘हिजोको दिनमा मेरो उमेरको बचपनाले गर्दा म बाट त्रुटी हुन गयो होला, कसैसँग मेरो चित्त दुखाई छ भने पनि म माफी माग्न चाहन्छु ।’ ‘३० बर्ष पुगेकी रेखालाई तपाइहरुले अब बौद्धिक बनाइदिनुहुन्छ भन्ने आशा छ’, उनले भनिन् ।
सोच परिवर्तन नेपालको अध्यक्षमा रेखा
यसैबिच आफ्नो जन्मदिनको अवसर पारेर नायिका रेखा थापाले विगत २ बर्षदेखि स्थापना गरेको ‘सोच परिवर्तन नेपाल’ नामक संस्थाको बिषयमा औपचारिक जानकारी दिएकी छिन् । यो संस्थाको नायिका रेखा थापा अध्यक्ष हुन् । द्वन्द्वबाट प्रभावित भएका बालबालिकाहरुलाई न्यूनतम आवश्यकताहरुको प्रत्याभूती गराउने उद्देश्यले यो संस्थाको स्थापना गरिएको हो । हाल यो संस्थाले ३ बालकहरुलाई शिक्षा,स्वास्थ्य, गाँस, बास र कपासको व्यवस्था गर्दै आएको छ ।