Comments Add Comment

धौलागिरी आइसफलमा पदमार्ग निर्माण

१७ भदौ, म्याग्दी । म्याग्दीका विभिन्न गाविसलाई समेटेर हिमाली जिल्ला मुस्ताङ जोड्ने धौलागिरी आइसफल ट्रेकिङ रुटमा पदमार्ग निर्माण गरिएको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सुरु गरिएको उक्त ट्रेकिङ रुटमा भौतिक पूर्वधार निर्माण गर्ने र पर्यटक भित्रयाउने उद्देश्यले पदमार्ग निर्माण सुरु गरिएको हो ।

अहिले पहिलो चरणमा मुटुकाटेदेखि सोवाङधुरीसम्मको करिब पाँच किलोमिटर पदमार्ग निर्माण भएको आइसफल पदमार्ग व्यवस्थापन निर्माण समितिका अध्यक्ष धु्रवकुमार पाइजाले बताउनुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङको समेत वैकल्पिक पदमार्गका रुपमा रहेको आइसफल क्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटक पुर्‍याउन टान पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखरा र जिल्ला विकास समितिको संयुक्त लगानीमा पदमार्ग निर्माण सुरु भएको हो । टानको रु पाँच लाखमा अहिले पाँच किलोमिटर पदमार्ग निर्माण भएको र जिविसबाट उपलब्ध हुने रु तीन लाखले थप पदमार्ग निर्माण गर्ने अध्यक्ष पाइजाले बताउनुभयो ।

आइसफलले म्याग्दीको पिप्ले गलेश्वरदेखि भगवती हुँदै दग्नाम, चिमखोला, बेगखोला, दोवा, भुरुङ तातोपानी र दाना लगायतका गाविसको उच्च पहाडी क्षेत्रलाई समेटिएको छ । बेनीदेखि तीन किलोमिटर अगाडि गलेश्वरबाट सुरु हुने यो पदमार्ग, पिप्ले, भगवती हुँदै, रुइसेडाँडा, पक्षत्रधुरी, मुटुकाटे, भेडीओडार, सोवाङधुरी, दहबुकी हुँदै कालीबराह जोडिन्छ ।

कालीबराहसँगै आइसफल क्षेत्र जोडिएको छ । कालीबराहबाट मुस्ताङ क्षेत्र प्रवेश गरेर लेते झर्ने र त्यसबाट फेरि दक्षिणतर्फ कुइनेमङ्गले, चिमखोला हुँदै तल्लो क्षेत्र भएर बेनी र्झन सकिन्छ । उच्च पहाडी र हिमाली क्षेत्रहरुलाई समेटेको आइसफलमा पदमार्ग निर्माण भएमा करिब एक साताको समयमा यात्रा गर्न सकिने अनुपम पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने आइसफल पदमार्ग व्यवस्थापन निर्माण समितिका सल्लाहकार देवेन्द्र केसीले बताउनुभयो ।

घनाजङ्गलमा भेटिने घोरल, मृग, डाँफे, मुनाल, चरनखर्कमा भेडा, भैँसी, गाईलगायतका पाल्तु जनावरको हुल, विभिन्न रङका लालीगुराँस, अग्ला-अग्ला पर्वत, दहबुकी ताल, धौलागिरी र अन्नपूर्ण हिमालको शृङ्खला र बहुमूल्य जडीबुटी यार्सागुम्बा पदमार्गको मुख्य आकर्षण हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment