१८ भदौ, काठमाण्डौ । नेपालको दश वर्षे आर्थिक विकास लक्ष्यका विषयमा आयोजना हुन लागेको एक सम्मेलनमा नेपालमा ७ जना पूर्व प्रधानमन्त्री सहभागी हुने भएका छन् ।
‘आर्थिक क्रान्तिको मार्गचित्रः भिजन २०८०’ नाराका साथ यही भदौ २० गते वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको लिडरसिप समिटमा नेपालका पूर्व प्रधानमन्त्रीहरु एकै मञ्चमा उभिएर आर्थिक समृद्धिबारे सामूहिक प्रतिवद्धता जाहेर गर्न लागेका हुन् ।
सम्मेलनमा पूर्व प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले आगामी दश वर्षमा आ-आफ्नो आर्थिक मार्गचित्र प्रस्तुत गर्नेछन् । साथै उनीहरुले मुलुकका प्रसिद्ध अर्थशास्त्री र निजी क्षेत्रका प्रतिनिधिहरुले सोधेको प्रश्नको सामना पनि गर्ने छन् ।
वीरगञ्ज आर्थिक राजधानीका रुपमा विकास भइरहेकाले मुलुकको आर्थिक समृद्धिका बारेमा कार्यक्रम गर्न लागिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैद्यले बताउनुभयो ।
प्रतिक्रिया 4