Comments Add Comment

चन्दा उठाएर विद्यालय सञ्चालन

१८ भदौ, जाजरकोट । जाजरकोटको खगेनकोटस्थित पञ्च भयार माध्यमिक विद्यालय सञ्चालनका लागि गाउँलेहरू चन्दा अभियानमा जुटेका छन् । खगेनकोट-७ मा रहेको सो विद्यालय सञ्चालनका लागि हल्चौरवासीले चन्दा उठाउन थालेका हुन् ।

विसं २०३१ मा प्राविको रूपमा स्थापना भएको सो विद्यालय २०५७ सालमा निमावि भएको थियो भने २०६९ सालमा अस्थायीरूपमा मावि भएको प्रधानाध्यापक होमप्रकाश सिंहले बताउनुभयो ।

हाल विद्यालयले मावि कक्षा सञ्चालनका लागि निजी स्रोतबाट राखिएका शिक्षकहरूको तलब भत्ता विद्यालय स्रोतबाट खुवाउन नसक्ने भएपछि गाउँलेले चन्दा उठाउन थालेको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नारायण खत्रीले बताउनुभयो ।

हल्चौर गाउँका ३ सयभन्दा बढी स्थानीय बासिन्दासँग प्रतिघर ३ सय रुपैयाँका दरले चन्दा उठाएर निजी स्रोतका शिक्षकको तलब दिने निर्णय गरिएको खत्रीले बताउनुभयो ।

विद्यालयमा निजी स्रोतबाट तीनजना शिक्षकले पठनपाठन गराइरहेका छन् । विद्यालयमा पहिलोपटक मावि सञ्चालन गर्दा निजी स्रोतबाट राखिएका शिक्षकले मासिक रु एक हजार तलबमा काम थालेको शिक्षक विष्णुलाल खत्रीले बताउनुभयो ।

अहिले त्यस्ता शिक्षकको तलब मासिक १० हजार रुपैयाँ छ । विद्यालयमा शिक्षकलाई तलब खुवाउनमात्र होइन विद्यार्थी बस्नका लागि डेस्क बेन्च, खानेपानीको समेत अभाव हुँदा समस्य उत्पन्न भएको छ ।

बेन्च र डेस्क नहुँदा विद्यार्थीहरू भुइँमा बसेर पढ्न बाध्य भएको कक्षा १० का विद्यार्थी बलबहादुर खत्रीले बताए । कक्षा १ देखि ५ सम्मका कक्षा कोठामा वषर्ाको पानी पसेर भित्र बाहिर एकै नास भएको विद्यार्थीले बताएका छन् ।

हाल सो विद्यालयमा ४ सय १३ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयको समस्यबारे पटकपटक जिल्ला शिक्षा कार्यालयमा जानकारी गराउँदा पनि सुनुवाइ नभएको प्रधानाध्यापक सिंहले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment